निजगढ विमानस्थल बनाउनु हुँदैन भन्ने भू-माफिया हो- भीम रावल
560 Views
काठमाडौँ, जेष्ठ २४, खोज मिडिया । नेकपा (एमाले)का सांसद भीम रावलले बाराको निजगढ विमानस्थल निर्माणमा बाधा पुर्याउने तथा बनाउन हुँदैन भन्नेहरू भू-माफियासँग मिलेको आरोप लगाएका छन् । प्रतिनिधिसभाको मंगलबारको बैठकमा रावलले निजगढ विमानस्थल निर्माण गर्न हुँदैन भन्नेहरूले सरकारले अधिग्रहण गरेको जग्गा अतिक्रमण गरिरहेको पनि उनले बताए ।
सरकारले ठूलो रकम लगानी गरेको र राष्ट्रिय हितमा रहेको विमानस्थल निर्माणमा अदालतसमेत लागेकोमा रावलले असन्तुष्टि व्यक्त गरे । ‘निजगढ विमानस्थलको कुरा गर्ने हो भने १ सय १० बिघा अधिग्रहण गर्नुापर्नेमा ७६ बिघा अधिग्रहण भइसकेको छ । प्राधिकरणले ३ अर्ब रुपैयाँ खर्च गरिसकेको छ । द्रुत मार्गमा २ खर्बभन्दा बढी खर्च भइसकेको छ,’ उनले भने, ‘रुखको हवाला दिन्छन् । त्यहाँ अहिले जसले विमानस्थल बनाउनु हुँदैन भनेका छन् तिनीहरू भूमाफियासँग मिलेर त्यो जमिन, प्रत्येक वर्ष जग्गा अतिक्रमण भइरहेको छ ।’ त्यसरी अतिक्रमण गर्नेको संख्या ठूलो भएको उनले बताए । ‘त्यहाँ नेपाल सरकारले अधिग्रहण गरेको जग्गा अतिक्रमण भइरहेको छ । त्यो छिट्टै विमानस्थल नबनाउने हो भने सम्पूर्ण जग्गा कब्जा हुनेछ । नेपाल सरकारको यत्रो ठूलो लगानी यत्तिकै हराएर जान्छ,’ उनले भने ।
निजगढ विमानस्थल निर्माणका अहिलेसम्मका काम सर्वोच्च अदालतले बदर गरिदिएको छ ।सर्वोच्चले फैसला भने सार्वजनिक गरेको छैन । उसले मौखिक रूपमा मात्रै फैसला सुनाएकाले निजगढ विमानस्थलबारे अन्यौलता छ । काठमाडौंमा सर्वोच्चको उक्त फैसलाको पक्षमा प्रदर्शन भइरहेका छन् भने बारामा विरोधमा स्थानीयले विरोध गरिरहेका छन् । प्रतिपक्ष दल, सरकार र सांसदहरू भने विमानस्थल बन्नैपर्नेमा अडान राखिरहेका छन् ।





प्रतिक्रिया दिनुहोस