प्रेम र सिर्जनाबाट जन्मिएको डम्फूको किम्वदन्तीदेखि सांस्कृतिक पहिचानसम्म : ‘पेङदोर्जेको डम्फू’ सार्वजनिक
149 Views
काठमाडौं। तामाङ समुदायको मौलिक संस्कृति, परम्परा, भाषा र पहिचानसँग गहिरो सम्बन्ध राख्ने डम्फूको उत्पत्तिसम्बन्धी किम्वदन्तीलाई सांगीतिक माध्यमबाट जीवन्त बनाउने उद्देश्यसहित तयार पारिएको तामाङ गीत ‘पेङदोर्जेको डम्फू’ को म्युजिक भिडियो सार्वजनिक भएको छ।
तामाङ समुदायमा पुस्तौदेखि सुनिदै आएको किम्वदन्तीअनुसार पेङदोर्जे नामका एक सिकारीले आफ्नी प्रेमिका रुइसाङलाई खुसी बनाउन पहिलोपटक डम्फूको निर्माण गरेका थिए। सिकारका क्रममा घोरल मारेपछि दुःखी भएकी रुइसाङलाई खुसी बनाउने प्रयासमा पेङदोर्जेले कोइरालोको रुखको हाँगाबाट गोलाकार घेरा बनाई घोरलको छाला तन्काएर बाँसका ३२ वटा किला ठोकी एउटा नयाँ बाजा तयार पारेको कथन छ।
उक्त बाजा हातले ठोक्दै बजाउँदा निस्किएको मधुर धुनमा पेङदोर्जे गीत गाउँदै नाच्न थालेपछि रुइसाङ पनि खुसी हुँदै उनीसँगै नाच्न थालेको किम्वदन्ती रहेको छ। यही प्रेम, सिर्जना र खुसीसँग जोडिएको कथालाई आधार बनाएर निर्माण गरिएको ‘पेङदोर्जेको डम्फू’ ले तामाङ समुदायको सांस्कृतिक इतिहास र मौलिक पहिचानलाई नयाँ पुस्तामाझ पुर्याउने प्रयास गरेको छ।
शुक्रबार काठमाडौंको बौद्धस्थित आमा थकाली, गेट नं.२ मा आयोजित ग्रान्ड प्रिमियर समारोहमा पूर्वमन्त्री तथा नेपाल विद्युत् प्राधिकरणका पूर्वकार्यकारी निर्देशक एवं उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले म्युजिक भिडियोको औपचारिक सार्वजनिक गरेका हुन्।
सांस्कृतिक पहिचान र मौलिकताको सन्देश बोकेको कार्यक्रममा राष्ट्रिय तामाङ घेदुङका संगठन विभाग प्रमुख कान्छालाल ब्लोन (विकास), तामाङ चलचित्र निर्देशक संघका अध्यक्ष केबी घिसिङ, नायिका चाँदनी मोक्तान, नायिका रञ्जिता ब्लोनलगायत विभिन्न क्षेत्रका विशिष्ट व्यक्तित्व, कलाकार तथा संगीतप्रेमीहरूको उपस्थिति रहेको थियो।
गायक तथा संगीतकार प्रकाश तामाङ तितुङको संयोजकत्वमा आयोजित कार्यक्रममा तामाङ भाषा, कला, संस्कृति र परम्पराको संरक्षण तथा प्रवर्द्धनमा संगीत क्षेत्रले खेल्नुपर्ने भूमिकाबारे चर्चा गरिएको थियो।
गीतमा प्रकाश तामाङ तितुङ र सुमिना लोको स्वर रहेको छ। कुमार स्याङ्बाको शब्द तथा प्रकाश तामाङ तितुङको संगीत रहेको गीतलाई महाराज थापाले संगीत संयोजन गरेका हुन्। गीतको मिक्सिङ तथा मास्टरिङ नरेश बीबीसीले गरेका छन्।
म्युजिक भिडियोमा अलिशा राई, तामाङ महानायक अमिर दोङ तामाङ, भिम्फेदी गाइज र कुइसाङ रुम्बाको अभिनय रहेको छ। निर्मल कुमार लामाको निर्देशन तथा कोरियोग्राफी रहेको भिडियोको छायांकन, सम्पादन र कलर संयोजन पवन सुस्लिङले गरेका छन्। त्यस्तै, सुभाष तिमल्सिनाको मेकअप, सञ्जीव बराइलीको क्रिएटिभ एरेन्ज तथा हरि अधिकारीको उत्पादन व्यवस्थापन रहेको छ।
भिम्फेदी गाइजको समेत सहभागिता रहेको भिडियोमा तामाङ समुदायको मौलिक भेषभूषा, सांस्कृतिक परम्परा, रहनसहन र जीवनशैलीलाई कलात्मक ढंगले प्रस्तुत गरिएको छ। सञ्चारकर्मी विपसना तामाङले सञ्चालन गरेको सार्वजनिक समारोहमा गीत तथा भिडियो निर्माणमा संलग्न सर्जक, कलाकार र प्राविधिकहरूको योगदानको चर्चा गरिएको थियो।
डम्फू तामाङ समुदायका लागि केवल मनोरञ्जनको साधन मात्र नभई इतिहास, सभ्यता, मौलिकता र सांस्कृतिक अस्तित्वको प्रतीकसमेत हो। त्यसैले ‘पेङदोर्जेको डम्फू’ ले एउटा गीतको मनोरञ्जनात्मक पक्षसँगै तामाङ समुदायको सांस्कृतिक विरासतलाई नयाँ पुस्तासम्म पुर्याउने सन्देश बोकेको छ।
म्युजिक भिडियो सार्वजनिक भएसँगै गीत विभिन्न डिजिटल प्लेटफर्ममार्फत दर्शक तथा श्रोतामाझ उपलब्ध भएको छ।





प्रतिक्रिया दिनुहोस