पोखरा महानगर प्रमुख र बंगलादेशका फोटो पत्रकारहरुकाे भेटघाट, पोखरा रंगशालामा वृक्षारोपण
118 Views
पोखरा । नेपाल भ्रमणमा रहेका बङ्गलादेश फोटो पत्रकार सङ्घका अध्यक्ष ए.के.एम.मोहसिनको नेतृत्वमा आएको १२ सदस्यीय फोटो पत्रकार टोलीले पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यसँग भेटवार्ता गरेको छ। भेटका क्रममा पोखराको पर्यटन प्रवद्र्धन, दुई देशबीचको पारस्परिक हित तथा जनस्तरमा सांस्कृतिक आदानप्रदानलगायत विषयमा छलफल भएको छ।
भेटमा नगरप्रमुख आचार्यले अन्तर्राष्ट्रिय बजारमा पोखराको पर्यटन प्रवद्र्धनका लागि महानगरपालिकाले विभिन्न गतिविधि सञ्चालन गर्दै आएको बताउँदै बङ्गलादेशमा समेत पोखराको प्राकृतिक सौन्दर्य, जीवन्त संस्कृति, आतिथ्यता र साहसिक पर्यटनका गतिविधिको सकारात्मक प्रचारप्रसार गर्न आग्रह गरे।
पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमार्फत विश्वका विभिन्न गन्तव्यसँग जोडिने क्रममा रहेको उल्लेख गर्दै आचार्यले बङ्गलादेशबाट पोखरासम्म सम्भावित हवाई उडानका लागि बङ्गलादेश सरकारसँग आवश्यक पहल भइरहेको जानकारी दिए।
भेटका क्रममा बङ्गलादेशी फोटो पत्रकारहरूले पोखराको प्राकृतिक सौन्दर्य र वातावरण आफूहरूका लागि निकै आकर्षक लागेको बताए। उनीहरूले पोखराको सुन्दरता तथा यहाँ प्राप्त न्यानो आतिथ्यताको सन्देश बङ्गलादेशसम्म पुर्याउने प्रतिबद्धता व्यक्त गरे।
टोलीमा बङ्गलादेश फोटो पत्रकार सङ्घका अध्यक्ष मोहसिनसहित महासचिव बाबुल तालुकदार, पूर्वअध्यक्ष ए.बी.एम. रफिकुर रहमान, वरिष्ठ सदस्य काजी रौनक हुसेन, पूर्वमहासचिव नुरुद्दिन अहमद, पूर्वअध्यक्ष शफी उद्दिन अहमद बिटु, कार्यकारी सदस्य महबुब हुसेन खान नोबिन, कोषाध्यक्ष नासिम शिख्देर, वरिष्ठ सदस्य सैयद जाकिर हुसेन र बुलबुल अहमद, चटगाउँ जिल्ला शाखाका सदस्य मोहम्मद मिन्हाज उद्दिन तथा कक्स बजार जिल्ला शाखाका अध्यक्ष नुरुल इस्लाम हेलाली सहभागी थिए।
भेटवार्तामा राष्ट्रिय फोटो पत्रकार सङ्घ (एनएफपीजे) नेपालका अध्यक्ष प्रदीपराज वन्त, महासचिव घनश्याम श्रेष्ठ, सदस्य अजय मानन्धर, कास्की शाखाका अध्यक्ष योगेन्द्र श्रेष्ठ, उपाध्यक्ष वसन्त थापा, सचिव प्रेम थापा, सुनिल पाण्डे र दुर्गाप्रसाद हुमागाईँलगायतको सहभागिता थियो।
यसैबीच, नेपाल र बङ्गलादेशबीचको मित्रता, भाइचारा तथा फोटो पत्रकारबीचको दीगो सम्बन्धलाई थप सुदृढ बनाउने उद्देश्यले पोखरा रङ्गशाला परिसरमा संयुक्त वृक्षारोपण गरिएको छ। बङ्गलादेश फोटो जर्नलिस्ट एसोसिएसनको १२ सदस्यीय टोली र नेपाली फोटो पत्रकारहरूको सहभागितामा दुई देशबीचको मित्रताको प्रतीकका रूपमा आँप तथा विभिन्न फूलका बिरुवा रोपिएको हो।
कास्की जिल्ला खेलकुद विकास समितिका अध्यक्ष मिलन गुरुङको सहयोग तथा समन्वयमा आयोजित वृक्षारोपण कार्यक्रममा एनएफपीजे नेपालका केन्द्रीय अध्यक्ष प्रदीपराज वन्त, बङ्गलादेश फोटो जर्नलिस्ट एसोसिएसनका अध्यक्ष ए.के.एम. मोहसिन, एनएफपीजे नेपाल पोखरा शाखाका अध्यक्ष योगेन्द्र श्रेष्ठ, उपाध्यक्ष वसन्त शेर्पा, सचिव प्रेम थापालगायत नेपाल र बङ्गलादेशका फोटो पत्रकार तथा अतिथिहरूको सहभागिता रहेको थियो।
कार्यक्रममा नेपालतर्फबाट एनएफपीजे नेपालका अध्यक्ष वन्त, बङ्गलादेशतर्फबाट अध्यक्ष मोहसिन तथा पोखरा शाखाको टोलीले संयुक्त रूपमा बिरुवा रोपे। पोखरा रङ्गशालालाई थप हरियाली बनाउने अभियानमा सहयोग पुर्याउनुका साथै नेपाल–बङ्गलादेशबीचको मित्रता र सहकार्यको दीगो चिनोका रूपमा वृक्षारोपण गरिएको एनएफपीजे नेपालले जनाएको छ।
एनएफपीजे नेपालका अध्यक्ष वन्तले नेपाल र बङ्गलादेशका फोटो पत्रकारबीच विगत २१ वर्षदेखि कायम भाइचारा र व्यावसायिक सम्बन्धलाई प्रकृति तथा वातावरण संरक्षणसँग जोडेर स्मरणीय बनाउन वृक्षारोपण गरिएको बताए।
नेपाल भ्रमणका क्रममा रहेको बङ्गलादेशी फोटो पत्रकार टोलीको पोखरा भ्रमणले दुई देशका फोटो पत्रकारबीचको सम्बन्धलाई थप मजबुत बनाउनुका साथै पोखराको पर्यटन प्रवद्र्धनमा समेत सकारात्मक योगदान पुग्ने अपेक्षा गरिएको छ।





प्रतिक्रिया दिनुहोस