ल्याप टेस्टमा भ्वाइस मिल्न सक्छ”डा. ढाका कु.श्रेष्ठ”
5211 Views
पोखरा, २७ चैत। यतिबेला सामाजिक सञ्जाल लगायत मिडिया देखि राजनीति तह सम्म अडियो रेकर्ड कान्डाले यत्रतत्र सर्वत्र तहलका मच्चाईरहेका छन् ।
निर्वाचनका दिनसम्म पनि खासै चिनिएका थिएनन् । पोखरामा केहीलाई बाहेक उनको परिचय थाहा थिएन । रास्वपा खुल्नु अघिसम्म ढाकाकुमार श्रेष्ठ मेडिकल डाक्टरका रुपमा कार्यरत थिए । केही समय पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा काम गरेका उनी त्यसपछि आफ्नै मेडिकल खोलेर बसे । साउनको ७ गते रास्वपाले सिधै प्रदेश सभापति बनाइदियो । पार्टीले प्रत्यक्ष र समानुपातिक दुवै सांसद छनोटका लागि अनलाइन भोटिङ गरायो । देशभरबाट गरिएको भोटिङमा सबैभन्दा बढी मत ल्याएर उनको नाम समानुपातिकतर्फको पहिलो नम्बरमा चढ्यो । उनले १६ सय हाराहारी मत पाएका थिए । त्यसपछि उनी सांसद बन्नका लागि कस्सिए ।
सार्वजनिक छवी नभएका कारण कतिपयले उनलाई चिनाउँदै हिड्नुपर्यो । ‘भोटिङ डिजिटल थियो । सबैभन्दा बढी मत पाएपछि बन्दसूचीमा पहिलो नम्बरमा उनलाई राखिएको हो,’ रास्वपाकै १ नेताले भने, ‘रास्वपाले समानुपातिक सांसद पाउला भन्ने कसैले सोचेको थिएन । भोट बढ्दै गएपछि ढाकाकुमारको बारेमा सोधिखोजी हुन थाल्यो । मतदाताले चिनेर भोट हालेका थिएनन् ।’
सांसद निर्वाचित भएपछि मात्रै श्रेष्ठको परिचय चुलिएको हो । पछि उनी आफ्नै सहकारीका बचतकर्तालाई रकम फिर्ता नगरेको विवादमा तानिए । उनी अध्यक्ष रहेको साथी किसान सहकारीले रकम हिनामिना गरेको र त्यसमा उनी पनि मुछिएको आरोप बचतकर्ताको थियो । तर श्रेष्ठले पत्रकार सम्मेलन गरेर आफू निर्दोष रहेको प्रष्टीकरण दिए । अहिले उक्त सहकारी पैसा फिर्ता गर्न नसकेर ढोका लागेको छ । त्यतिबेला पनि श्रेष्ठलाई थप केहीले चिन्ने मौका पाए ।
अहिले एकाएक श्रेष्ठले पुस अन्तिम साता गरेको ‘रकमी बार्गेनिङ’ सार्वजनिक भएको छ । आफू स्वास्थ्यमन्त्री बन्ने र मन्त्री बनेपछि आवश्यक सहयोग गर्ने बाचासहित व्यवसायी दुगाई प्रसाईंसँग गरेको अडियो ‘डिल’ सार्वजनिक भएको हो । उनको अडियो अहिले भाइरल नै भएको छ । यद्यपि श्रेष्ठले उक्त अडियो आफ्नो नभएको दाबी गरिरहेका छन् । तर अडियो सुन्दा उनको दाबीलाई बल पुग्ने देखिँदैन ।
मेडिकल व्यवसायी प्रसाईंले उक्त अडियो श्रेष्ठकै भएको दोहोर्याएका छन् । ‘ढाकाकुमार श्रेष्ठले मेरो आवाज होइन भनेर प्रमाणित गर्छन् भने म उनको गाडी चलाउने ड्राइभर बस्न तयार छु । तर उसले भन्नुप¥यो । दक्षिणकालीमा छिरौं, कालो बोको काटेर । यो भन्दा ठूलो अपराध के हुन्छ ?,’ उनले भने । प्रसाईंका अनुसार घुस माग्नका लागि श्रेष्ठ आफैले प्रसाईंलाई फोन गरेका थिए । ‘उहाँले आफै सम्पर्क गरेको हो । कुरा भएको सत्य हो । बेलुका उहाँले कुरा गर्नुभएको थियो, बिहान मैले पछि गफ गरें । उहाँले चिन्दिन भनेर धर पाइँदैन नि । मैले पनि चिन्दिन थें,’ उनले अघि भने, ‘हामीले स्वास्थ्य मन्त्रालय पाउनेवाला छौं सल्लाह गरौं भनेपछि कुरा गरेको थिएँ । उहाँले अरुसँग पनि पैसाको कुरा गर्नुभएको रहेछ ।’ प्रसाईंले रास्वपाले स्वास्थ्य मन्त्रालय नपाएपछि पैसाको च्याप्टर क्लोज भएको पनि बताएका छन् ।
आफ्नो अडियो नभएको दाबी गरेपनि सांसद श्रेष्ठले यत्तिकै सफाइ पाउने अवस्था भने छैन । उनी पार्टीबाट कारबाहीमा पर्ने निश्चित जस्तै छ । रास्वपा सभापति रवी लामिछानेले ७२ घन्टाभित्र कारबाही गर्ने बताएका छन् ।
प्रतिक्रिया दिनुहोस