बहराइन तामाङ घेदुङको सातौँ अधिवेशन सम्पन्न, अध्यक्षमा योजना तामाङ सर्वसम्मत
73 Views
बहराइन । बहराइनमा रहेका तामाङ समुदायको साझा संस्था नेपाल तामाङ घेदुङले नयाँ नेतृत्व पाएको छ। मनामास्थित K City Business Center मा शुक्रबार सम्पन्न सातौँ अधिवेशनबाट योजना तामाङ अध्यक्षमा सर्वसम्मत चयन भएकी छन्।
अधिवेशनले नयाँ नेतृत्वसँगै प्रवासमा तामाङ समुदायको पहिचान, भाषा, संस्कृति र सामाजिक एकतालाई थप सुदृढ बनाउने प्रतिबद्धता अघि सारेको छ। रोजगारी तथा विभिन्न पेशा–व्यवसायका क्रममा बहराइनमा रहेका तामाङ समुदायलाई संस्थागत रूपमा एकताबद्ध गर्दै मौलिक संस्कृति र परम्पराको संरक्षण गर्ने विषयलाई आगामी कार्यकालको महत्वपूर्ण जिम्मेवारीका रूपमा लिइएको छ।
नयाँ कार्यसमितिको वरिष्ठ उपाध्यक्षमा नीलबहादुर लामा (अनिल) चयन भएका छन्। उपाध्यक्षमा प्रेम बल, सबिन लामा र कुमार थोकर तथा महिला उपाध्यक्षमा दिली कुमारी थोकर (एड्रिना) चयन भएका छन्।
त्यस्तै महासचिवमा मिना तामाङ, सचिवमा रबिन्द्र तामाङ, सह–सचिवमा मनिषा ब्लोन, कोषाध्यक्षमा विष्णु तामाङ र सह–कोषाध्यक्षमा सन्ध्या तामाङ चयन भएका छन्।
अधिवेशनले विभिन्न विभागको जिम्मेवारीसमेत तोकेको छ। संगठन विभागको जिम्मेवारी प्रोनिसा बललाई दिइएको छ भने महिला विभागको नेतृत्व सानुमाया दोङले गर्नेछिन्। महिला विभाग उपप्रमुखमा ऋतु घिसिङ, युवा विभाग प्रमुखमा बादल तामाङ र सांस्कृतिक विभाग प्रमुखमा अमिर लो चयन भएका छन्। सांस्कृतिक विभागको उपप्रमुखमा रेनुका लामा चयन भएकी छन्।
कार्यकारिणी सदस्यमा गीता लामा र अनिल वाइबा तथा कार्यसमिति सदस्यमा हर्क लोप्चन र सुनिता थिङ तामाङ चयन भएका छन्।
प्रवासमा रहेका तामाङ समुदायका लागि आफ्नो भाषा, संस्कार र संस्कृति नयाँ पुस्तासम्म पुर्याउनु पछिल्लो समय महत्वपूर्ण चुनौती बन्दै गएको छ। बहराइनमा जन्मिएका तथा हुर्किएका नयाँ पुस्तालाई तामाङ मौलिकता र पहिचानसँग जोड्ने गरी सामाजिक तथा सांस्कृतिक गतिविधिलाई निरन्तरता दिनुपर्नेमा अधिवेशनका सहभागीहरूले जोड दिएका छन्।
घेदुङले आगामी कार्यकालमा समुदायबीचको एकतालाई बलियो बनाउँदै सामाजिक, सांस्कृतिक तथा संस्थागत गतिविधिलाई थप व्यवस्थित बनाउने जनाएको छ।
अधिवेशनका प्रमुख अतिथि नेपाली राजदूतावास, बहराइनका राजदूत तीर्थराज वाग्लेले प्रवासमा नेपाली समुदायको एकता कायम गर्न सामाजिक संस्थाहरूको भूमिका महत्वपूर्ण रहेको बताए। उनले भाषा, संस्कृति र पहिचान संरक्षणका गतिविधिलाई निरन्तरता दिनुपर्नेमा जोड दिँदै नयाँ कार्यसमितिलाई सफल कार्यकालको शुभकामना दिए।
कार्यक्रममा नेपाल तामाङ घेदुङ संघीय कार्यसमिति सदस्य तथा प्रवास कार्यसमिति बहराइनका इन्चार्ज सन्तोष घिसिङ तामाङ, नेपाली राजदूतावास बहराइनकी श्रम सहचारी सुनीता थापा, जनजाति महासंघ बहराइनका अध्यक्ष मानबहादुर वाइबा तामाङ र नेपाली क्लब बहराइनका अध्यक्ष दीपक गुरुङलगायतको उपस्थिति थियो।
नवनिर्वाचित अध्यक्ष योजना तामाङसहित सम्पूर्ण कार्यसमितिलाई बधाई दिँदै नेपाल तामाङ घेदुङ संघीय कार्यसमितिका उपाध्यक्ष तथा प्रवास समन्वय प्रमुख रुपबहादुर योन्जन तामाङले नयाँ कार्यसमितिले बहराइनमा तामाङ समुदायको एकता, पहिचान र संस्थागत गतिविधिलाई थप उचाइमा पुर्याउने विश्वास व्यक्त गरेका छन्।
नयाँ कार्यसमितिका लागि अब प्रवासमा तामाङ पहिचानलाई निरन्तरता दिने, पुस्तान्तरणलाई प्रभावकारी बनाउने र समुदायलाई अझ संगठित बनाउने मुख्य जिम्मेवारी रहनेछ।





प्रतिक्रिया दिनुहोस