७१औँ नियमित हाइकिङ रमणीय ल्वाङ गाउँमा सम्पन्न
41 Views
पोखरा । हाइकर्स क्लब नेपालको ७१औँ नियमित हाइकिङ कार्यक्रम कास्कीको माछापुच्छ्रे गाउँपालिका–८ स्थित रमणीय ल्वाङ गाउँमा सम्पन्न भएको छ । कार्यक्रममा करिब ९० जना प्रकृतिप्रेमी, पर्यटनकर्मी तथा विभिन्न क्षेत्रका सहभागीहरूको उत्साहजनक सहभागिता रहेको थियो, जुन क्लबको हाइकिङ शृङ्खलामध्ये अहिलेसम्मकै सबैभन्दा धेरै सहभागिता भएको कार्यक्रम बनेको छ ।
माछापुच्छ्रे गाउँपालिका वडा नं. ८ का वडा सदस्य चोकप्रसाद दाहाल र स्थानिय राजेन्द्र गुरुङले हाइकिङ सुरु स्थान खोराकोमुखमा हाईकिङमा सहभागिहरुलाई स्वागत गरेका थिए भने गाउँको परिचय साथै खानाको सहजीकरण पर्यटन व्यवसायी बोनी गुरुङले गरेका थिए ।
हरेक महिनाको अन्तिम शनिबार आयोजना हुँदै आएको नियमित हाइकिङ कार्यक्रमअन्तर्गत सहभागीहरूले ल्वाङ गाउँको चियाबारी, ऐतिहासिक शिव मन्दिर, गुम्बा, चिया प्रसोधन केन्द्र अवलोकन, प्राकृतिक सौन्दर्य, गुरुङ संस्कृति, ग्रामीण जीवनशैली तथा हिमाली दृश्यावलोकनको अनुभव लिएका थिए । कार्यक्रमले आन्तरिक पर्यटन प्रवद्र्धन, स्वस्थ जीवनशैलीको विकास तथा स्थानीय गन्तव्यहरूको प्रचारप्रसारमा महत्वपूर्ण योगदान पु¥याएको क्लबले जनाएको छ ।
कार्यक्रमको सफल आयोजनामा हाइकर्स क्लब नेपालका अध्यक्ष कृष्ण रानाभाटको नेतृत्वदायी भूमिका उल्लेखनीय रहेको थियो । अध्यक्ष रानाभाटले हाइकिङलाई केवल मनोरञ्जनात्मक गतिविधिमा सिमित नराखी पर्यटन प्रवद्र्धन, वातावरण संरक्षण र सामाजिक सद्भावसँग जोडेर अघि बढाउँदै आएको वताए । उनले आगामी दिनमा पनि नयाँ गन्तव्यहरूको खोजी तथा प्रवद्र्धनलाई निरन्तरता दिइने जानकारी दिए ।
त्यसैगरी, कार्यक्रम संयोजक पितम सेनले सम्पूर्ण व्यवस्थापन, मार्ग समन्वय तथा सहभागीहरूको सुरक्षामा विशेष सक्रियता देखाएका थिए । सेनको समन्वयमा कार्यक्रम व्यवस्थित, सुरक्षित र उपलब्धिमूलक रूपमा सम्पन्न भएको सहभागीहरूले बताएका छन् ।
ल्वाङ गाउँमा सम्पन्न ७१औँ शृङ्खलाले हाइकर्स क्लब नेपालको लोकप्रियता र प्रभावलाई थप विस्तार गरेको छ । क्लबले आगामी महिनाहरूमा पनि नयाँ पर्यटकीय गन्तव्यहरू समेट्दै नियमित हाइकिङ कार्यक्रमलाई निरन्तरता दिने जनाएको छ ।





प्रतिक्रिया दिनुहोस