चलचित्र ‘नीरफूल’ कथा नौलो, कथ्य शैली पुरानै
301 Views
काठमाडौँ — जीवनकालमा हर कोहीले केही न केही गुमाइरहेकै हुन्छन् । सपना हराइरहेको हुन्छ । द्वन्द्वकालमा धेरैको आफन्त, इष्टमित्र हराए । भूकम्पको समयमा रुबीभ्यालीका दम्पतीको छोरी हराउँछिन् । उपचारका लागि काठमाडौं पुर्याइएको छोरीको अत्तोपत्तो नहुँदा त्यो दम्पतीमा कस्तो बज्रपात पर्ला ? विपद्मा आफ्नाहरूको खबर नहुँदाको पीडा र छटपटी कस्तो होला ? त्यही छटपटी र असह्य पीडाबीच स्यरल्हामो (शान्ति वाइबा) र चेन्जारोङ (दयाहाङ राई)ले छोरीको खोजी सुरु गर्छन् ।
‘नीरफूल’को कथा यो दम्पतीले छोरी खोज्न गर्ने संघर्षमा मात्र होइन । वैदेशिक रोजगारीको मोह/बाध्यता, राज्यको निकायमा गरिब जनताको पहुँच, प्रशासन र पत्रकारिताको असंवेदनशीलता र महिलामाथिको गलत दृष्टिकोणविरुद्धको कथा पनि हो ‘नीरफूल’। फिल्मको कथा गम्भीर र बलियो छ । तर, प्रस्तुतीकरण फितलो हुँदा कथाले उठाएको मूल मर्म दर्शकले महसुस गर्न पाउँदैनन् । कमजोर पटकथा, औसत खिचाइ र शिथिल सम्पादनले फिल्मले उठाएको विषयवस्तुको गहिराइमा पुर्याउँदैन । तसर्थ, आफूले भन्न खोजेका कुरामा निर्देशक बल भने इमान्दार देखिएका छन् ।
तपाईं राम्रो कथा लेख्नुहुन्छ । तर, त्यो कथालाई वाचन गर्ने शैली रोचक भइदिएन भने के हुन्छ ? पक्कै कथा सुन्नेहरूको ध्यान तानिँदैन । कथ्य शैलीमा नवीनता नहुँदा पत्रकार फूलमान बलको पहिलो निर्देशकीय फिल्म ‘नीरफूल’ले पनि दर्शकको ध्यान तान्दैन ।
फिल्मले पाङसाङ र रुबीभ्यालीको अन्तरवस्तु खोतल्दै पहिचानको विषयलाई पनि छुस्स छोएको छ । तर, विषयवस्तुलाई दृश्यभाषामा बलियो ढंगबाट प्रस्तुत गर्न नसक्दा ‘नीरफूल’ औसत बन्न पुगेको छ । पटकथा कसिलो नहुँदा यो कथासँग दर्शक अन्तरसम्बन्धित हुनै पाउँदैनन् । पात्रहरूप्रति सहानुभूति र समानुभूति निर्माणमा चुक्दा दर्शकलाई फिल्मले बाँधेर राख्न सक्दैन ।
उदाहरणका लागि भूकम्प जाँदा स्यरल्हामो भत्किँदै गरेको घरभित्र परेकी छोरीका लागि तड्पिन्छिन् । तर, दर्शकलाई त्यो पीडा अनुभव नै हुँदैन । त्यतिबेला दर्शकमा उक्त पात्रपत्रि सहानुभूति र समानुभूति आभास हुनुपर्ने हो ।
पटकथा लेखनले यी मिहीन कुरालाई ध्यान दिइएको भए दर्शक फिल्ममा बाँधिने थिए । रुबीभ्यालीमा भेंडा चराउनमै रमाइरहेका चेन्जारोङ पत्नीकै कारण मलेसिया पुग्छन् । स्यरल्हामोले चेन्जारोङलाई विदेश जान कर गरिरहन्छन् । चेन्जारोङ बाध्य भएर मलेसिया पुग्छन् । तर, स्यरल्हामोको कर र चेन्जारोङको बाध्यतालाई दृश्यमा विश्वासिलो ढंगबाट स्थापित गरिएको छैन । दर्शकले ती कुरालाई जबरजस्त बुझिदिनुपर्ने हुन्छ ।
फिल्ममा भीएफएक्सलाई चलाखीपूर्ण ढंगले प्रयोग गरिएको छ । भूकम्पमा रुबीभ्यालीको घर भत्कँदै गरेको भीएफएक्स दृश्यमा मिहेनत झल्किन्छ । तर, बाँकीका भीएफएक्स दृश्यले भने आँखा बिजाउँछन् । भूकम्पका तस्बिरलाई प्रयोग गरिएको दृश्य विश्वस्नीय लाग्दैन । भूकम्पका अन्य दृश्यहरुमा पनि यस्तै गल्तीहरु दोहोरिएको छ ।
भूकम्प गएको हप्तादिनमै स्यरल्हामो बौद्ध आइपुग्छिन् । बौद्ध स्तुपा भत्किएको देखाइन्छ, तर छेउका पसल/व्यवसाय मज्जाले खुलेका छन् । त्यस्तै अर्को दृश्य छ, जहाँ भूकम्पको समयमा निर्माण गरिएका अस्थायी घर छन् । तर, अस्थायी टेन्टपछाडि काठमाडौं सहर झलमल्ल बलेको देखाइन्छ । भूकम्प गएको हप्तादिनमै त्यसरी काठमाडौंका घरहरु झलमल्ल बलेको जस्तो त लाग्दैन ! समयसीमा निश्चित नहुँदा पनि बलले ‘नीरफूल’को संसारभित्र घुस्न समय लाग्छ । फिल्ममा स्यरल्हामो र चेन्जारोङ बसेको गाउँ स्थापित गर्ने दृश्य छैन । पूजापाठमा छिमेकी उनीहरूलाई सहयोग गर्न आइपुगिरहन्छन् तर उनीहरू कहाँबाट आए पत्तो हुन्न ।
सम्पादनमा फिल्मलाई सुधार्ने थुप्रै ठाउँहरू थिए । केही दृश्य त यति लामा खिचिएका थिए कि त्यसलाई मज्जाले छोट्याउन सकिन्थ्यो । अनावश्यक दृश्य काट्ने थुप्रै स्थान सम्पादकले त्यतिकै छोडिदिएका छन् । अनावश्यक दृश्यको काँटछाँटले कथा वाचन बलियो बन्न सक्थ्यो । सम्पादनमै फिल्म चुक्दा ‘नीरफूल’ले विषयवस्तुको साख नजोगाएको हो । फिल्ममा खिचाइ पनि उम्दा छैन । सिनेमेटोग्राफरले दृश्य भाषाका लागि प्रि-प्रोडक्सनमै अभ्यास गरेको भए विषयवस्तुको मुटु र आत्मामा दर्शक सरिक हुन पाउने थिए ।
संवादमा फूलमानको लेखन अब्बलता देखिन्छ । दशकौंदेखि नेपाली भाषाका फिल्म हेरिरहेका दर्शकका लागि तामाङ भाषाको ‘नीरफूल’लाई हेर्नु सकसपूर्ण होला । तामाङ भाषाको संवादलाई नेपाली सबटाइटलमा पढ्नु झन्झटिलो लाग्न सक्ला । तर, निर्देशक बलले यसमै नयाँ प्रयोग गरेका छन् । नेपाली भाषाकै फिल्मलाई मात्र फिल्म मान्नेहरूका भीडमा तामाङ भाषाको ‘नीरफूल’ले विविधता थप्ने नै पक्का छ ।
३० प्रतिशत तामाङ भाषा प्रयोग गरिएको फिल्मलाई मूलधारमा ल्याउने आँट लागि बलको तारिफ नगरी बस्न सकिन्न । तामाङ संस्कृति, विश्वास मिसाइएको ‘नीरफूल’ले फिल्म क्षेत्रमा विविधताको रंग छर्किदिएको छ । कोरियन, जापानी, इरानी फिल्मलाई सब-टाइटलमा हेर्न रुचाउने दर्शकले अब देशका विविध भाषाको फिल्मलाई हेर्ने चस्मा बदल्नुपर्छ । प्रश्न यत्ति हो, अब यस्तो हिम्मत कसले गर्ला ?
प्रतिक्रिया दिनुहोस