तमासा
490 Views

हिजो एउटाले अलिकति
सपनाको घाँस देखायो
र आफ्नो किलामा
उसको घाँटी कस्सिनेगरी
बाँधेर छाड्यो अनि
आफ्नो स्वामित्वको
प्रमाणस्वरुप बजारका
भित्ताभरि तस्वीर टाँस्यो।
आज अर्को आयो
कस्सिएको घाँटीबाट
दाम्लो काटिदियो, अझै
मीठो घाँसको आश्वासन
दियो र तस्वीर खिच्यो
अनि उसले पनि आफ्नो
अमूल्य सम्पत्ति भन्दै
टाँसिदियो बजारका भित्ताभरि।
अरुबेला कसैको नजर नपर्ने
कसैले वास्तै नगर्ने बिचरो उ
अहिले सबैले मेरो मेरो भन्दा
खुसीले गदगद छ,
घाँस नजिकै छ,
खान मिलेको छैन,
र खाने मन पनि छैन
किनकी उ खुसी साट्नमै
व्यस्त छ, मस्त छ।
म यो रोचक खेल हेरिरहेछु।
हेरिरहेछु,
बजारको भित्ताभरि टाँसिएका
उनीहरुका छेपारे तस्वीरहरु।
तस्वीरहरु हल्लिरहेका छन्
हावाको गतिसँगै
घरी यता घरी उता।
जसरी काटिनुभन्दा
अघि पानी मन्साउँदा
बोकाले आफ्नो मृत्युको
स्वीकृतिस्वरुप टाउको
हल्लाउँछ जोड जोडले।
-लाल कार्की “अन्जान”
फेदिखोला २ स्याङ्जा
प्रतिक्रिया दिनुहोस