ओमीक्रोनको सं*क्रमण कास्की जिल्लामा पचास प्रतिशतभन्दा माथि रहेको भन्दै जिल्ला प्रशासन कास्कीले यस्तो कडा आदेश
713 Views
कास्की जिल्लाका प्रमुख जिल्ला अधिकारीबाट जारी आदेश ।
कोभिड-१९ (कोरोना भाइरस) को नयाँ भेरियन्ट (अमिक्रोन) सहितको संक्रमण मुलुकमा तीव्र रुपमा फैलिरहेको अवस्था र कास्की जिल्लामा समेत कोभिड संक्रमणको दर पचास प्रतिशत माथि रहेको सन्दर्भमा सो को प्रभाव रोकथाम तथा नियन्त्रणका लागि नेपाल सरकार, मन्त्रिपरिषद्को निर्णयहरु, प्रदेश सरकारको निर्देशन, कोभिड-१९ संकट व्यवस्थापन समन्वय केन्द्र र जिल्ला कोभिड व्यवस्थापन समितिको सिफारिस समेतका आधारमा संक्रामक रोग ऐन २०२० को दफा २ तथा स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ (३) र स्मार्ट लकडाउन सम्बन्धी कार्यविधि, २०७८ बमोजिम मिति २०७८/१०/१५ गते देखि अर्को आदेश जारी नभए सम्मका लागि कास्की जिल्लाभर लागू हुने गरी देहाय बमोजिम आदेश जारी गरिएको छ।
देहाय :
1. देहायका सेवा तथा कार्यहरु २०७८ माघ मसान्त सम्म सञ्चालन नगर्ने नगराउने :
क. सिनेमा हल, डान्स बार, दोहोरी, नाच घर, क्लब, हेल्थ क्लब, जिम खाना, स्वीमिङ पुल, फुटसल, पटके हाटबजार, स्पा सेन्टर, व्युटीपार्लर र मानिसहरुको भिडभाड हुने अन्य सबै प्रकारका कार्यक्रम,
ख. विद्यालय, विश्व विद्यालय, कलेज, टयूशन सेन्टरहरुबाट भौतिक उपस्थितिमा सञ्चालन हुने तालिम वा अन्य प्रकारका शैक्षिक क्रियाकलापहरु,
तर जनशक्ति भर्ना परीक्षा तथा चिकित्सा शिक्षाका सबै किसिमका प्रयोगात्मक परीक्षा जनस्वास्थ्यका मापदण्डहरुको पालना गरी सञ्चालन गर्न सकिने,
ग. सबै प्रकारका आमसभा, जुलुस, सभा वा धेरै मानिस भेला हुने क्रियाकलापहरु,
घ. जिल्लामा रहेका मठ, मन्दिर, मस्जिद, गुम्बा, चर्च लगायतका धार्मिक स्थलमा जनस्वास्थ्यका मापदण्डहरुको पालना गर्ने गरी नित्य पूजा, ध्यान र प्रथना बाहेकका क्रियाकलापहरु,
2. धार्मिक वा सास्कृतिक जात्रा, पर्व, विवाह, न्वारन, पास्नी, व्रतवन्ध, धार्मिक अनुष्ठान, लगायतका अत्यावश्यक परम्परागत क्रियाकलापहरु सञ्चालन गर्दा पच्चीस जना भन्दा बढी नहुने गरी तोकिएका जनस्वास्थ्यका मापदण्डहरुको पूर्ण रुपमा पालना गर्ने गरी स्थानीय प्रशासनलाई पूर्व जानकारी दिएर मात्र सञ्चालन गर्न सकिने छ।
3. जिल्लास्थित सेवाप्रदायक निकायहरुले सेवा प्रवाह गर्दा सेवाग्राहीहरुले अनिवार्य रुपमा कोभिड विरुद्धको खोप लगाएको प्रमाण देखाउने (खोप कार्डको मोवाइलमा फोटो भए पनि हुने ) व्यवस्था अनिवार्य रुपमा लागू गर्ने ।
4. सपिङ्ग मल, डिपार्टमेन्टल स्टोर, सुपर मार्केट वा अन्य प्रकारका पसलहरु एक पटकमा पच्चीस जना भन्दा वढि हुन नहुने, कुनै पनि सामानहरु अनावश्यक रुपमा नछुने, दुई व्यक्तिको विचमा कम्तिमा दुई मिटरको दुरी कायम गर्ने, मास्कको अनिवार्य उचित प्रयोग गर्ने, पटक पटक साबुन पानीले हात धुने वा सेनिटाइजर प्रयोग लगायतका तोकिएका स्वास्थ्य सुरक्षा मापदण्डको पालना गरी गराइ सञ्चालन गर्ने ।
5. रङ्गशालामा दर्शक सहित नगरी नहुने पूर्व निर्धारित खेलकूदका कार्यक्रमहरु गर्दा एक पटकमा कुल क्षमताको एक-तिहाई मात्र उपस्थित रहने गरी जनस्वास्थ्यका मापदण्ड पालना गर्ने गरी सञ्चालन गर्ने । त्यस्ता खेलकुद कार्यक्रममा खोपको मात्रा पूरा गरेका व्यक्तिहरुलाई मात्र खोप कार्डको आधारमा रङ्गशाला प्रवेश गर्न दिने ।सकभर दर्शक विहिन रुपमा खेलकुद कार्यक्रम सञ्चालन गर्नुपर्ने छ ।
6. सार्वजनिक यातायात सञ्चालन सम्बन्धमा देहाय बमोजिम गर्ने :
क. सिट क्षमता भन्दा बढी यात्रु नराख्ने,
ख. सबै यात्रु र कर्मचारीहरुले मास्कको प्रयोग गर्ने गराउने ,
ग. सावरी साधनको ढोकामा र सवारी साधन भित्र सेनिटाइजरको व्यवस्था गर्नु पर्ने,
घ. सहचालकले अनिवार्य रुपमा मास्क र फेस-सिल्ड लगाउनु पर्ने ,
ङ. सवारी साधनलाई दैनिक रुपमा निसंङक्रमित गर्नु पर्ने,
च. सार्वजनिक यातायातमा कुनै यात्रुले मास्क नलगाई आएमा चालक वा सहचालकले वढीमा पाँच रुपैया लिई मास्क उपलब्ध गराउने,
छ. मास्क नलगाउने व्यक्तिलाई सवारी साधनमा प्रवेश नदिने,
ज. कास्की जिल्लाबाट प्रस्थान विन्दु भई वा कास्की जिल्ला गन्तव्य स्थान भई सञ्चालन हुने लामो दुरीका सार्वजनिक यातायातहरुले बीचबाटोमा थप यात्रु नचढाउने गरी सुरु गन्तव्य देखि अन्तिम गन्तव्य सम्म यातायात सञ्चालन गर्ने र यात्रुहरुको विवरण तयार गरी शुरु गन्तव्य र अन्तिम गन्तव्यको ट्राफिक प्रहरी कार्यालय मार्फत जिल्ला कोभिड व्यवस्थापन केन्द्रलाई उपलब्ध गराउने,
झ. लामो दूरीका सवारी साधन वा हवाईजहाजबाट यात्रा गर्नु पूर्व खोप कार्ड वा कोभिड-१९ को नेगेटिभ रिपोर्ट भएको प्रमाण आफ्नो साथमा राख्ने र सो अनुरुप मात्र यात्रा अनुमति दिने,
7. होटेल तथा रेष्टुरेण्ट देहाय बमोजिमका मापदण्डहरुको पालना गरी सञ्चालन गर्ने :
क. होटेल तथा रेष्टुरेण्टका कामदारले अनिवार्य रुपमा मास्क, फेस-सिल्ड र पञ्जा लगाउने,
ख. होटेल तथा रेष्टुरेण्टमा प्रवेश गर्ने सबै सेवाग्राहीहरुलाई अनिवार्य रुपमा मास्कको उचित प्रयोग गर्न लगाउने,
ग. कूल क्षमताको आधा भन्दा बढी नहुने गरी कम्तीमा दुई मिटरको भौतिक दूरी कायम गर्नु पर्ने,
घ. होटेल तथा रेष्टुरेण्टहरुमा प्रत्येक टेवल तथा कोठामा सेनिटाइजरको व्यवस्था गर्नु पर्ने,
ङ. होटेल तथा रेष्टुरेष्टलाई नियमित रुपमा निसङ्क्रमित गर्नु पर्ने,
च. होटेल तथा रेष्टुरेण्टहरुमा सेवाग्राहीहरुलाई मात्र खोप कार्डको आधारमा होटेल तथा रेष्टुरेण्टमा प्रवेश गर्न दिने,
छ. जिल्लामा सञ्चालित होटेलहरुले कोभिड विरुद्धको खोप लगाएको कार्ड वा २४ घण्टा भित्रको एन्टिजेन परीक्षणको नेगेटिभ रिपोर्ट लिई आएका सेवाग्राहीहरुलाई मात्र चेक-इन गरी सोको विवरण अद्यावधिक गरी राख्ने,
ज. सबै प्रकारका रेष्टुरेण्ट सञ्चालन गर्दा बाजागाजा (Live Music) बजाउने कार्य पूर्ण रुपमा रोक्का गरी राती १०:०० बजे सम्म मात्र सञ्चालन गर्न सकिने,
8. नेपाल राष्ट्र बैंकले सबै बैङ्क तथा वित्तीय संस्थाहरुमा सेवा तथा कार्यको लागि विद्युतीय भुक्तानी प्रणाली लागू गर्न सहजीकरण गर्ने ।
कोभिड-१९ सम्बन्धी आदेशको प्रभावकारी पालना सम्बन्धमा सुरक्षा निकायहरुबाट नियमित तथा आकस्मिक अनुगमन गरिने छ । अनुगमनका क्रममा यस आदेशको अवज्ञा भएको पाईएमा प्रचलित कानून बमोजिम कारबाही हुने व्यहोरा समेत सूचित गरिन्छ ।





प्रतिक्रिया दिनुहोस