मिलेर खाउ, सत्ता तिम्रो बाउले आर्ज्याको हो- कृष्ण क्षेत्री
638 Views
======कविता =======
मिलेर खाउ सत्ता तिम्रै बाउले आर्ज्याको हो।
तिमिले न खाए कस्ले खान्छ ?
सुख सुबिधा तिमिले भोग्न पर्छ,
तिमिले नभोगे कस्ले भोग्छ?
ती निमुखा रैती ले ?
ती निमुखा रैति त !
चुनावी भात मै बधुवा भएका बधुवा गुलाम हुन।
तिम्रा कमारा को के त कुरा ,
माहुरी झै तिम्रै अघि पछि घुम्छ्न तिम्रा कमारा हरु!
तिम्रो पाध पनि बसाउछ तिनी हरु लाई।
तिमिले खकार्दा पनि ताली बजाउछन
तिम्रा कमारा हरु!
खप्पर मा त लिएरै आएका रहेछौ!
तिमी र तिम्रा परिवार
अनि
तिमी र तिम्रा आफन्तले
मोज गर ,भोज गर ।
यता
अक्सिजन नपाएर
मृत्युको पालो कुरेर
तिम्रा रैती मर्ने लाममा उभिई रहेका छन।
के भो त
यता रैतीको परिवार घट्दा
तिम्रो त केबल भोट मात्रै त घट्ने हो।
तिमिले मर्नु पर्दैन
मर्ने काम त रैति हरुको जिम्मामा हो।
ति रैति !
ती रैती हरुलाई उपचार चाहिदैन!
कम्जोर र निर्बल रैतीहरु बाँचेर के काम?
यहाँ बाच्नु पर्नेत
तिमी र तिम्रा परिवार मात्रै हो।
बाच्ने भनेकै,
बलिया बाँङ्गा हरु हो।
कम्जोर दुखी,गरिब र पहुच नहुने रैति हरुलाई बाच्ने अधिकार हुदैन!
ए रैती हरु हो
कान खोलेर सुन।
भिख माग्ने हरुले भिखमा पाएको खोप लगाउनु हुँदैन !
त्यो खोप त
तिम्रा मालिक,
तिम्रा मालिकका परिवार,
तिम्रा मालिक परिवार का आफन्त,
अनि
तिम्रा मालिक का आसेपासे ले मात्रै लगाउनु पर्छ।
तिमी रैती हरु हेरेर बस
आफ्नो मत सङ्गै
आफ्नो अधिकार सुम्पेका तिमी रैती हरु
तिमी हरु लाई खोप किन चाहियो ?
अब तिमी हरुलाई खोपको
अधिकार छैन।
खोप त तिम्रा मालिक ……
हरुलाई चाहिन्छ ।।
—-
( यता जनता मनमनै भन्छन् )
हे क्रुर नबसामन्त हरु
हे क्रूर नब शासक हरु।
जे जे मन लाग्छ गर!
मिलेर खाउ
यो सत्ता त
तिम्रै बाउले आर्ज्याको हो।
ए पाखण्डी हरु हो
कहिले सरकार बनाउ ।
कहिले सरकार भत्काउ ।
कहिले बनाएको नाटक गर !
कहिले भत्काएको नौटन्की गर !
जे मन लाग्छ त्यो गर
कहिले बिश्वास गर
कहिले बिश्वास घात गर।
जे गर्न पनि छुट छ।
तिमिहरु को सुबिधा घट्दैन ।
झन थपिदै जाने हो ।
बिश्वास अबिस्वास्
के के लिन्छौ लेउ !
सुबिधा भोग
सात पुस्ता लाई हैन
नौ पुस्तालाई पुग्ने गरि कमाउ
तर
तिम्रा परिवार
तिम्रा आसेपासे लाई मात्रै हैन,
आम जनता लाई
vaccine देउ।
सत्ता त तिम्रै बाउले आर्ज्याको सम्पत्ति हो ।
बाँडिचुडी आलो पालो गरि खाउ।
मन लागिन्ज्यल खाउ
जहिले सम्म खाए पनि हुन्छ खाउ ।
रैती ले कहिलेयै अबरोध गरेको छ र ?
केबल एक खोप
केबल एक खोप मागेका छौ
निगाह बकस होस मालिक।।।
लाज त
तिमीहरूलाई लाग्दैन ,
त्यही अनुहार लिएर
फेरि भोट माग्न आउ ।
हामी आफ्नो मत दिने छौ
त्यो पनि दान मा।
मतदान।।।
तिम्रा लागि अमुल्य मत
हाम्रा लागि केबल
एक छप्पा हो ।
त्यस्ता छप्पाको कुनै मुल्य चाहिदैन हामिलाई
बस अहिले एक थोपा खोप देउ ।
त्यो पनि
तिम्रो खल्ती कटाएर हैन,
तिम्रो भुडी घटाएर हैन।।
तिम्रो खल्ती बाट हैन ।
बिदेशी ले हाम्रा लागि दिएको
त्यो जीवन दान
हामिलाई एक खोप देउ।
बदलामा तिमी लाई
फेरि मत दिउला।
लाज नमानी आउनु ।
त्यही मतले,
तिमिले हामिलाई शासन गरि रहनु।
जनता का लागि जनताको शासन भन्थ्येयौ,
तिम्रा शासन र कासन पनि देखियो।
तिम्रा परिवार र आफन्त बाहेक ,
अरु
कसैलाई तिमिले कतै सहयोग गरेको खै कहाँनेर देखियो ?
तिमिहरु मिलेर खाउ
तिम्रै बाउले आर्ज्याको हो
मिलेर खाउ,सत्ता तिम्रै बाउले आर्ज्याको हो।
– कृष्ण क्षेत्री पोखरा
2078/2/21
प्रतिक्रिया दिनुहोस