विपद् प्रभावितका लागि बैदाम तामाङ सेवा समाजद्वारा २ लाख १८ हजार सहयोग
126 Views
पोखरा । रसुवा, धादिङ, नुवाकोट, गोरखालगायतका जिल्लामा आएको भीषण बाढीबाट प्रभावित परिवारको राहत तथा सहयोगका लागि बैदाम तामाङ सेवा समाजले प्रधानमन्त्री राहत कोषमा रु. २ लाख १८ हजार ४ सय १६ सहयोग गरेको छ।
विपद्को कठिन परिस्थितिमा प्रभावित परिवारको साथमा उभिने उद्देश्यले समाजले उक्त रकम राहत कोषमा सहयोग गरेको जनाएको छ। समाजका अनुसार यो सहयोग पीडित परिवारप्रतिको माया, साथ र मानवीय संवेदनाको अभिव्यक्ति हो।
यसैबीच, समाजले भदौ २३ गते बिहान ६ बजे पोखराको सेदी डाँडामा विशेष पूजा तथा प्रार्थना कार्यक्रम आयोजना गर्ने भएको छ।
भोटेकोशीमा आएको बाढी तथा फेवा तालमा भएको दुर्घटनामा ज्यान गुमाएका दिवंगत आत्माको चिरशान्तिको कामना, बेपत्ता नागरिकहरूको सकुशल उद्धार तथा पीडित परिवारजनलाई धैर्यधारण गर्ने शक्ति मिलोस् भन्ने उद्देश्यले विशेष पूजा तथा प्रार्थना गर्न लागिएको समाजका अध्यक्ष ज्याक तामाङले जानकारी दिए।
पूजामा ‘ॐ मणि पद्मे हूँ’ मन्त्रसहित दिवंगत आत्माको चिरशान्ति, बेपत्ता नागरिकको सकुशल उद्धार तथा पीडित परिवारको सुख, शान्ति र धैर्यका लागि प्रार्थना गरिनेछ।
समाजले उक्त कार्यक्रममा सम्पूर्ण शुभेच्छुक तथा सर्वसाधारणलाई सहभागी हुन आग्रह गरेको छ। विपद्को समयमा सबै एकजुट भएर पीडित परिवारको साथमा उभिन तथा मानवीय भावनालाई थप बलियो बनाउन कार्यक्रम आयोजना गरिएको समाजको भनाइ छ।
आर्थिक सहयोगसँगै विशेष पूजा तथा प्रार्थनामार्फत बैदाम तामाङ सेवा समाजले ‘विपद्मा एक बनौँ, मानवता बचाऔँ’ भन्ने सन्देशसमेत प्रवाह गर्ने जनाएको छ।





प्रतिक्रिया दिनुहोस