मिस तामाङ समाज नेपालको नयाँ कार्यसमिति गठन, तामाङ समुदायको उत्थानमा संस्थागत अभियानलाई थप प्रभावकारी बनाइने
123 Views
काठमाडौं । मिस तामाङ समाज नेपालले आफ्नो सामाजिक अभियानलाई अझ प्रभावकारी, व्यवस्थित तथा जिम्मेवारीपूर्ण ढंगबाट सञ्चालन गर्ने उद्देश्यसहित नयाँ कार्यसमिति गठन गरेको छ।
सन् २०२१ मा आयोजित मिस तामाङ समाज नेपाल २०२१ को उपाधि विजेता सफलता थिङ तामाङको नेतृत्वमा स्थापना भएको यो संस्था सुरुदेखि नै तामाङ समुदायको सामाजिक, शैक्षिक, स्वास्थ्य तथा सांस्कृतिक क्षेत्रमा सक्रिय रहँदै आएको छ।
संस्थाको स्थापना विशेषतः मिस तामाङ प्रतियोगितामा सहभागी तथा विजेता युवतीहरूलाई एउटै साझा मञ्चमा आबद्ध गर्दै समाजप्रति उत्तरदायी भूमिका निर्वाह गर्ने उद्देश्यका साथ गरिएको हो। सन् २०२१ मा कोभिड–१९ महामारीको कठिन समयमा संस्थाले विभिन्न स्थानमा खाद्यान्न वितरण, विभिन्न संघ–संस्थासँगको सहकार्यमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन, विपन्न समुदायलाई राहत उपलब्ध गराउने लगायतका मानवीय कार्यहरू सम्पन्न गरेको थियो।
त्यसयता संस्थाले तामाङ समुदायको अधिकार, आदिवासी जनजातिको अधिकार, भाषा, संस्कृति र पहिचानका विषयमा अन्तरक्रिया कार्यक्रम सञ्चालन गर्दै आएको छ। साथै, सोनाम ल्होछारका अवसरमा सांस्कृतिक कार्यक्रम आयोजना गर्ने, माध्यमिक शिक्षा परीक्षा (SEE) मा ४.० जीपीए प्राप्त गर्ने नेपालभरिका तामाङ विद्यार्थीलाई सम्मान गर्ने तथा युवापुस्तामा शिक्षा, नेतृत्व र सामाजिक उत्तरदायित्वको भावना विकास गर्ने विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको छ।
संस्थाका अनुसार आगामी दिनमा तामाङ समुदायको समग्र उत्थान, महिला सशक्तीकरण, शिक्षा, स्वास्थ्य, संस्कृति संरक्षण तथा नेतृत्व विकासका क्षेत्रमा अझ सशक्त ढंगले काम गर्ने लक्ष्य राखिएको छ। त्यसका लागि पूर्व मिस तामाङहरूलाई संस्थागत रूपमा एकताबद्ध गर्दै दीर्घकालीन सामाजिक अभियान सञ्चालन गरिने जनाएको छ।
यसै उद्देश्यलाई मूर्त रूप दिन २०८३ साल असार १३ गते सम्पन्न बैठकले नयाँ कार्यसमिति गठन गरेको हो।
नवनिर्वाचित कार्यसमिति यसप्रकार रहेको छ :
अध्यक्ष: सफलता थिङ तामाङ
उपाध्यक्ष: साम्रागी लामा मोक्तान
सचिव: रिया लामा
सह–सचिव: पासाङ याङ्जी लामा
कोषाध्यक्ष: स्मृति तामाङ
सदस्यहरू:
सिर्जना गोले तामाङ
मोनालिशा तामाङ
स्वर्णिमा तामाङ
सुजिना लामा
समीक्षा तामाङ
याङ्जु तामाङ
सल्लाहकारहरू:
रन्जिता लामा
सुमी मोक्तान तामाङ
प्रभात दोङ तामाङ
संस्थाले गठन गरिएको नयाँ कार्यसमितिले सामाजिक उत्तरदायित्व, सुशासन, पारदर्शिता तथा प्रभावकारी कार्यक्रममार्फत तामाङ समुदायको हितमा अझ सशक्त रूपमा काम गर्ने विश्वास व्यक्त गरेको छ।
मिस तामाङ समाज नेपालले स्पष्ट रूपमा जोड दिएको विषय भनेको “मिस तामाङ” केवल सुन्दरी प्रतियोगिता मात्र होइन भन्ने हो। यो प्रतियोगिता तामाङ समुदायका छोरी–चेलीहरूको व्यक्तित्व विकास, नेतृत्व क्षमता अभिवृद्धि, भाषा, संस्कृति, परम्परा र पहिचानप्रतिको गर्वलाई स्थापित गर्ने अभियानका रूपमा विकास हुँदै आएको छ।
प्रतियोगितामा सहभागी युवतीहरूले केवल उपाधि जित्ने होइन, समाजप्रति जिम्मेवार नागरिकका रूपमा शिक्षा, स्वास्थ्य, महिला सशक्तीकरण, संस्कृति संरक्षण र सामाजिक सेवामा योगदान दिन सक्ने नेतृत्व विकास गर्नु नै यसको मूल उद्देश्य रहेको संस्थाको धारणा छ।
सुन्दरता क्षणिक हुन सक्छ, तर ज्ञान, संस्कार, नेतृत्व क्षमता र समाजप्रतिको उत्तरदायित्व नै वास्तविक पहिचान भएको सन्देश मिस तामाङ समाज नेपालले निरन्तर प्रवाह गर्दै आएको छ। यही सोचलाई व्यवहारमा उतार्दै संस्थाले तामाङ समुदायका युवतीहरूलाई सामाजिक परिवर्तनका संवाहकका रूपमा स्थापित गर्ने अभियानलाई आगामी दिनमा अझ व्यापक बनाउने जनाएको छ।





प्रतिक्रिया दिनुहोस