जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवको आरोप : “मधेशमा गैरमधेशी नीतिको थोप्पा
581 Views
जनता समाजवादी पार्टी (जसपा) नेपालका केन्द्रिय अध्यक्ष उपेन्द्र यादवले मधेशमा गैरमधेशीहरूद्वारा बनाइएका नीति जबर्जस्ती लादिएको आरोप लगाएका छन्।
सिरहाको गोलबजारमा आयोजित जसपा नेपालको प्रथम जिल्ला अधिवेशनको उद्घाटन सत्रलाई सम्बोधन गर्दै यादवले मधेशी जनताको अस्तित्व मेटाउन सरकार लागिपरेको गम्भीर आरोप लगाए। “मधेशमा ५४ प्रतिशत जनसंख्या रहेको भए पनि राज्यसत्ताले त्यसअनुसारको अधिकार र भागीदारी सुनिश्चित गर्न सकेको छैन,” यादवले भने, “सरकार भ्रष्ट छ र यसलाई मधेश र मधेशीका पीडा बुझ्ने कुनै चासो छैन।” उनले सत्तारुढ प्रमुख दलहरू नेकपा एमाले, नेपाली कांग्रेस, नेकपा एस, र नेकपा माओवादीका नेताहरूलाई “दास” को संज्ञा दिँदै, यस्ता नेताहरूले मधेशको पक्षमा उभिन नसक्ने टिप्पणी गरे।
अधिवेशनमा नेकपा एमालेका सिरहा जिल्ला उपाध्यक्ष तथा सिरहा नगरपालिकाका नगर प्रमुख डा. नविन कुमार यादवले आफू एमाले नेता भए पनि पहिला मधेशी भएको बताउँदै भने, “म मधेशी भएकोमा गर्व गर्छु। सदैव मधेश र मधेशीको हकहितका लागि आवाज उठाउने छु।” उनले दलको हैसियतभन्दा माथि मधेशी पहिचानलाई प्राथमिकता दिने धारणा व्यक्त गरे।
त्यस्तै, नेकपा माओवादी केन्द्रका केन्द्रिय सदस्य हरीनारायण चौधरीले पहिचानको आन्दोलनले ठूलो बलिदानी व्यहोरेको तर अपेक्षित परिणाम नआएको धारणा राखे। “संगठन संचालनका लागि स्पष्ट नीति र सक्षम नेतृत्व आवश्यक हुन्छ,” उनले भने, “हामी अझै पनि ठूला नेताहरूको निर्देशनमा निर्भर छौं, जसले गर्दा मधेशको समग्र विकास प्रभावित भइरहेको छ।” उनले विभिन्न पार्टी र नेताबीच सघन छलफल र सहकार्य जरुरी रहेको बताए। तीनदिने जिल्ला अधिवेशन बैशाख ८ देखि १० गतेसम्म सिरहाको गोलबजारमा चल्नेछ। आयोजक समितिका अनुसार अधिवेशनमा पार्टीको सांगठनिक संरचना विस्तार, नीति निर्माण र आगामी राजनीतिक दिशा निर्धारणबारे छलफल गरिनेछ।
यस अधिवेशनले मधेशको समसामयिक राजनीतिक अवस्था र पहिचानको सवालमा नयाँ बहस ल्याउने अपेक्षा गरिएको छ।





प्रतिक्रिया दिनुहोस