देशभर प्रदर्शनमा आयो सामाजिक सन्देशमूलक चलचित्र ‘जाँड’
28 Views
काठमाडौं । निर्देशक राजु शाहको निर्देशनमा बनेको सामाजिक कथावस्तुमा आधारित नेपाली चलचित्र ‘जाँड’ आजदेखि देशभरका सिनेमाघरमा प्रदर्शनमा आएको छ।
चलचित्रले मद्यपानका कारण परिवारमा उत्पन्न हुने तनाव, कलह र त्यसले समाजमा पार्ने नकारात्मक प्रभावलाई मुख्य विषयवस्तुका रूपमा उठाएको निर्माण पक्षले जनाएको छ। सार्वजनिक ट्रेलरले जाँडको लतमा फसेका व्यक्तिको व्यवहारले परिवार, विशेषगरी पत्नी र छोरीको जीवनमा पार्ने असर तथा समाजले त्यस्ता व्यक्तिलाई हेर्ने दृष्टिकोणलाई यथार्थपरक रूपमा चित्रण गरेको देखाएको छ।
मद्यपानको दुष्परिणामसँगै चलचित्रले नेपाली समाजमा अझै विद्यमान ‘वंश धान्न छोरा नै चाहिन्छ’ भन्ने परम्परागत सोचमाथि पनि प्रश्न उठाएको छ। छोराप्रतिको अत्यधिक मोह र छोरीमाथिको विभेदपूर्ण दृष्टिकोणका कारण परिवार तथा समाजमा देखिने समस्या र त्यसविरुद्धको आवाजलाई चलचित्रले सशक्त रूपमा प्रस्तुत गरेको निर्माण टोलीको भनाइ छ।
राजेन्द्र भट्टको निर्माणमा बनेको यस चलचित्रमा सानबी खतिवडा, पदम गुरुङ, कमला दाहाल, रमेश उप्रेती, मञ्जु श्रेष्ठ, सुवास गजुरेल, रमेश अधिकारी, लक्ष्मी तिमिल्सेना र स्मारिका खनाललगायत कलाकारहरूको अभिनय रहेको छ।
सुकुलढोका मिडिया प्रालिको ब्यानरमा निर्माण गरिएको चलचित्रको कथा, पटकथा तथा संवाद सुनिलप्रसाद श्रेष्ठ, राजु शाह र राजेन्द्र भट्टले संयुक्त रूपमा तयार पार्नुभएको हो। चलचित्रका निर्मातामा सुनिलप्रसाद श्रेष्ठ र राजेन्द्र शाह रहनुभएको छ।
मुख्य सहायक निर्देशकमा शम्भु गौतम र किशोर डंगोल तथा सहनिर्देशकमा नरेन्द्रकुमार केसी रहनुभएको छ। चलचित्रको छायांकन तथा सम्पादन दिपेन बस्न्यातले गर्नुभएको हो भने द्वन्द्व निर्देशन योगेन्द्र श्रेष्ठको रहेको छ। निर्माण नियन्त्रकको जिम्मेवारी सुनिलप्रसाद श्रेष्ठले सम्हाल्नुभएको छ। चलचित्रमा श्रीपुरुष ढकालका शब्द तथा रोशन बालुवाको संगीत र स्वर समावेश गरिएको छ।
सामाजिक विकृति, कुसंस्कार र लैंगिक विभेदजस्ता संवेदनशील विषयलाई उठान गरेको ‘जाँड’ ले दर्शकमाझ मनोरञ्जनसँगै सशक्त सामाजिक सन्देश पनि प्रवाह गर्ने अपेक्षा गरिएको छ।





प्रतिक्रिया दिनुहोस