पाेखरामा गाईजात्राबाट सुरु भएको भैरव नृत्य चैत दोस्रोसातासम्म
394 Views
पोखरा, १३ फागुन । पोखरा भैरवटोलका तीर्थमान प्रधानाङ्ग अचेल अलिक व्यस्त छन् । मोबाइलमा तारन्तर घन्टी बजिरहन्छ । बाह्र भैरव नाच देखाइदिन टोल÷टोलबाट बोलावट हुन्छ ।
साढे २ सय वर्षको इतिहास बोकेको बाह्र भैरव नाचको तालिका मिलाउनै हम्मेहम्मे पर्छ भैरव सांस्कृतिक संरक्षण समिति अध्यक्ष तीर्थमानलाई । उमेरले ७४ पुगेका उनले एक्लै फ्याट्टै निर्णय दिन नसके कार्यसमितिका पदाधिकारी र सदस्यको मिटिङपछि बन्दोबस्त मिलाउँछन् । तोकिएको दिन साँझ पर्नैलाग्दा कलाकार, सहयोगीसमेतको ८०÷९० जनाको टोलीसहित खट (तोकिएको स्थल) जान्छन् । अनि मध्यरातसम्म तान्त्रिक शैलीमा नाच प्रस्तुत गर्छन् । राति नै कलाकारसहित देवताघरमा फर्किएपछि मात्र बिहानीपख मात्र बल्ल सुत्छन् ।

पर्यटकीय नगरी पोखरालाई देशविदेशसम्मै चिनाउने यो नाच यतिखेर पोखराका ठाउँ ठाउँमा प्रदर्शन भइरहेको छ । हालसम्म ३० ठाउँमा प्रस्तुत भइसकेको यो नाच चैत दोस्रो सातासम्म करिब ६० स्थानमा देखाउने आयोजक भैरव सांस्कृतिक संरक्षण समितिको लक्ष्य छ ।
विभिन्न खालको भेषभूषामा सजिएर मुकुन्डोले मुखाकृति छोपी हातमा डमरु, खड्ग बोकी विभिन्न भावभंगीमा नाचिने यो नाच अद्भूतखालको हुन्छ । तान्त्रिकशैलीमा घन्टौंसम्म प्रदर्शन हुने नाचमा न नाच्नेहरु थाक्छन्, न हेर्नेहरु । नाच हेर्नका लागि टोलटोलमा मानिसको ठूलो संख्यामा भीड लाग्छ । भनिन्छ, यो नाच प्रदर्शनमा जुट्नेहरु हुन् वा हेर्नेहरु सबैमा भैरवले शक्ति प्रदान गर्छन् । यो नाच हरेक ६ वर्षमा निकालिन्छ । जति समय गुजिँ्रदै गए पनि यसको महत्व घटेको छैन । पुस्तान्तरण हुँदै आएको यो नाचमा नाच्ने अधिकांश कलाकार युवापुस्ताकै हुन्छन् । नाचअघि समितिले उनीहरुलाई तालिम दिएर पारङ्गत बनाउँछ ।
पोखरा २, भैरवटोलस्थित भैरव सांस्कृतिक संरक्षण समितिले यस वर्ष गाईजात्रादेखि विभिन्न पूजाविधिसहित बाह्र भैरव प्रारम्भ गरेको हो । सुरुमा भैरव मन्दिर हुँदै विभिन्न मन्दिरमा गई पूजाआराधनासँगै गुरु (हाल कृष्णदेव प्रधानाङ्ग) को घरमा नाचिसकेपछि सर्वसाधारणको लागि नाच फुकुवा हुन्छ । यसपालि तिहारपछि सर्वसाधारणको घरघर वा टोलमा जाने गरेकोमा २३ चैतमा शान्ति नाचसँगै विसर्जन हुनेछ । नाचका लागि विभिन्न संघसंस्थाले आफ्नै टोलमा बोलाउँछन् । व्यक्ति विशेषले पनि नाच लिएर आउन भन्छन् । यसपालि गत १५ मंसिरदेखि सुरु भएकोमा आगामी ११ चैतसम्म निम्तालु कहाँ जाने समयसीमा समितिले तोकेको छ । संस्थाले बोलाए ५० हजार, व्यक्तिले बोलाए ३५ हजार रुपैयाँ लाग्छ । आम्दानी सबै नाच व्यवस्थापन एवं समितिको विविध क्रियाकलापमा खर्च गरिन्छ । नाच्ने कलाकारलाई पैसा दिनु पर्दैन । वर्षौदेखिको नाचलाई संरक्षण दिँदै आएको समितिले यसलाई मूर्तरुप दिन प्यागोडा शैलीमा झण्डै ३ करोड लागतमा दुईतले भैरव मन्दिर निर्माण अभियान थालेको छ ।

पाेखरामा कसरी भित्रियाे?
पोखरामा सर्वप्रथम विसं १७५२ तिर भक्तपुरका नेवारहरु आएका हुन् । त्यसबेला नेपाल अस्थिर राजनीतिक अवस्थाबाट गुज्रिरहँदा कास्कीका अन्तिम राजा सिद्धिनारायण शाहको पालामा भक्तपुरका नेवारहरु सुरक्षा खोज्दै यहाँ आएको पाइन्छ । यहाँ उनीहरुले व्यापार र खेतीपाती गरेर बसोबास सुरु गरे । आफ्ना पुर्खाले मान्दै आएका विभिन्न सांस्कृतिक गतिविधि निरन्तरता दिनेक्रममा बाह्र भैरव पनि सुरु भएको अनुमान छ ।
त्यसो त, लमजुङ राइनासटारका जीताराम भन्ने व्यक्ति भक्तपुरबाट पोखरामा सुब्बा भई खटिँदा उनले भैरव र भीमसेन मन्दिर एकै पटक स्थापना गरेको प्राप्त ताम्रपत्रमा उल्लेख छ । भीमसेन मन्दिरबाहिरको ठूलो घन्टामा समेत जीतारामले धर्मपत्नी अप्सरादेवीले चढाएको घन्टीमा संवत् १८७६ भनी अंकित छ । भीमसेन टोल (पुरानो नाम लामाचौतारा) आएर बसेका जीताराम भैरवको अनन्य भक्त थिए । त्यो बेला उनी आफैंले मुकुन्डो बनाए, पोसाक, वाद्यवादन सामग्री सबै तयार पारे । भैरव सांस्कृतिक संरक्षण समिति अध्यक्ष तीर्थमानका अनुसार आफ्ना बाबु सर्वज्ञमानलाई हजुरबुबा चतुरमानले जीतारामले नै मन्दिर स्थापना गरेको र नाचलाई व्यवस्थितरुपमा अघि बढाउने प्रयास गरेको सुनाउँथे ।
(गाईजात्राबाट सुरु भएको भैरव नृत्य चैत दोस्रोसातासम्म चल्नेछ)
समितिका पूर्व सदस्य एवं बाह्र भैरवका जानकार अष्टमान प्रधानाङ्ग विसं १८४९ देखिको रेकर्ड आफूसँग रहेको दाबी गर्छन् । नेवार समुदायमा अलि हुनेखाने व्यक्ति विशेषले मात्र सुरुसुरुमा निकाल्ने यो नाच कहिले २, कहिले ३, कहिले ६, ८ वर्षमा हुन्थ्यो । तर १२ वर्ष अवधि भने कटाइँदैनथ्यो । विसं २०२९ सालमा पोखरामा भैरव सांस्कृतिक संरक्षण समिति स्थापना भयो । संस्थापक अध्यक्ष थिए देवीबहादुर भारी । सुरुमा भारी परिवार यसको सञ्चालक थिए । पछि बिजुक्छे हुँदै अहिले प्रधानाङ्ग परिवार सञ्चालक छन् । संस्था स्थापनापछि व्यवस्थित ढंगले हरेक ६ वर्षमा निरन्तर यो नाच निकालिने गरिएको छ । २०३५ सालमा सर्वज्ञमान प्रधानाङ्गको नेतृत्वले झनै व्यवस्थित र मलजल गर्ने काम ग¥यो । बाह्र भैरव नेवार समुदायमा मात्र सीमित छैन, यसमा सम्पूर्ण जातजाति र सिंगो पोखरेलको अगाध स्नेह, आस्था, श्रद्धा छ ।
बाह्र भैरवकाे महत्व ;-
बाह्र भैरवको नृत्य र मुकुट प्रदर्शन गर्ने कार्य जहिले पायो त्यतिखेर हुँदैन । यसको आफ्नै महत्व छ । बाह्र भैरव हरेक ६ वर्ष अन्तरालमा हुन्छ भने मुकुट प्रदर्शन गाईजात्राको दिनमात्र हुन्छ । प्रत्येक वर्ष नाट्येश्वर महादेव उत्पत्ति भएको दिन घन्टाकर्ण चतुर्दशीको मध्यरातमा भीमसेन मन्दिरको नाट्येश्वरको पूजा आराधना गर्ने परम्परा छ । यो दिनदेखि बाजागाजा तथा नाच फुक्छ र कुमार षष्ठीसम्म चल्छ । घन्टाकर्णको ठिक १५ दिनपछि मात्र गाईजात्रा आउँछ । घन्टाकर्णमा भैरव मन्दिरमा रातभर पूजा हुन्छ ।
बाह्र भैरवको नाच निकालिने दिनमा भने गाईजात्राको दिनमै सार्वजनिक पूजाको लागि जब मुकुट निकालिन्छ, बिहानैदेखि ठूलो संख्यामा भक्तजन पूजाआजामा जुट्छन् । देवतालाई सधैं देवताघर (भैरव मन्दिरभित्र) मा लैजाने गरिएकोमा ५ वर्ष पूरा भएर ६ वर्ष पुगेको अवसरमा बाहिरै राखिन्छ । पूजा अनुष्ठान विधिबाट देवत्व भरिन्छ । गुरुद्वारा मध्यरातमा तान्त्रिक पद्धतिबाट अनुष्ठान गरी विभिन्न भैरवहरुलाई जाज्वल्यमान शक्तिसम्पन्न गर्दै प्राण भर्ने गर्दछन् । नाच्ने कलाकारहरु एकाबिहानै नुहाइधुवाई गरेर शुद्ध हुन्छन् । तान्त्रिक गुरुबाट नाच्ने मुख्य मुख्य कलाकारलाई भैरवको मुकुट हस्तान्तरण गर्छन् ।
त्यसपछि भने एकापसमा बोल्नु हुँदैन । यो क्रियापछि वरपरका भक्तजनहरु मुकुटको सिधै आमनेसामने पर्नु पनि हुँदैन भन्ने परम्परा छ । त्यसदिन भीमसेन मन्दिरमा नाच देखाउने कार्य सुरु हुन्छ । क्रमशः गणेश, विन्ध्यवासिनी, सरस्वती मन्दिर हुँदै पछि गुरुको घरमा नाच सम्पन्न गरिन्छ । अनिमात्र सर्वसाधारणको अनुरोधमा ठाउँठाउँमा नाचका लागि खुला हुन्छ । सर्वसाधारणकहाँ नाच सकिएपछि सम्पूर्ण प्रकृति र मानिसको शान्तिको कामना गर्दै शान्ति नृत्य गरिन्छ । शान्ति नृत्य भैरव मन्दिरमा बिहानदेखि सुरु भई साँझ र भोलिपल्ट बिहानसम्म निरन्तर चल्छ । योसहित बाह्र भैरव नृत्य ६ वर्षसम्मको लागि समापन हुन्छ । यो नाचमा नाच्ने कलाकार १२ जना, सहायक १२ जना, रागी (गीत) गाउने २५÷३० जना, मृदङ्ग र अन्य बाजा बजाउने १०÷१२, पूजारी सहयोगी ५ जना र अन्य सहयोगी १५ जना गरेर ८० सदस्यसहितको जम्बोटोली हुन्छ । यो नाच करिब ६ घन्टासम्म लगातार नाचिन्छ ।
गण नृत्य हुँदै बाह्र भैरव;-
बाह्र भैरव खासमा गण नृत्य हो । जनबोलीमा भैरव नाच अर्थात् बाह्र भैरव भनिन्छ । यहाँ ४ भैरवमध्ये कालभैरव, महाकाली, इन्द्रायणी, वराह छन् । ४ देवीमा कुमारी, वैष्णवी, ब्रम्हायणी, महेश्वरी पर्दछन् । गणेश, दागिनी (पार्वती), २ गण (भुच्चा र कवाड) गरी १२ जनाको परिवारसमेतलाई बाह्र भैरव भनिएको बाह्र भैरवका रागी कलाकारसमेत रहेका अष्टमान प्रधानाङ्ग बताउँछन् । नृत्यको नेतृत्व भैरवबाट हुने भएकोले तथा १२ पात्र भएकोले यो बाह्र भैरवले लोकप्रिय बनेको हो । कालभैरवको रुप कालो हुने भएकोले भेषभूषा सबै कालो हुन्छ भने कालभैरव, महाकाली, इन्द्रायणी, वराह रातो रंगको भएकोले सबै भेषभूषा रातो हुन्छ । ४ भैरवले हातमा खड्ग र अत्याचारी असुरको मुर्कट्टा लिएका हुन्छन् । ४ देवीको पनि आआफ्नै भेषभूषाको रंग हुन्छन् । उनीहरु एक हातले डमरु समाउँछन् भने अर्को हात ध्यान मुद्रामा हुन्छ । गणेशको सेतो भेषभूषा हुन्छ भने एक हातमा बन्चरो अर्को ध्यान मुद्रामा हुन्छ । भूरवका भूतप्रेतको प्रतीक भुच्चा र कवाङ हुन् । उनीहरुको रातो वर्णको हुने भएकोले भेषभूषा रातै हुन्छन् । दागिनी रातो साडीमा सजिन्छिन् । उनको बायाँ हातमा बल्दै गरेको मशाल र दायाँमा फूलअक्षता र बत्ती हुन्छ । यो नृत्य मृदङ्ग र रागका गीतहरुबाट प्रारम्भ भई रागबाट नै अन्त्य हुन्छ ।
यो नृत्यमा नेवारी भाषाका शास्त्रीय भजन र आरतीको प्रयोग गरिएको छ । वाद्यवादनमा मृदङ्ग, ता, झ्याली, ढोलकी र मुुहालीको प्रयोग गरेर संगीत सिर्जना गरी यो नृत्य प्रस्तुुत गरिने गरिन्छ । नृत्य सुुरु हुुनुुभन्दा पहिले नर्तकहरु नुुहाएर चोखो वस्त्र लगाउँछन् र नासो द्यो र भैरवलाई धुूप बालेर आस्थापूर्वक भैरव मन्दिरबाट ख्वाःपा (मुकुन्डो) लगाएर नृत्यको लागि तयारी अवस्थामा रहन्छन् । शास्त्रीय भजनमा आधारित भएकोले यो नृत्यमा राग पनि विभिन्न प्रकारका हुन्छन् । नेवारी भाषाका भजन गायनमा आधारित भएर नर्तकहरू नृत्य प्रस्तुत गर्दा जोकोही पनि आह्लादित हुन्छन् ।
ईश्वरको दर्शन, भक्ति र आराधना गर्दै आफ्ना परिवारजनको सुन्दर भविष्यको कल्पना गरी देवताबाट आशीर्वाद लिनु, समाजलाई एकताको सूत्रमा बाँध्नु, अन्याय तथा अत्याचारको सीमा नाघे भयंकर रुप निकाली नाश गर्नुपर्छ भन्ने शिक्षा यो नाचको रहेको छ।





प्रतिक्रिया दिनुहोस