परिवारमा स्वीकार नभएपछि घर छोड्न बाध्य “पारलैंगिक पात्र”
567 Views
काठमाडौँ, २४ चैत खोज मिडिया । तेस्रो लिङ्गि बन्ने कुनै रहर होइन बाध्यता हो । जन्म जात नै उनीहरुको हर्मोनमा महिलालाई पुरुषको हर्मोन र पुरुषलाई महिलाको हर्मोन बढी मात्रामा हुँदा उनीहरु नाचहांदा-नचाहदै पनि तेस्रो लिंगी बन्नुपर्ने बाध्यता सिर्जना हुन्छन् । एकदिन उनलाई उनका बुवाले भनिदिए, “तँ यही रूपमा आउने हो भने म बाँच्नुको अर्थ छैन।” उनले आफ्नो पहिचान छाड्न नसकिए पछि बुवाको घरै छाडिदिइन्। घर मात्र होइन सहकर्मीहरूले खिसीट्युरी गर्न थालेपछि बैंकको जागिर पनि छाडिदिइन्। उनी हरेक वर्ष दिदीहरूका हातबाट भाइटीका लगाउँछिन् तर आफूलाई भाइ मान्दिनन्।
कुरा लैंगिक पहिचानको संघर्षको कथा हो। यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायको कथा श्रृंखलामा रहेकी छिन् जमिन लामा जो आफूलाई पारलैंगिक महिला भनेर चिनाउँछिन्। ललितपुरको एक गाउँमा परिवारको कान्छो सन्तानका रूपमा छोराको शरीर लिएर जन्मेकी थिइन् उनी। तीन जना दिदीपछिका भाइ। आमाबाबु र दिदीहरूमा खुसी छाउनु स्वाभाविकै थियो।
जमिन हुर्किँदै गइन्। शरीर छोराको भए पनि सानैदेखि छोरीको जस्तो स्वभाव थियो। बालख उनलाई आफ्नो आनीबानी र हाउभाउबारे के थाहा र, उनी भन्छिन्, “म केटीको व्यवहार गर्दो रहेछु, मलाई थाहै हुँदैनथ्यो।” बुबाले जमिनलाई स्कुल भर्ना गराए। स्कुलमा केटाहरू मात्र पढ्थे। कक्षामा धेरै केटाहरूमाझ जमिनलाई एक्लो अनुभव हुन्थ्यो। आफ्नो साथी नै नभएजस्तो लाग्थ्यो तर किन यस्तो भएको उनलाई यो पनि थाहा भएन। उनले भनिन् ।
एक दिन जमिन र उनका मामासँग (कोसेली) नामको फिल्म हेर्न गए। फिल्ममा कलाकार सन्तोष पन्तले पारलैंगिक पात्रको भूमिकामा अभिनय गरेका थिए। फिल्म हेरेपछि जमिनलाई आफ्नो दिमागमा केही नयाँ कुरा प्रवेश गरेजस्तो भयो। मेरो शरीर छोराको जस्तो भए पनि खासमा म छोरो मान्छे होइन कि क्या हो जस्तो लाग्न थाल्यो। उनले यो कुरा कसैलाई भन्न सकिनन्। आफूले कुनै भेउ पाउन पनि सकिनन्। “कोसेली” फिल्म हेरेपछि केही नयाँ कुरा थाहा भएजस्तो भयो, उनी भन्छिन्। “म किन केटी मान्छेजस्तो गरिरहेको छु भन्ने चाहिँ थाहा भएन। मैले कसैलाई भन्न पनि सकिनँ।”
उनी केटा मान्छेकै पोशाक लगाउँथिन्। व्यवहार छोरी मान्छेको जस्तो झल्किन्थ्यो । २०५८ सालमा कक्षा दसको विद्यार्थी थिइन्, उनी कक्षाका साथीहरूले आफ्नोबारे कुरा काटेको र टीकाटिप्पणी गरेको थाहा पाइन्। “मेरो मन पूरै केटी नै थियो। लुगा भने केटाको लगाउँथेँ। बाहिर नखुले पनि साथीहरूले केटीजस्तो ठान्दा रहेछन्।” जमिन भन्छिन्!, “स्कुलमा सबैले केटीजस्तै भनेर जिस्क्याउन थालेका थिए। त्यसले मलाई अप्ठ्यारो बनाइदिन्थ्यो।” उनी केटीकै हाउभाउमा केटाप्रति आकर्षित हुन्थिन्। बोलीको शैली पनि केटीकैजस्तो हुन्थ्यो। केटी बन्ने रहर पूरा गर्ने वा म शरीरले केटा भए पनि मनले केटी नै हुँ भन्ने आँट आएन। यतिकैमा स्कुले पढाइ सकियो र उनी कलेज भर्ना भइन्।
यहीँ उनको भेट भयो अमृतसँग। अमृत पनि पारलैंगिक महिला हुन्। जमिन उनलाई आजकाल “शितल ममी” भनेर बोलाउँछिन्। “मैले म केटा नभई केटी हुँ भन्ने थाहा पाएकै “शितल ममी”ले गर्दा हो! उनले भनिन्, कलेज पुरुषको पोशाकमा गए पनि अमृतसँग भेट्दा उनलाई आफू साँच्चै केटी नै हुँ भन्ने अनुभूति हुन्थ्यो। उनी कम्तीमा साताको एक पटक अमृतलाई भेट्न थालिन्। प्रायःजसो शुक्रबारको दिन सँगै हुन्थे। अमृत कोठामा जमिनलाई महिलाका कपडा लगाइदिन्थिन्। ओठमा लाली र आँखामा गाजल लगाएर चिटिक्क पारिदिन्थिन्। एक रात यस्तै श्रृंगार, सिलिक्क नक्कली कपाल र कुर्तासुरूवाल लगाएर उभिइन् जमिन। त्यही बेला अमृतले फोटो खिचिदिएछ्न् ।
तस्बिर खिच्ने बेलाको समय सम्झिँदै जमिनले भनिन्! “अहिलेजस्तो मोबाइलमा फोटो खिच्ने चलन आइसकेको थिएन। मेमोरी कार्डवाला क्यामरा पनि थिएन। रिलवाला क्यामराबाट फोटो खिचेको थियो।” एक सातापछि जमिनको हात परेको त्यो फोटो उनका लागि एकदमै महत्वपूर्ण थियो। उनले यो रूपमा खिचाएको त्यो पहिलो फोटो थियो। यसरी सिँगारिएको पनि पहिलो पटक थियो । यति बेला उनको मन र शरीर ट्वाक्कै मिलेको थियो । यसरी जमिन साताको एक दिन केही घन्टा आफूलाई साँच्चै छोरी अनुभव गर्न थालिन्। अरू बेला त सधैं केटाकै पोशाकमा हिन्थिन्न ।
“म केटा होइन/ केटी हुँ भन्ने थाहा थियो तर खुलेर भन्न सकेकी थिइनँ। यसले मलाई एकदमै उकुसमुकुस बनाउँथ्यो,”। आफ्नो विगत बताउँदै गर्दा जमिनका आँखा रसाएका थिए । “परिवारले मलाई स्वीकार्दैन भन्ने थाहा थियो। यसले गर्दा पनि भित्रको मनजस्तै बाहिर केटी बन्ने आँट आएन। त्यही एक दिनमा चित्त बुझाएर बस्नुपर्यो।” सन् २००६ जनवरी १ को कुरा हो। अंग्रेजी नयाँ वर्ष मनाउन जमिन हिम्मत गरेर महिलाको रूपमा दरबारमार्ग पुगिन्। उनीजस्तै अरू साथीहरू पनि थिए। जमघट राम्रै थियो। जमिनका अनुसार त्यही बेला प्रहरीको एउटा भ्यान आयो। उनीहरूको समूहमा केही सोधपुछ गर्यो र (हिजडा) भनेर अपमान गर्दै अचानक लाठीले हिर्काउन थाल्यो।
“हामी सबै तितरबितर भयौं तर मैले डेग चलिनँ” उनले भनिन्! “प्रहरीको ज्यादतिविरूद्ध निडर भएर आवाज उठाएँ। कुन गल्तीका लागि कुटपिट गरेको हो ? भनेर जवाफ मागेँ। जवाफ नपाएसम्म जहाँ पुर्याए पनि तयार छु भनेँ।” यसो गरेपछि प्रहरी टोली हच्कियो। “हाम्रो कुनै गल्ती नै नभई प्रहरीले हामीमाथि ज्यादति गरेको थियो।” जमिनले त्यो दिनको कुरा सुनाइन्। “मैले निडर भएर अडान राखिरहेँ। अनि टोलीका हाकिमले माफी मागे र गाडी चढेर हुइँकिए।”
उक्त घटनाले सञ्चारमाध्यमहरूमा समाचारको स्थान पायो। समाचारको स्थान मात्र होइन। जमिनले वर्षौंदेखि लुकाउँदै आएको आफ्नो पहिचान पनि सार्वजनिक भयो। उनी पारलैंगिक महिलाका रूपमा चिनिइन्। लुक्दै-छिप्दै आफ्नो वास्तविक पहिचानमा बाँचिरहेकी जमिनले अब लुकाउनु केही थिएन। घरमा भने यसले खैलाबैला नै मच्चायो। तीन छोरीपछि जन्मेका छोरालाई अर्को रूपमा स्वीकार्न परिवार राजी भएन। बुवाले छोरी मानेनन्। दिदीहरू बहिनी मान्न तयार हुन भने सकेनन ।
अन्ततः उनले आफू जन्मे-हुर्केको घर छाडिन्। “बुबाले त मलाई कहिल्यै पनि स्वीकार गर्नु हुन्न। तँ यो घरमा केटीका रूपमा दैलोमा टेकेका दिनदेखि म मरेको हुनेछु भन्नुभएको छ।” जमिनले सुनाइन्! “परिवारमा स्वीकार नभएपछि म घर छोड्न बाध्य भएँ।” अहिले पनि यो अवस्था फेरिएको छैन। कहिलेकाहीँ घर जान्छिन्, तर केटाकै रूपमा। उनका दिदीहरू उनलाई भाइ नै मान्छन्। हरेक वर्ष भाइटीकामा भाइ भनेरै टीका लगाइदिन्छन्।” उनले भने ! “दिदीहरू तँ केटी बनेर आए पनि हाम्रा लागि भाइ नै होस् भन्नुहुन्छ,” उनी भन्छिन्। जमिनले फोटो एउटा किताबमा लुकाएर राखिन्। मौका पार्नासाथ लुकेर हेर्थिन्। खुसीले गदगद हुन्थिन्। घर छाडेपछि पनि उनले आफ्नो पढाइलाई निरन्तरता दिइरहिन्। अहिले उनले स्नातकोत्तर तह पढाइ पूरा गरिसकिन्। यस अवधिमा उनी पारलैंगिक महिलाकै रूपमा चिनिइन्।
उनको कागजी पहिचान भने पुरूषकै थियो/ छ। पुरुष पहिचानमै एउटा बैंकमा जागिरे भएकी थिइन्। काम गर्दै जाँदा उनको महिला पहिचानबारे सहकर्मीहरूले भेउ पाउँदै गए। खासखुस चल्न थाल्यो। खिसीट्युरी गरे। जमिनलाई यो सबै झेल्न मन लागेन। जागिरै छोडिदिइन्। आफ्नो स्वरूप र पहिचानको बेमेल भएकै कारण उनी अहिले आफूलाई बदल्ने प्रयासमा छिन्। शरीर महिलाका रूपमा विकास गर्न हार्मोन प्रयोग गर्दैछिन्। शल्यक्रियाबाट लिंग हटाउन पैसा जम्मा गर्दैछिन्। नागरिकतामा लैंगिक पहिचान पुरुष पनि बदलेर उनी महिला लेखाउन चाहन्छिन्। निवेदन लिएर जिल्ला प्रशासन कार्यालय पुगेकी थिइन्। प्रमुख जिल्ला अधिकारीले शल्यक्रियाको कागजपत्र मागेका छन्। नागरिकतामा लैंगिक पहिचान सच्याउन पनि उनले जतिसक्दो चाँडो शल्यक्रिया गराउनु छ।
“मलाई महिलाकै नाममा नागरिकता बनाउनु छ।” जमिन भन्छिन्! “सिडिओले सर्जरी गरेको सर्टिफिकेट भएपछि बन्छ भनेका छन्। त्यसका लागि पैसा जम्मा गर्दैछु।” आफूले पारलैंगिक महिला पहिचानका लागि जतिसुकै संंघर्ष गर्नु परे पनि यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायप्रतिको दृष्टिकोण सकारात्मक बन्दै गएको उनको अनुभव रहेको छ। उनी चाहन्छिन् ! “मजस्ता पारलैंगिक महिला वा पुरुषको भावना परिवार/ साथीहरू/ समुदाय र राज्यले बुझून्। कसैले पनि अपमान नगरून्।” उनले यसरी आफ्नो संघर्षको कथा सुनाए ।





प्रतिक्रिया दिनुहोस