राष्ट्रिय संगीतकर्मी संघ गण्डकीको ७ औँ साधारणसभा तथा चौथो अधिवेशनको तयारी अन्तिम चरणमा
81 Views
पोखरा । राष्ट्रिय संगीतकर्मी संघ गण्डकी प्रदेशको ७ औँ साधारणसभा तथा चौथो अधिवेशनको तयारी अन्तिम चरणमा पुगेको छ। संघले बिहीबार पोखरामा पत्रकार सम्मेलन आयोजना गरी आगामी शनिबार हुने साधारणसभा तथा अधिवेशनको सम्पूर्ण तयारी लगभग पूरा भएको जानकारी दिएको हो।
अधिवेशनमा गण्डकी प्रदेशका ११ वटै जिल्लाबाट एक सयभन्दा बढी प्रतिनिधिको सहभागिता रहने संघले जनाएको छ। अधिवेशनको उद्घाटन गण्डकी प्रदेश सरकारका कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्री माननीय भिमबहादुर कार्कीले गर्ने कार्यक्रम रहेको छ।
पत्रकार सम्मेलनमा बोल्दै संघका गण्डकी प्रदेश अध्यक्ष रामचन्द्र ढकालले गीत–संगीत कलाकारहरूको मात्र नभई राष्ट्रकै मौलिक सम्पत्ति भएको उल्लेख गर्दै नेपाली लोक संस्कृति, मौलिक लोकभाका तथा परम्परागत बाजाको संरक्षणमा सबै पक्ष जुट्नुपर्ने आवश्यकता औँल्याए।
उनले पछिल्लो समय दोहोरी गीतका नाममा फोहोरीपन बढ्दै गएकोप्रति चिन्ता व्यक्त गर्दै लोक संस्कृतिलाई विकृत बनाउने अधिकार कसैलाई नभएको बताए। “लोक संस्कृति प्रेम, सभ्यता र पहिचानको प्रतीक हो। केही व्यक्तिले लोक परम्परालाई नै बिगार्ने काम गरिरहेका छन्,” अध्यक्ष ढकालले भने, “हामीले मौलिक लोकभाका र परम्परागत बाजाको संरक्षण गर्दै संगीतलाई पर्यटनसँग जोड्ने अभियान सञ्चालन गरेका छौँ।”
अध्यक्ष ढकालले कलाकारहरूले आफ्नो सिर्जनाको उचित रोयल्टी प्राप्त गर्न नसकेको गुनासो गर्दै रोयल्टी व्यवस्थापनमा सुधार आवश्यक रहेको बताए। साथै, पछिल्लो समय मेला–महोत्सवहरू व्यापारिक ठेक्कापट्टाको माध्यम बन्दै गएको आरोप पनि उनले लगाए।
अधिवेशनबाट संघले नयाँ नेतृत्व चयन गर्नेछ। साथै, कार्यक्रममा विभिन्न सांस्कृतिक प्रस्तुति, सम्मान कार्यक्रम तथा भजन, दोहोरी र थाली नाच समेत समावेश गरिने अध्यक्ष ढकालले बताए। संगीत क्षेत्रमा योगदान पुर्याएका व्यक्तित्वहरूको सम्मान तथा स्मरण गरिने उनको भनाइ थियो।
पोखरामा व्यवस्थित संगीत प्रशिक्षण केन्द्रको आवश्यकता औँल्याउँदै अध्यक्ष ढकालले संगीत क्षेत्रलाई व्यवस्थित र व्यवसायिक बनाउन राज्यको विशेष ध्यान आवश्यक रहेको बताए।
कार्यक्रममा राष्ट्रिय संगीतकर्मी संघका केन्द्रीय सदस्य ऋषिराम दाहाल, गण्डकी प्रदेश उपाध्यक्ष लिलाराम पौडेल तथा कास्कीका द्वितीय उपाध्यक्ष सागर कार्कीलगायतले गीत–संगीत क्षेत्रमा देखिएका चुनौती र समाधानका उपायबारे धारणा राखेका थिए।
“हाम्रो कला र संस्कृति गौरवपूर्ण शान, कलाकर्मीको उत्थानका लागि हाम्रो अभियान” भन्ने मूल नाराका साथ क्रियाशील राष्ट्रिय संगीतकर्मी संघले नेपाली लोक संगीत, सुगम संगीत, नृत्य, गायन, वाद्यवादन, अभिनय, लेखन तथा निर्देशन क्षेत्रमा आबद्ध कलाकारहरूलाई एकताबद्ध गर्दै आएको छ।
संघले यसअघि कास्कीको ताङतिङ तथा स्याङजाको सिरुवारीमा संगीत र पर्यटनसम्बन्धी विचार गोष्ठीसमेत आयोजना गरेको जनाएको छ।





प्रतिक्रिया दिनुहोस