नेपालमा मोटोरोलाका दुई नयाँ स्मार्टफोन सार्वजनिक
2 Views
चौधरी ग्रुप अन्तर्गतको सीजी मोबाइल्स ले नेपाली बजारमा मोटोरोलाका दुई नयाँ स्मार्टफोन — मोटो जी०६ पावर र मोटो जी५७ पावर — सार्वजनिक गरेको छ । उत्कृष्ट ब्याट्री क्षमता, आधुनिक प्रविधि, आकर्षक डिजाइन तथा भरपर्दो कार्यसम्पादनलाई प्राथमिकतामा राखेर ल्याइएका यी स्मार्टफोनले नेपालमा मोटोरोलाको प्रवेशसँगै मध्यम मूल्य श्रेणीको स्मार्टफोन बजारलाई अझ प्रतिस्पर्धात्मक बनाउने अपेक्षा कम्पनीले गरेको छ ।
कम्पनीका अनुसार मोटो जी०६ पावर विशेषगरी लामो समयसम्म ब्याट्री टिक्ने स्मार्टफोन खोज्ने प्रयोगकर्तालाई लक्षित गरी निर्माण गरिएको हो । यस स्मार्टफोनमा ७००० एमएएच क्षमताको ब्याट्री उपलब्ध गराइएको छ, जसले एकपटक चार्ज गरेपछि तीन दिनसम्म प्रयोग गर्न सकिने कम्पनीको दाबी छ । फोनमा मिडियाटेक जी८१ एक्स्ट्रिम प्रोसेसर राखिएको छ भने ४ जीबी र्याम तथा १२ जीबीसम्मको र्याम बुस्ट सुविधाले एकैपटक धेरै काम गर्न सहज बनाउने बताइएको छ ।
यसमा ६.८८ इन्चको १२० हर्ज डिस्प्ले, ५० मेगापिक्सेल क्वाड पिक्सेल क्यामेरा तथा डल्बी एटमससहितको स्टेरियो स्पिकर समावेश गरिएको छ । साथै कोर्निङ गोरिल्ला ग्लास ३ सुरक्षा, पानीको छिटाबाट जोगिने आईपी६४ डिजाइन तथा विशेष रंग संयोजनसहितको प्रिमियम भेगन लेदर फिनिसले फोनलाई आकर्षक बनाएको कम्पनीको भनाइ छ । नेपाली बजारमा मोटो जी०६ पावरको मूल्य १८ हजार ९ सय ९९ रुपैयाँ तोकिएको छ ।
त्यसैगरी मोटो जी५७ पावर लाई कम्पनीले नयाँ पुस्ताको कार्यसम्पादन र प्रविधिसहितको स्मार्टफोनका रूपमा प्रस्तुत गरेको छ । यसमा विश्वकै पहिलो स्न्यापड्रागन ६एस जेन ४ प्रोसेसर प्रयोग गरिएको कम्पनीको दाबी छ । फोनमा ८ जीबी र्याम तथा १२८ जीबी स्टोरेज उपलब्ध छ भने र्याम बुस्टमार्फत २४ जीबीसम्म विस्तार गर्न सकिने सुविधा रहेको छ । ७००० एमएएच ब्याट्रीले ६० घण्टासम्म पावर ब्याकअप दिने बताइएको छ ।
फोटोग्राफीका लागि मोटो एआईद्वारा सञ्चालित ५० मेगापिक्सेल सोनी लाइटिया ६०० क्यामेरा समावेश गरिएको छ । साथै ६.७२ इन्च एफएचडी प्लस १२० हर्ज डिस्प्ले, डल्बी एटमससहितको डुअल स्टेरियो स्पिकर, उच्च गुणस्तरको अडियो तथा बास बुस्ट जस्ता सुविधाले मनोरञ्जन अनुभवलाई थप उत्कृष्ट बनाउने कम्पनीले जनाएको छ ।
फोनमा एमआईएल–एसटीडी–८१०एच सैनिक स्तरको सुरक्षा प्रमाणीकरण तथा गोरिल्ला ग्लास ७आई सुरक्षा दिइएको छ । प्रिमियम भेगन लेदर डिजाइनमा उपलब्ध यो स्मार्टफोन एन्ड्रोइड १६ सहित आउनेछ भने एन्ड्रोइड १७ मा स्तरोन्नति तथा ३ वर्षसम्म सुरक्षा अपडेट उपलब्ध गराइने कम्पनीले जानकारी दिएको छ । नेपाली बजारमा मोटो जी५७ पावरको मूल्य ३७ हजार ४ सय ९९ रुपैयाँ निर्धारण गरिएको छ ।
सीजी मोबाइल्सका अनुसार दुवै स्मार्टफोन नेपालभर रहेका आधिकारिक सीजी रिटेल आउटलेट तथा साझेदार स्टोरमार्फत उपलब्ध हुनेछन् । कम्पनीले यी नयाँ स्मार्टफोनमार्फत नेपाली उपभोक्तालाई उत्कृष्ट ब्याट्री क्षमता, आधुनिक प्रविधि तथा प्रिमियम स्मार्टफोन अनुभव प्रदान गर्ने लक्ष्य राखेको जनाएको छ ।





प्रतिक्रिया दिनुहोस