‘फ्री सेक्स’ को बहस र महिलाको विशेष अधिकार
877 Views
काठमाडौँ, १० माघ खोज मिडिया । पत्रकारिता भनेको फगत राजनीतिक परिघटनाको वर्णन मात्र होइन । पत्रकारिताले समाजका सबै खाले बहस र अवयवहरूलाई समेट्न सक्नुपर्छ । समाजमात्र होइन, वातावरण र भूगोल पनि पत्रकारिताको विषयवस्तुभित्रै पर्छ । यही परिधिलाई मध्यनजर गर्दै यहाँ नेपाली समाजमा चल्न थालेको (यौन स्वतन्त्रता भर्सेस अनुशासन) का विषयमा थोरै जानकारी दिएका छन ।
हालै प्रतिनिधिसभाको संसदीय समितिमा लिभिङ टुगेदरका विषयमा छलफल चल्यो । काठमाडौँलगायतका सहरमा पश्चिमी देशमा जस्तै विवाहपूर्व महिला–पुरुष लिभिङ टुगेदरमा बस्न थालेका घ*टना बढेका छन् । लिभिङ टुगेदरमा बसेपछि शारीरिक सम्बन्ध त हुने नै भयो, कतिपयबाट जायजन्मसमेत हुने तर बिहे नगरी पुरुषहरूले महिलालाई छाडिदिएका घ*ट*ना बढ्न थालेपछि यसबारे कानुनको आवश्यकता विधायकहरूले महसुस गर्न थालेको देखिन्छ ।
नेपालमा अहिलेसम्म लिभिङ टुगेदरले कानुनी मान्यता पाएको छैन । आपसी विवाहको बन्धनमा नबाँधिएका महिला र पुरुष सँगै बस्ने उनीहरूको स्वतन्त्रता भएता पनि मन नमिलेर छुटिएको स्थितिमा महिलाले आफू पीडित भएको वा धोका खाएको महसुस गर्नु पूर्वीय समाजमा स्वाभाविकै हो । लिभिङ टुगेदरमा बसेर जतिसुकै आधुनिक देखिन खोजे पनि पश्चिमी सभ्यताको गहिराइमा नेपाली समाज पुगिसकेको छैन ।
उनले आफ्नो तीन–चार वर्ष लामो प्रेम सम्बन्धमा आएको (ब्रेकअप) बारे एक पत्रकारको नाताले यस पङ्क्तिकारलाई सुनाउन र {धोकेबाज}का विरुद्ध समाचार छपाउन चाहेकी रहिछन् । उसमाथि कुनै कानुनी कारबाही गर्न सकिन्छ कि भन्ने पनि उनलाई लागेको रहेछ । केटाले ‘ब्रेकअप’ दिएको झोँक र आवेगमा उसको जीवन बर्बाद पारिदिने, अरूसँग हुने बिहे भाँडिदिने इत्यादि त किशोरीलाई लाग्ने नै भयो ।
यो पङ्क्तिकारले उनलाई सम्झाउने प्रयास गर्यो । तिमीहरूबीच धेरै वर्षको प्रेम सम्बन्ध रहेछ । प्रेममा बदला हुँदैन, त्याग हुन्छ । अहिले उसले तिमीलाई प्रेम गर्न छाड्यो भने पनि तिमीले बदला लिनु उपयुक्त हुँदैन, उसलाई बाई भन्नु र आफ्नो नयाँ जीवनको सुरुआत गर्नु नै प्रेमको नियम हो । किनभने, उसले तिमीलाई बलात्कार गरेको हैन, तिमीहरू राजीखुशीमै एक आपसमा प्रेममा परेका रहेछौ ।
किशोरीले आपत्ति जनाइन् । मजस्ती गाउँबाट अनेकन सपनाहरू बोकेर सहरमा आएकी केटीलाई प्रेमको बहानामा तीन–चार वर्षसम्म ‘युज’ गरेर अहिले यसरी छाड्न मिल्छ ? मेरो यौवन, घरबाट आमाबुवाले पठाएको पढाइ खर्च अनि मेरा सपनाहरू सबै भोग गरेर अहिले धोका दिन मिल्छ ? अनि अहिले बाबुआमाले खोजिदिएकी केटी खोजेर स्वाट्टै अस्ट्रेलिया भाग्न मिल्छ ? के उसबाट ममाथि अन्याय भएन ? प्रेमका नाममा यसरी नारीमाथि अन्याय र अत्याचार गर्न पाइन्छ ? उसले नियोजितरुपमै मलाई ‘युज’ गरेको रहेछ । गाउँबाट आएकी मजस्ती ‘टीन एज’की केटीको मानसिक कमजोरीबाट त्यसले फाइदा उठायो । मेरो कुमारित्व लुट्यो । मेरो पैसासमेत खाइदियो । जीवन बर्बाद पारिदियो र अहिले ऊ नयाँ केटीसँग बिहे गरेर अस्ट्रेलिया जान लागेको छ ।
उनका अनगिन्ती प्रश्नैप्रश्नभित्रबाट एउटा कानुन मिश्रित प्रश्न झर्यो– हामीजस्ता सोझी केटीहरूलाई गहिरो प्रेमजालमा फसाएर धोका दिने कथित मर्दहरूलाई कारबाही गर्ने कुनै कानुन नेपालमा छैन ? कि नारीहरूको कमजोर मनको फाइदा उठाउँदै प्रेमका नाममा जति पनि यौन शोषण गर्न पाइन्छ ?
लिभिङ टुगेदरमा बसेको पार्टनरले छाड्दा ‘धोका’ पाएको महसुस गर्नु वास्तवमा लिभिङ टुगेदर हो कि हैन ? लिभिङ टुगेदरमा बसिसकेपछि बिहे गर्नैपर्ने बाध्यता हुन्छ कि हुँदैन ? बिहे गर्नैपर्ने बाध्यकारी हो भने शुरुमै बिहे गरे भैहाल्यो नि, किन कथित लिभिङ टुगेदरमा बस्ने ? बिहे नगरी लिभिङ टुगेदरमा बसिसकेपछि छुटिन्न पाइन्छ कि पाइन्न ? लिभिङ टुगेदरमा बसेर छुट्टिन चाहनेले निःशुल्क फुर्सद पाउँछ कि क्षतिपूर्ति तिर्नुपर्छ ?
केही वर्षअघि एक किशोरीले यस पङ्क्तिकारलाई फोन गरेर भेट्ने आग्रह गरिन् । बानेश्वरको एक कफीसपमा हाम्रो भेट भयो । उनीसँग मेरो पुरानै परिचय थियो । उनी बाहिरी जिल्लाबाट आएर काठमाडौँमा कलेज पढ्दै थिइन् । आर्थिक अवस्था कमजोर थिएन, बुबाआमाले नै पढाइ खर्च व्यहोरिरहेका थिए ।
यस्ता तमाम प्रश्नहरूको जवाफका लागि हाम्रो पारिवारिक कानुनले बोल्नै पर्ने अवस्था आइसकेको छ । यसअर्थमा संसदीय समितिमा ‘लिभिङ टुगेदर’ बारे कानुनी आवश्यकताका सन्दर्भमा भएको छलफल अति सह्रानीय छ । यस विषयमा संसदीय समितिमा मात्र होइन, राष्ट्रिय रूपमै खुल्ला छलफल र बहस जरुरी छ ।
‘फ्री सेक्स’ को बहस र महिलाको विशेष अधिकार
अहिले सामाजिक सञ्जालमा चलेको बहसलाई हेर्दा नेपाली समाजमा ‘फ्री सेक्स’ अर्थात् यौन स्वच्छन्दतासम्बन्धी बहस निकै चर्कने गरेको देखिन्छ । कोही दुई व्यक्तिबीच विवाहेत्तर यौन सम्बन्धको घटना बाहिर आयो भने समाजमा यस्तैखालका अन्तर्विरोधी प्रतिक्रिया आउने गर्दछन्–
दुई जनाको मन मिलेपछि फरक पर्दैन, अरूलाई किन चासो ? मन मिलुञ्जेल चमत्कार, नमिलेपछि बलात्कार ? केटो त बोको नै रहेछ, मेरो नजरबाट त्यो गिर्यो । केटी पनि उस्तै हो, पहिले आफ्नै सहमतिमा सम्बन्धी राखी, अहिले अन्याय भयो भन्छे । पैसाका लागि आरोप लगाएको हुनुपर्छ । पुरुषले नारीमाथि हिंसा गरेकै हो, यस्ताको लिङ्ग काटिदिनुपर्छ । त्यस्तालाई मी टू मा जाक्नुपर्छ । दुई जनाको सहमतिमा राखिएको सम्बन्ध जायजै हुन्छ । आवेगमा त्यस्तो हुन गएछ, सरी भनेपछि त सक्किगो नि । आदि–इत्यादि ।
विवाहभन्दा पर्तिरको यौनसम्बन्धबारे आउने यस्ता प्रतिक्रियाबाट के बुझ्न सकिन्छ भने ‘फ्री सेक्स’ को बहसलाई नेपाली समाजले समान नजरले हेर्दैन । यसबारे समाजमा फरक बुझाइहरू छन् । यसमा कतिपय बुझाइहरू पुरुषवादी अर्थात् पितृसत्तावादी प्रकृतिका देखिन्छन् । महिलामाथि भएको शोषणलाई सामान्य घटनाका रूपमा सम्झने कमजोरी पुरुषवादीहरूमा पाइन्छ ।
उता, महिला अधिकारकर्मीहरूले भने यो विषयलाई सामान्य रूपमा नलिएर महिला हिंसाका रूपमा लिने गरेको पाइन्छ, जसलाई पुरुषवादी सोचाइभन्दा धेरै नै न्यायपरक र वस्तुपरक मान्न सकिन्छ । किनभने, यौनको मामिला पुरुषभन्दा महिलाका लागि बढी संवेदनशील विषय हो, दुई कारणले– एक नेपाली समाजको विशिष्टता । दुई– महिलाको शारीरिक विशिष्टता ।
नेपाली समाज महिलाका लागि बढी नै सरोकार र चासो राख्ने रुढीवादी समाज हो । दोस्रो ः दुई जनाको यौन सम्बन्धमा तेस्रो पक्ष (जायजन्म) को विषय पनि जोडिएर आउँछ । यसकारण यो विषय महिलाको शारीरिक दायित्व र अधिकारसँग बढी जोडिन जान्छ । यसकारण यौनसम्बन्धको विषयमा पुरुषलाई भन्दा महिलालाई बढी अधिकार र कानुनी संरक्षणको आवश्यकता पर्दछ । यो मामिलामा पुरुषहरूले आफूलाई श्रेष्ठ वा महिलासँग बराबर ठान्नै मिल्दैन । यसमा महिलालाई पुरुषको भन्दा बढी संरक्षण, सुरक्षा र आत्म निर्णयको अधिकार चाहिन्छ । महिला–पुरुषबीचको समानता निरपेक्ष हुँदैन, सापेक्ष हुन्छ, हुनुपर्छ ।
स्थूल कानुन र परिवर्तित समाजको द्वन्द्व,
खुसी प्राप्त गर्नका लागि मानिसले आफ्नो जीवनलाई जटिल हैन, सरल बनाउनुपर्छ । जीवनलाई जति सरल ढंगबाट बुझिन्छ, त्यति नै खुसी प्राप्त हुन्छ । जीवनलाई जस्तै सम्बन्धहरूलाई पनि सरल ढंगबाटै बुझ्न सकियो भने यसबारे धेरै बहस र माथापच्ची गरिराख्नुपर्दैन ।
समाधान सरल छ– कानुनले गर्नु भनेको काम गर्ने । कानुनले गर्नुहुँदैन भनेको विषयमा हात नहाल्ने । जब कानुन सचिन्छ र त्यस्तो व्यवहारले वैधता प्राप्त गर्दछ, त्यसपछि मात्रै त्यस्तो कार्य गरे हुन्छ । जस्तो– लिभिङ टुगेदरले जब कानुनी मान्यता प्राप्त गर्छ, त्यसपछि बस्न सकिन्छ । कानुनले दिँदैन भने प्रेमपछि विवाह, विवाहपछि यौनसम्बन्धको नीति अपनाए कुनै तनाव व्यहोर्नुपर्दैन ।
हाम्रो कानुनले विवाहका लागि निश्चित उमेर तोकेकै छ । त्यसमाथि दायाँ–बायाँ गर्दा कानुनी समस्या आउँछ । कसैसँग जबरजस्ती करणी गर्न पाइँदैन र कसैलाई हिंसाजन्य व्यवहार गर्न पाइँदैन भनेर कानुनले स्पष्टरुपमा भनेकै छ । त्यसलाई उल्लङ्घन गर्दा जिन्दगीमा धेरै मानिसहरूले तनाव भोग्नुपर्ने हुन्छ ।
‘फ्री सेक्स’ अथवा सहमतिमा गरिने यौन सम्बन्धको बहस गर्दै गर्दा हामीले के कुरा बिर्सन हुँदैन भने मुलुकी अपराध संहिता ऐन २०७४ को दफा २१९ ले १८ वर्षभन्दा कम उमेरकी बालिकालाई मञ्जुरी लिएरै भए पनि करणी गरेमा जबरजस्ती करण (बलात्कार) ठहरिने स्पष्ट व्यवस्था गरेको छ ।
दुईजनाको सहमतिमा वा प्रेमको बाहनामा करणी गरेको हुँ, गर्भवती नभएकाले सरी भनेर उसलाई छाडेर अर्की केटीसँग रिलेसनमा बसेको छु भन्न कुनै पुरुषले पाउँदैन । उसले सहमतिमै १८ वर्षभन्दा मुनिकी किशोरीसँग सम्बन्ध राखेको रहेछ भने पनि कानूनले यसलाई ‘फ्री सेक्स’ मान्दैन, बलात्कार नै मान्छ । हो, यहीँनेर छ नेपाली समाज र विद्यमान कानूनबीचको छिद्र ।
१८ वर्षभन्दा कम उमेरकी नारीसँग पुरुषले सहमतिमा समेत यौन सम्बन्ध राख्न नपाउने कानून किन बनेको होला ? के यो कानून ठीक छ ? यस्तो कानूनको उद्देश्य हो– नारीहरुको अस्मिताको संरक्षण र सुरक्षा गर्ने । ‘टीन एज’की किशोरीलाई आफ्नो शरीर र भविश्यबारे आत्मनिर्णय गर्ने परिपक्वता प्राप्त भइसकेको हुँदैन भन्ने यो कानूनको मनसाय देखिन्छ । उनीहरुको शारीरिक र मानसिक विकास राम्रोसित भइसकेको हुँदैन । यस्तो अवस्थामा कुनै पुरुषले सहमति लिएर वा फकाएर उसमाथि शारीरिक खेलवाड नगरोस् भन्नका लागि यस्तो कानूनी संरक्षण गरिएको हुन सक्छ ।
के हामीले १६ वर्षमा नागरिकता बन्छ भन्ने आधारमा १८ वर्षमुनिकी किशोरीले सहमतिमा यौन सम्बन्ध राख्न नपाउने कानून ठीक छैन भन्न मिल्छ ? यो कानूनी प्रावधानले नारीहरुको हितको संरक्षण गरेको छ कि उनीहरुको ‘फ्री सेक्स’ को अधिकारलाई कुण्ठित गरेको छ ? यसमाथिको बहसमा पुरुषहरु उधिएर काम छैन । महिलाहरु नै यो बहसमा सहभागी हुनुपर्छ । महिला अधिकारीकर्मीहरुले नै टुंगो लगाउने विषय हो यो । पुरुषलाई ‘फ्री सेक्स’ चाहियो भन्दैमा महिलाको अधिकार, अस्तित्व र अस्मितामाथि खेलवाड गर्न पाउनुपर्छ भन्न मिल्दैन ।
कानूनले माहिलाहरुको संरक्षण गर्न सक्नुपर्दछ । पारिवारिक एवं यौनसम्बन्धी कानूनहरु महिलामैत्री हुनुपर्छ । अपवादमा कसैले उमेर नपुगी बिहे गर्छन् या किशोरीसँग यौन सम्बन्ध राख्छन् भन्दैमा त्यस्ता अपवादको स्वादका लागि कानून बन्दैन । कानून त आम मानिसका लागि बनेको हुन्छ । यो नै पारिवारिक कानूनको सारवान सिद्धान्त हो ।
मुलुकी संहिताको दफा २१९ (२) बारे गम्भीर सामाजिक बहसको खाँचो छ । आजका मितिसम्म कुनै पनि पुरुषले १८ वर्षभन्दा कम उमेरकी महिलाको शरीरमा खेलवाड गर्छ भने त्यो कानूनतः बलात्कार नै मानिन्छ । दफा २१९(२) नफेरिएसम्म त्यस्तो कार्य बलात्कार नै हो ।
तर, कानूनको चर्चा गर्दा उमेर नपुगी बिहे गर्नेहरुलाई बलात्कारको मुद्दा चलाउने कार्य कत्तिको व्यवहारिक होला ? उमेर नपुगी प्रेममा परेका वा रिलेसनमा रहेकाहरु बीच हुने ‘सहमतिको सम्बन्ध’बारे राज्यले कस्तो नीति अपनाउने ? ‘डिभोर्सी’हरुको सम्बन्ध वा अरुसँग विवाह गरेका जोडीबीचको सहमतिको सम्बन्धलाई कसरी उपचार गर्ने ? यस्ता प्रश्नहरुमाथि पनि गम्भीर बहसको खाँचो देखिन थालेको छ नेपाली समाजमा । किनभने, हामीले कानूनलाई मात्र पछ्यायौं तर, फेरिँदो समाजलाई सम्वोधन गर्न सकेनौं भने कानून कार्यान्वयनमा आउन सक्दैन, कार्यान्वयन नहुने कानूनको आत्मा जीवित रहँदैन ।
विगतको नेपाली समाजमा यौन सम्बन्ध राख्नेहरुलाई अनिवार्यरुपमा बिबाह गराइदिने प्रचलन थियो, अब त्यो उपचारविधि काम नलाग्ने भइसकेको छ । र, यसले के संकेत गर्छ भने कानून र सामाजिक परिवर्तनबीच सामञ्जस्य चाहिन्छ । अहिले लिभिङ टुगेदरको प्रचलन आइसकेपछि त्यसलाई सम्वोधन गर्ने कानूनको खोजी हुनु यही ‘कानून भर्सेस सामाजिक परिवर्तन’को द्वन्द्व हो ।





प्रतिक्रिया दिनुहोस