दक्षिणकाली न.पा. मा सुरु भयो नगर अस्पताल, के-के छन् सेवा सुविधा ?
451 Views
रोमन लामा (क्षितिज)
रामेछाप १४ श्रावण खोज मिडिया। काठमाडौँ जिल्लाको दक्षिणकाली नगरपालिकाले नगर अस्पताल सञ्चालनमा ल्याएको छ । वडा नं १ चाल्नाखेलमा साविकको प्राथमिक स्वास्थ्य केन्द्रलाई स्तरोन्नति गरि १५ शैय्याको अस्पताल सञ्चालनमा आएको हो । नगर अस्पातालको शनिवार नेपाल सरकारका स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री मोहनबहादुर बस्नेतले उद्घाटन गर्नुभएको हो । वि.सं २०७१ देखि प्राथमिक स्वास्थ्य केन्द्रको रुपमा सञ्चालनमा रहेको स्वास्थ्य संस्थालाई १५ शैयामा स्तरोन्नति गरि नगर अस्पताल बनाइएको छ ।
अस्पताल उद्घाटन गर्दै स्वास्थ्य मन्त्री बस्नेतले स्वास्थ्य क्षेत्रको जनशक्तिको अभाव रहेको जानकारी गराउदै नवनिर्मित अस्पतालमा छात्रवृतिका डाक्टर पठाएर भए पनि चिकित्सकको अभाव हुन नदिने बताउनुभयो । उहाँले यो क्षेत्रमा मिर्गौलाका विरामीको संख्या बढेको पाइएकाले तत्कालै डायलासिसका लागि ३ वटा मेसिन तत्काल स्वास्थ्य मन्त्रालयले पठाइदिने बताउनुभयो।
कार्यक्रममा बाग्मती प्रदेशका स्वास्थ्य मन्त्री उत्तम जोशीले दक्षिणकाली नगर अस्पतालको सुधारका निम्ति बाग्मती प्रदेश स्वास्थ्य मन्त्रालयले सधै सहयोग गर्ने बताउनुभयो । चिकित्सा विज्ञान राष्टिय प्रतिष्ठान (न्याम्स) वीर अस्पतालका उपकुलपति प्रा.डा. भुपेन्द्र बस्नेतले न्याम्सले अस्पतालमा विशेषज्ञ सेवा प्रदान गर्न महिनामा १/२ पटक विशेषज्ञ पठाएर भए पनि सेवा दिन आफूले सक्ने सहयोग गर्ने बताउनुभयो । कार्यक्रममा दक्षिणकाली नगरपालिकाका प्रमुख मोहन बस्नेतले जनताको चाहना अनुसार अस्पतालले आफ्ना सेवा सुधार र विस्तार गर्दै लैजाने बताउनु भयो ।
सो कार्यक्रम नेपाल सरकारका मुख्य सचिव बैकुण्ठ अर्याल, नेपाली कांग्रेसका सांसद एवं पूर्व मन्त्री राजेन्द्र केसी,पुर्व मन्त्री दिपक बास्कोटा, ललितपुर महानगरपालिकाका मेयर चिरिवावु महर्जन लगायतले अस्पताल स्तरोन्नति भएकोमा खुशी व्यक्त गर्दै यसको प्रदान गर्ने सेवा गुणस्तरीय हुनु पर्नेमा जोड दिए ।
प्रतिक्रिया दिनुहोस