पहिचान मानवजातिका निम्ति अत्यन्त महत्त्वपूर्ण विषय
336 Views
पहिचान मानवजातिका निम्ति अत्यन्त महत्त्वपूर्ण विषयका रूपमा स्थापित छ । पशुजगत्बाट विकसित भएर स्थापित भएको पहिचान हो— मानव । प्राणीजगत्मा मानवजाति अत्यन्त द्रुत गतिमा विकसित भइरहेको प्राणी हो । मानवजाति खुट्टाले हिँड्ने, हातले काम गर्ने, दिमागले सोच्ने, महिला र पुरुषबीच अत्यन्त सम्मानजनक सम्बन्ध विकसित भएको सामाजिक प्राणी हो । समाजबिना मानवजातिको एक जना सदस्य पनि बाँच्न सक्दैन ।
पृथ्वीमा अनेक किसिमका प्राणी र वनस्पतिसँगै मानवजातिको विकास भएको छ । अहिले मानवजाति सबै किसिमका प्राणी र वनस्पतिको मालिक भएको छ । तर मानवजातिको मालिक अर्को कोही छैन, आफैं हो । मानवजाति समाजमा विकसित भइरहेको अवस्थामा एउटा व्यक्तिले अर्को व्यक्तिलाई, एउटा समूहले अर्को समूहलाई, एउटा समाजले अर्को समाजलाई तथा महिलाले पुरुषलाई, पुरुषले महिलालाई जन्म दिने, हुर्काउने र पालनपोषण गर्नेहरूबीच पहिचानका निम्ति आवश्यकता जन्म्यो र तदनुरूप पहिचान विकसित पनि भयो । अहिले मानव अन्तर्राष्ट्रिय जातिमा विकसित भएको छ । सामाजिक प्राणी भएको नाताले एउटा व्यक्तिले अर्को व्यक्तिलाई चिन्न–जान्न कुनै न कुनै पहिचानको आवश्यकता पर्ने नै भयो । त्यस कालदेखि अहिलेसम्म मानवजातिले विकासका अनेकौं चरण पार गरिसकेको छ । मानवजातिको लाखौं वर्षको ऐतिहासिक विकासक्रममा पहिचानका अनेकौं रूप प्रकट भएका छन् । यस लेखमा यही विषयबारे छलफल गर्न खोजिएको छ ।
जनावरको अवस्थाबाट छुट्टिएपछिको मानवजातिको विकासको अवधि, रुसी वैज्ञानिक अलेक्सैवका अनुसार, २० लाखदेखि अधिकतम ३० लाख वर्षसम्म भएको छ । १० हजार वर्षपहिलेसम्म समाज मातृप्रधान अवस्थामा थियो । अहिले आर्य जाति भनेर चिनिनेहरूका पुर्खाहरूको पहिचान त्यस बेला महामाताहरूको नामबाट गरिन्थ्यो । महामाताहरू एकएक समूहका नायक हुने अवस्थाबाट विकसित भएका थिए । अहिले पनि जानिने अनेक नामका दुर्गा, भगवतीहरू त्यस बेलाका महामाताहरू थिए ।
समाज विकासमा महिला–पुरुष समागम निरन्तर विकसित अवस्थामा देखिएको छ । कुनै बेला हरेक मानव समाजमा उमेर पुगेका सबै पुरुष र सबै महिला एकअर्काका निम्ति कामेच्छा पूरा गर्ने व्यक्तिका रूपमा स्थापित थिए । अर्थात्, सबै पुरुष पति र सबै महिला पत्नी । मानवजातिको विकाससँगै यो पद्धतिमा पनि परिवर्तन र विकास देखा पर्दै गयो । विवाह पद्धतिका धेरै चरण पार गर्दै मानवजाति अहिले एक पत्नी एक पतिको अवस्थामा आइपुगेको छ । यसका साथै परिवारभित्र पहिचानयुक्त अनेकौं सम्बन्ध विकसित भएका छन् । समाजमा अहिले तिनलाई नाता सम्बन्ध भनिन्छ । आदिम मातृप्रधान समाज पितृप्रधान हुँदै अहिले समानताको अवस्थामा विवाह पद्धति विकसित भएको हो । मानवजातिको सबभन्दा तल्लो एकाइका रूपमा परिवार विकसित भएको छ । अनेकौं अध्ययन र वैज्ञानिक अन्वेषणबाट बाबु र आमा दुवैपट्टिका सात पुस्ताभित्र विवाह सम्बन्ध मानव विकासका निम्ति घातक र तदनुरूप गैरकानुनी घोषणा भइसकेको छ । नाता सम्बन्धमा जाँदा आफूलाई जन्म दिने महिला र पुरुष आमा र बाबुको पहिचानमा स्थापित भएका छन् । उनीहरूका छोराछोरी हुँदै नाति–पनाति पहिचानहरू स्थापित भएका छन् । बाबु र आमा दुवैपट्टि हजुरबा र हजुरआमा, आमा र बाबुबाट जन्मेका महिलाहरू दिदी र बहिनी एवं पुरुषहरू दाजु र भाइजस्ता अनेकौं सम्बन्ध विकसित भएका छन् । यी परिवारभित्र विकसित भएका पहिचान हुन् ।
मानवजाति तुलनात्मक रूपमा सबैभन्दा छिटो विकसित भएको सामाजिक प्राणी हो । यसले समाज विकासका अनेकौं चरण पार गर्दै घुमन्ते अवस्थाबाट पशुपालन अवस्थासम्म आइपुग्दा आफ्ना वरिपरि विकसित भइरहेका अनेकौं प्राणीमाथि शक्तिशाली प्रभाव स्थापित गर्न सकेको हो । तर पशुपालन अवस्थादेखि मानवजातिले तीव्र गतिमा आफूलाई विकास गर्दै आइरहेको छ । सुरुदेखि अन्य प्राणीका साथै एउटा मानव समूह र अर्को मानव समूहबीच हुने घातक संघर्षहरूलाई पार गर्दै जित्ने समूहले आफुलाई अगाडि बढाएको छ । सुरुसुरुमा संघर्षमा हार्ने पक्षलाई पूर्ण रूपले समाप्त गरिन्थ्यो । पशुपालन अवस्थाबाट मानवजाति रैथाने बन्न थालेको हो । त्यसपछि मानवजाति कृषि उत्पादनमा प्रवेश गर्यो । त्यहीँदेखि मानव समूहहरूबीच हुने संघर्षमा हार्ने पक्षलाई दास बनाउने चलन सुरु भयो । यो मानवजातिमा उत्पादनका आधारमा वर्ग उत्पत्ति र वर्गसंघर्ष विकासको पहिलो अवस्था थियो । आन्तरिक द्वन्द्वलाई नियन्त्रण गर्न र आफ्नो संरक्षण गर्न राज्यको उत्पत्ति भयो । यसका साथै एउटा राज्य र अर्को राज्यबीच संघर्षपूर्ण सम्बन्धको सुरुआत पनि हुँदै गयो । त्यसपछि समाजमा अनेकौं प्रकारका पहिचान स्थापित हुन थाले ।





प्रतिक्रिया दिनुहोस