ल्वाङले फड्को मार्दा पर्यटकीय गाउँ घलेल प्रचार अभावले ओझेलमा
581 Views
कास्की, २३ चैत ।ग्रामीण परिवेशका गुजुप्प घरहरु । ढुंगाकै छानो, ढुंगाकै पर्खाल, ढुंगाकै आँगन, बाटोभरि ढुंगाका छपनी । छोउँछोउँ लाग्ने नजिकै माछापुच्छ्रे । गाउँमाथि घनाजंगल । फेंदीको मर्दी । अधिकांश गुरुङ जातिसहित केही दलितको बस्ती । यो गाउँ हो, कास्कीको माछापुच्छ्रे गाउँपालिकाका वडा ८ र ९ अन्तर्गतको घलेल गाउँ । घलेल गाउँकी सुनकुमारीले सुरुमा माइक समाउन मानिनन् । पढ्नलेख्न जान्दिनँ भनिन् । गाउँलेले बोल्न भने सिपालु छन् भनेर कर गरे । अघि सरिन् र एउटा तीतो यथार्थ पोखिन्, ‘सँगै सुरु गरेको ल्वाङ अहिले कहाँ पुग्यो, हामी उस्तै ।’ उनको कुरा सुनेर उपस्थित सबै स्तब्ध बने ।
पहिलेको ल्वाङघलेल गाविस, राज्य पुनर्संरचनासँगै नाउँ जसरी मेटियो, त्यसैबेला गाउँको बीच भएर सिदिङ छुने मोटर गुडेपछि यहाँको परम्परागत पर्यटकीय सम्भावना झनै ओझेलियो । ल्वाङ र घलेलका गाउँले आजभन्दा १२ वर्षअघि होम स्टे सुरु गर्दा सँगै तालिम लिएका थिए । टान पोखराले गाउँमा पहिलो पल्ट होम स्टे चलाउन त्यहाँका महिलाहरुलाई तालिम दिएको थियो । पोखरादेखि नजिक र चियाबगानको परिचय बनाएको ल्वाङमा पाहुना भरिभराउ हुँदा त्यही परको घलेलले कमै मात्र पाहुना स्वागत गर्न पाउँछ ।
त्यही कुरालाई घलेल सामुदायिक होम स्टे सचिव सुनकुमारी गुरुङले यथार्थ बताएकी हुन् ।
गुरुङ २०५१ सालमा बिहे भएर घलेल आएकी हुन् । परिवारमा श्रीमान्, २ छोरा र १ छोरी छन् । छोराछोरी हुर्के बढे । सबै पोखरा पढ्छन् । उनको बिहे हुँदा गाउँमा पानीको असाध्यै दुख थियो । बिजुली त धेरैपछि आयो । यतिसम्मकी ट्वाइलेट समेत थिएन । गाउँमा मोटर नआउँदा हेमजाको मिलनचोकदेखि कैयौं पटक हिंडेर आउजाउ गरिन् । तैपनि गाउँले खेतीकिसानीमा रमाउँथे । ट्रेकिङ जानेहरुलाई स्वागत गर्न भ्याइनभ्याइ हुन्थ्यो । धेरैथोरै आम्दानीले गाउँले परिवेश खुब रमाइलो थियो ।
अहिले गाउँको निस्पट्ट अन्धकार चिर्दै झललल बिजुली बल्छ । एक घर, एक धारामा चिसो पानी बग्छ । यातायात सुविधा छँदैछ । पुरानै संरचनाका घरमा पनि आधुनिक चुलोदेखि आधुनिक शौचालय व्यवस्थित छन् । इन्टरनेटका राउटर पालीमा झुण्डाइएको छ । डिस होम घरघरमा छन् । यसो भनौं, गाउँमा आधारभूत सबैखाले सुविधा पुगेको छ । अधिकांश सहरतिर झर्दा थोरै मानिसको मात्र बसोबास छ । विगतमा ४ सय घरधुरी रहेको घलेलमा अहिले एकचौंथाइमात्र घरमा मान्छे बस्छन् । अधिकांश घरमा ताला ठोकिएको छ । अधिकांश भत्किए । गाउँमा बुढाबुढी र केटाकेटीमात्र देखिन्छन् । तन्नेरी त बस्दै बस्दैनन् ।
ल्वाङले फड्को मार्दा पर्यटकीय गाउँ घलेल प्रचार अभावमा ओझेलमा
माछापुच्छे काखमा रहेको अथाह सम्भावनाको यो गाउँ चिनाउने उद्देश्यले चलचित्र पत्रकार संघ नेपाल कास्कीले यहाँ चलचित्र पत्रकारिता कार्यशाला गरेको छ । सो अवसरमा बोल्दै माछापुच्छ्रे वडा ८ अध्यक्ष रामकाजी गुरुङ भन्छन्, “गाउँका हुनेखानेहरु सहरतिर गए, हुँदाखानेहरु गाउँमै छन् । गाउँको प्रचार हुन नसक्दा पछि पर्यो । यत्ति हो मोटरमा हुइँकिने पर्यटकलाई बाई बाई मात्र गर्न पाइन्छ ।”
गाउँपालिका अध्यक्ष मीनबहादुर गुरुङले घलेलको विकासका लागि गाउँपालिकाले सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाए । उनले सहर झरेकालाई अब गाउँ फर्काउने विभिन्न प्याकेज ल्याउने सुनाए ।
गाउँको थाप्लोमा गुफा छ । यसलाई थप व्यवस्थित बनाउन संरचना निर्माण भइरहेको छ । नजिकै तारेवराह मन्दिर यहाँ घुम्न जानेहरुको लागि अर्को आकर्षण हो । माछापुच्छ्रेलाई पृष्ठभूमि पारेर लालीगुराँससँगै टिकटक बनाउनेहरु प्रेमिल जोडी पनि भेटिन्छन् । घलेलमा आत्मीयता, मीठो खाना र सस्तो मूल्य छ । घलेल सामुदायिक होम स्टेजको एकराते प्याकेजअन्तर्गत १ हजारमा खाना, बेड सुविधा र ब्रेकफास्ट पाइन्छ । गाउँलेले पाहुनालाई स्थानीयस्तरमा उब्जेका परिकार खुवाउँछन् । मोही, मकै, कोदो तथा फापरको रोटी, कोदोको रक्सी, लोकल कुखुराको मासु, निहुरो, सिजनका तरकारी लगायत खान पाइन्छ । पञ्चेबाजासहित गाउँलेले पाहुना स्वागत गर्छन् ।
घलेल सामुदायिक होम स्टे अध्यक्ष शान्ति गुरुङका अनुसार ९ घरले होम स्टे चलाएका छन् । एकै दिन ५०/६० जना पाहुना आए पनि सेवा दिन सकिन्छ । शुक्रबार तथा सार्वजनिक बिदाको दिनमा अल्लि मानिस आए पनि बेसिजनमा खासै नआउने सुनकुमारी बताउँछिन् । अरु आम्दानीको स्रोत नभएकोले होम स्टेले धेरैथोरै घरखर्च चलाउन भने सजिलो भएको गाउँलेले बताए । घलेलमा तिमी, टौली, तङ्ग्रा र खोर गाउँ छन् । स्थानीय सुवाश परियारले बाँदरले खेती स्याहार्न नदिने गुनासो गरे ।
जिफान पूर्व अध्यक्ष भोजबहादुर गुरुङ गुरुङ जातिको सभ्यता खास एक्प्लोर नभएको र यहाँको क्राफ्ट बेच्न फिल्म सुटिङमार्फत सहयोग पुग्ने बताउँछन् । चलचित्र पत्रकार संघ नेपाल कास्की अध्यक्ष प्रभु अधिकारीले चलचित्रमार्फत पनि पर्यटन प्रवद्र्धनमा सघाउ पुग्ने भएकोले संघले यहाँ कार्यक्रम ल्याएको बताए । २ दिनसम्म चलेको कार्यशालामा पोखराका विभिन्न संचारमाध्यममा कार्यरत करिब ५० पत्रकारले भाग लिएका थिए । उनीहरुलाई पत्रकार नारायण अमृत, केशवशरण लामिछाने र सुरेश रानाभाटले प्रशिक्षण दिएका थिए ।
गत साता सार्वजनिक भएको २०७८ सालको जनगणनाले सहरी क्षेत्रमा बसोबास गर्नेको संख्या ह्वात्तै बढेको देखाएको छ । अघिल्लो जनगणनामा सहरी क्षेत्रमा १७ प्रतिशत र ग्रामीण भेगमा ८२ प्रतिशत मानिस बसोबास गर्थे । तर यो जनगणनाअनुसार ग्रामीण क्षेत्रमा ३६ प्रतिशत जनसंख्या मात्र बसोबास गर्छन् । अधिक गाउँलेलाई सहर पठाएको घलेल अहिले पर्यटक पर्खाइमा छ ।





प्रतिक्रिया दिनुहोस