भारत जानेको चित्कार “भोको पेटको सवाल छ”
350 Views
काठमाडौं, ८ चैत। गरिबीले सुदूरपश्चिमबाट भारतीय रोजगारीमा जानेको संख्या देशभरमै बढी छ।
यही क्षेत्रबाट देशले दुई-दुई प्रधानमन्त्री र दर्जनौ मन्त्री पाइसकेको पनि भारत जानुपर्ने बाध्यता अन्त्य हुनेमा यहाँबाट मजदुरीका लागि भारत जाँदै गरेकाहरू आशावादी छैनन। विपन्न मजदुरको हितमा काम गर्ने कोही प्रधानमन्त्री नआएको उनीहरू बताउँछन।
जो जतिपटक प्रधानमन्त्री भए पनि भारतमै मजदुरी गएर गुजारा चलाउनुपर्ने बाध्यता उस्तै रहेको धनगढी उपमहानगरपालिका–२ का विष्णु खत्रीले बताए। ‘कोही प्रधानमन्त्री, मन्त्री र मुख्यमन्त्री हुँदैमा हाम्रा दिन फेरिने होइनन्,’ भारत जाने क्रममा त्रिनगर नाकामा भेटिएका उनले भने। १७ वर्षको उमेरदेखि आफूले भारतमा गएर काम गरिरहेको खत्रीले बताए।
रोजगारीका लागि भारत जानेहरूमा सबैभन्दा बढी सुदूरपश्चिमका छन्। अछाम गृहनगर भएका विनोद बुढा, बैतडीका रिजेश जोशी, डोटीका कविराज भट्टलाई सुदूरपश्चिमबाट जो सुकै प्रधानमन्त्री, मन्त्री तथा मुख्यमन्त्री बने पनि उनीहरूलाई स्वदेशमै रोजगारी पाउने आशा छैन्। गरिबीले भारत जानुपर्ने सुदूरपश्चिमेलीको बाध्यता अन्त्यका लागि केही गरेर देखाउने अवसर धेरै नेताले पाएको भारत जानेहरू बताउँछन। ‘सरकारले गरिबलाई हेरेन।
रोजगारी दिएको भए अर्काको देश जानु पर्थेन,’ त्रिनगर नाकामा भेटिएका जोशीपुरका करन विकले भने, ‘अब सरकारले गरिबका लागि केही गर्नुपर्छ।’ सीमामा भेटिएकाहरू सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्रीसँग पनि रुष्ट देखिन्छन। केही स्वरोजगारमूलक कार्यक्रम घोषणा गरे पनि त्यसबाट नेताका आफन्त र कार्यकर्ता मात्र फाइदा लिएका छन्।
जीवनका उर्बर ३० वर्ष भारतमा मजदुरी गरेर बिताएका पदम खनाल (५५) फेरि मुग्लान नभासिने प्रण गर्दैै घर फर्किएका थिए। ढल्कँदो उमेर र बढ्दो शारीरिक कमजोरीले उनलाई यस्तो प्रण गर्न बल दिएको थियो। तर, गाउँमा जीविकाको जोहो हुन नसकेपछि उनको प्रण दुई महिना पनि टिकेन। भारत नगई पेट पाल्नै मुश्किल भएको उनको गुनासो छ। ‘गाउँमा गुजारा गर्ने कुनै विकल्प भेटिएन। आफ्नो खेतीपाती छैन, दाउरा बेचेर गुजारा गर्छु भन्दा पनि पाइनँ। परिवार, केटाकेटी भोकै मार्नुभन्दा भारत फर्किनु नै उपयुक्त लाग्यो।’ नाबालक छोराछोरी र श्रीमती छाडेर भारत जानेको सीमा क्षेत्रमा ताँती नै देख्न सकिन्छ।





प्रतिक्रिया दिनुहोस