बोक्सीबाट सन्तान बचाउन झिझिया नृत्य
740 Views
महिलाको टाउकोमा राखिएको घैंटोको प्वाल गन्न कुनै बोक्सी सफल भएमा नाच्ने महिला ठहरै हुने जनविश्वास रहेको छ । त्यसैले सो घैंटो टाउकोमा राखी जादु टुनामुनाबाट मुक्ति पाउनका लागि परम्परागत रूपमै नृत्य गर्ने गरिन्छ
खोज मिडिया २५ असोज । प्रदेश २ को गाउँ गाउँमा दसैंको बेला झिझियाको निकै आकर्षण देखिएको छ । पूर्णतान्त्रिक विधिअनुसार गरिने यो नृत्यको मिथिलामा आफ्नै महरूव रहेको छ । दसंैमा देवीको स्तुतिका रूपमा यो नृत्य गरिने गरिन्छ । बोक्सीबाट आफ्ना सन्तान र समाजको सुरक्षाका लागि यो नृत्य गरिने गरिएको जनविश्वास रहेको छ ।
यसको बनावट र स्वरूपभित्र जादु, टुनामुना बोक्सी आदिको प्रभावलाई कम गर्न अनुष्ठान प्रारम्भ गरिएको मानिन्छ । बलिरहेको दियो तथा असंख्य प्वाल पारिएको घैंटो त्यसकै नमुना हो । टाउकोमा राखेर नृत्य गर्ने महिलाद्वारा टाउकोको दायाँबायाँ हल्लाइरहने प्रवृत्तिले यसमा निहित विशेष अर्थलाई संकेत गर्दछ । महिलाको टाउकोमा राखिएको घैंटोको प्वाल कुनै बोक्सीले गन्न सफल भएमा नाच्ने महिला ठहरै हुने जनविश्वास रहेको छ ।
त्यसै कारण सो घैंटो टाउकोमा राखी जादु टुनामुनाबाट मुक्ति पाउनका लागि परम्परागत रूपमै नृत्य गरिने गरिन्छ । झिझिया नृत्यको आफ्नै सुर र ताल हुन्छ । त्यो विशेष सुर र तालमा तथा झिझियाको गीतमा झुमी टाउकोमा घैंटो राख्ने महिला चारैतिर फन्को मार्दै नृत्य गर्दै जाँदा अद्भूत वातावरणको निर्माण हुन्छ । नृत्यसँगै गाइने सो गीतमा बोक्सीलाई गाली गरिनुका साथै धम्की समेत दिइने गरिन्छ । बोक्सीको अनैतिक शक्तिको प्रभाव सो गालीले कम हुने गरेको तथा सन्ततिको सुरक्षा हुने जनविश्वास रहेको संस्कृतिविद् डा. रेवतीरमण लाल बताउँछन् ।
झिझिया लोकनृत्य धनुषालगायत महोत्तरी, सिरहा, सर्लाही, बारा, पर्सासहितका जिल्लामा गर्ने गरिन्छ । यो नृत्य भारतीय मिथिला क्षेत्रमा पनि प्रस्तुत गरिन्छ । झिझिया कुनै जाति विशेषको नभई सम्पूर्ण मैथिली समाजको लोकनृत्य हो, जसमा बलिरहेको दियो भएको असंख्य प्वाल पारिएको घैंटो टाउकोमा राखी नृत्य गर्ने गरिन्छ ।





प्रतिक्रिया दिनुहोस