अजय शाही मन्त्री बनेपछि लुम्बिनीमा एमाले र प्रदेश प्रमुखबीच आरोप-प्रत्यारोप
967 Views
लुम्बिनी , खोज मिडिया ३० साउन । आफ्ना सांसदलाई प्रदेशको मन्त्रीको सपथ ग्रहण गराएको भन्दै नेकपा एमाले लुम्बिनी प्रदेशले जारी गरेको विज्ञप्तिप्रति लुम्बिनी प्रदेश प्रमुखको सचिवालयले आपत्ति जनाएको छ। बिहीबार साँझ गठन गरिएको नयाँ सरकारको मन्त्रीमा आफ्ना सांसद अजय शाहीलाई सपथ ग्रहण गराएको भन्दै एमालेले प्रदेश प्रमुखको भूमिकाप्रति प्रश्न उठाउदै विज्ञप्ति जारी गरेको थियो ।
एमालेले नवलपरासीका सांसद शाही सूर्य चिह्नबाट निर्वाचित भएकोले उनलाई चार दलीय गठबन्धनमा सहभागी गराई मन्त्रीको सपथ ग्रहण गराएर प्रदेश प्रमुखले गैरसंवैधानिक र गैरसंसदीय भूमिका निर्वाह गरेको आरोप लगाएको थियो। प्रदेश प्रमुख अमिक शेरचनको सचिवालयले पनि एमाले लुम्बिनी प्रदेशका अध्यक्ष लीला गिरीद्वारा जारी गरिएको उक्त विज्ञप्तिको जवाफ दिँदै आपत्ति जनाएको छ ।
शुक्रबार प्रदेश प्रमुखको निजी सचिवलयका तर्फबाट नारायणप्रसाद आचार्यले जारी गरेको विज्ञप्तिमा एमाले अध्यक्ष लीला गिरीलाई ‘जी’ सम्बोधन गर्दै प्रतिप्रश्न गरिएको छ। सचिवालयबाट जारी गरिएको विज्ञप्तिमा एउटा पार्टीका सदस्यलाई अर्को पार्टीमा सामेल गर्ने र पार्टी परिवर्तन गर्ने गरिएका धेरै उदाहरण रहेको भन्दै त्यसतर्फ ध्यान पुर्याउन गिरीलाई आग्रह गरिएको छ।
*एउटा पार्टीका सदस्यलाई अर्को पार्टीमा सामेल गर्ने र पार्टी परिवर्तन गर्ने गरिएका उदाहरणहरूप्रति पनि लीला गिरी जीको ध्यान नपुगेको हो कि?* भन्दै प्रश्न गरिएको छ।
त्यस्तै सूर्य चिन्हबाट तत्कालीन नेकपाबाट दाङको उपनिर्वाचनमा निर्वाचित सांसद विमला वलीलाई पनि गठबन्धनमा सहभागी गराइएकोप्रति पनि आपत्ति जनाएको छ ।
पार्टी परिवर्तन गर्ने र नगर्ने विषय नि:तान्त राजनीतिक र व्यक्तिहरूको सरोकारको विषयसँग प्रदेश प्रमुखलाई आरोपित गर्नु पूर्वाग्रहको तुच्छ मनोवृत्ति र अति निन्दनीय कार्य भएको विज्ञप्तिमा उल्लेख गरिएको छ। 





प्रतिक्रिया दिनुहोस