रचना मोक्तान तामाङ ‘यात्री’ को ‘थोर्बा दोखाङ’ नामक कविता कृति विमोचन
1505 Views
रोमन लामा
रामेछाप ३० श्रावण खोज मिडिया। साहित्य विधामा केहि वर्ष अघि देखि नै कलम चलाएको अनि पछिल्ला दिनहरुहरुमा चिरपरिचित साहित्यकार तथा लेखक रचना मोक्तान तामाङ ‘यात्री’ को तामाङ भाषामा लिखित कविता कृति ‘थोर्बा दोखाङ’ आज एक कार्यक्रम माझ विमोचन भएको छ।

आज भएको तामाङ डाजाङको २०५ औं साहित्यिक शृङ्खलामा भाषा आयोगका उप सचिव डा. लोकबहादुर लोप्चन, तामाङ लोक सम्राट चन्द्र बहादुर मोक्तान, लेखक ईन्द्र थिङ तामाङ ‘छिन्ताङ’ र तामाङ डाजाङका अध्यक्ष फुल कुमार बम्जनले शनिबार स्वयम्बु बिजेश्वरी स्थित तामाङ कुदापमा विमोचन गरे। विमोचित कृतिमा ५१ ओटा कविता समाहित छन्। प्रगतिशील धारका साहित्य लेखनमा सक्रिय मोक्तानको यो पहिलो कृति हो। पत्रकार तथा समिक्षक मायालु ङेसुरका अनुसार कृतिमा संग सङ्ग्रहित कविताहरू जीवन सङघर्ष, मार्क्सवादी दर्शनको अलावा १० वर्षे जनयुद्ध पछि स्थापित संघीय लोकतान्त्रिक गणतन्त्रपछिका दिनमा जनयुद्धका योद्धाहरूलाई बेवास्ता गरिएको, महिलाका मुद्दाहरू, अन्तरजातिय माया प्रेम, गरिबीका कारण विदेशिने नेपालीले भोग्नु परेका भाषिक समस्या र तामाङ संस्कृतिको सजीव चित्रण रहेको बताइन्।

कविताहरू मार्फत साहित्यकार तथा लेखक मोक्तानले उत्पीडित समुदायको दबिएको आवाजलाई बुलान्दाका साथ उठाएको पनि उल्लेख गरिन्। अर्का समीक्षक तथा चर्चित कवि मुक्तान थेबाले कृतिमा समावेश गरिएका कविताहरूमा तामाङ सौन्दर्यता आएको दावा गरे। उहाँका अनुसार शिल्प र कलाको दृष्टिले केही कविताहरू शक्तिशाली छन् र कविताहरू मार्फत् पहिचान प्राप्तिको सवाल, महिलाको मुद्दा, वर्गीय मुद्दा, इतिहासमा तत्कालीन शासकले तामाङ समुदायमाथि गरेको अन्याय अत्याचारको सशक्त उठान गर्न कवि यात्री सफल भएको बताए। तसर्थ तामाङ राष्ट्रियताको सवाल अझ सशक्त ढंगले भने उठान नभएको समीक्षक मुक्तान बताउँछन्। टिप्पणीकार तथा युवा राजनीतिज्ञ छिन्ताङले रचनाका कविताहरू शक्तिशालीसँगै प्रगतिवादप्रति दृढ रहेको टिप्पणी गरेका छन्।
संग्रहित कविताहरू समाजको प्रतिछाया मात्रै नभइ आन्तरिक राष्ट्रियता कमजोर हुँदा भएको विद्रोहको चेतना भएका छन्। तर, कवितामा तामाङ भाषा संरक्षणको नाममा सन्देशको अस्पष्टता देखिएको बताए। त्यसले कविता अपठनीय हुने उनको मत छ। काभ्रेपलान्चोकको नमोबुद्ध नगरपालिका वडा नं-१ कि साहित्यकार मोक्तान पूर्व जनमुक्ती सेना हुन्। हाल शिक्षण पेसामा रहेकी उनी साहित्यका अनेक विधामा कलम चलाउँछिन्। सोही कारण उनी स्वाभाविक रूपमा परिवर्तनको पक्षमा भएको र कविताहरू विद्रोही चेतयुक्त रहेको तामाङ लोक सम्राट चन्द्रकुमार मोक्तानले बताए।
तामाङ भाषा र शिक्षामा विद्यावारिधी गरेका भाषा आयोगका उपसचिव डा. लोकबहादुर लोप्चनले मोक्तानको तामाङ भाषामा लिखित कविता कृतिले तामाङ भाषालाई समृद्ध बनाउन टेवा पुग्ने बताए। तामाङ विद्यार्थीहरूको बाहुल्यता भएका विद्यालायाहरुमा तामाङ मातृभाषामा पठनपाठन गर्न उक्त कृति सन्दर्भ सामग्री हुने र विश्वविद्यालय तहसम्मै तामाङ भाषा पठनपाठनका लागि आधारशीला हुने बताउँछन्। उनले मोक्तानको कवितामाथि समालोचना गर्ने पनि बताए। आज भएको विमोचन कार्यक्रमसम्बन्धि जानकारी साहित्यकार तथा लेखक रचना मोक्तान तामाङ ‘यात्री’ ले खोज मिडियालाई बताउनु भएको छ।





प्रतिक्रिया दिनुहोस