बेनी अस्पतालमा इन्डोस्कोपी सेवा सुरु
354 Views
बेनी , खोज मिडिया २८ साउन । म्याग्दीको बेनी अस्पतालमा बुधबारदेखि इन्डोस्कोपी सेवा सुरु भएको छ । स्थानीय पूर्वाधार साझेदारी कार्यक्रमअन्तर्गत धवलागिरि गाउँपालिकाले विनियोजन गरेको रु ३० लाख बजेटबाट उपकरण खरिद र पूर्वाधार तयार पारेर उपचारका लागि अत्यावश्यक मानिने इन्डोस्कोपी सेवा सुरु गरिएको अस्पताल व्यवस्थापन समितिले जनाएको छ ।
प्रतिनिधिसभा सदस्य भूपेन्द्रबहादुर थापाको सिफारिसमा गत आर्थिक वर्षमा धवलागिरि गाउँपालिकामार्फत बेनी अस्पतालको सेवा विस्तारका लागि सो बजेट विनियोजन भएको थियो । समितिका अध्यक्ष बेलबहादुर कटुवालले इन्डोस्कोपी सेवा सञ्चालनसँगै यसका लागि जिल्ला बाहिर जानुपर्ने बाध्यता हट्ने बताए ।
(सीमित पूर्वाधार र जनशक्तिका बीच पनि अस्पतालको सेवा विस्तारलाई निरन्तरता दिएका छौँ), उनले भने! (इन्डोस्कोपी सेवा सुरु भएपछि बिरामीको उपचार थप प्रभावकारी र सहज हुन्छ ।) यसअघि इन्डोस्कोपी गर्नुपर्ने बिरामीलाई पोखरा सिफारिस गरिँदै आएको थियो ।
इन्डोस्कोपी गर्दा शरीरमा पातलो नली राखेर शरीरभित्रका अङ्गमा परेको असरलाई क्यामेराको माध्यमबाट मोनिटरमा हेरी बिरामीको समस्या पहिचान गर्न सजिलो हुन्छ । गलाको समस्या, आन्द्रा सुन्निने, पित्तथैलीमा पत्थरी, पेटको अल्सर, दिसा पिसाबबाट रगत बग्ने, गर्भावस्थामा समस्या देखिए, शल्यक्रिया गर्नु अगाडि र अन्य समस्या देखिएमा इन्डोस्कोपी गरिन्छ ।
भिडियो एक्सरेबाट पत्ता लाग्न नसकेको समस्यालाई करिब पाँचदेखि १० मिनेट इन्डोस्कोपी गरेपछि आउने सूचनाका आधारमा चिकित्सकले उपचार प्रक्रिया अघि बढाउँछन् । विसं २०७२ मा १५ बाट ५० शय्या क्षमतामा स्तरोन्नति भएको बेनी अस्पतालले पछिल्ला केही वर्षयता उपकरण र उपचार सेवा थप गर्दै गएको छ ।





प्रतिक्रिया दिनुहोस