एनएफपिजे गोरखाको नेतृत्वमा कैलासबाबू श्रेष्ठ, फोटो पत्रकारिता सशक्त बनाउने प्रतिबद्धता
58 Views
गोरखा । राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपिजे) नेपाल, गोरखा जिल्ला समितिको अध्यक्षमा कैलासबाबू श्रेष्ठ सर्वसम्मत रूपमा चयन हुनुभएको छ। सदरमुकाममा सम्पन्न दोस्रो जिल्ला भेलाले नयाँ नेतृत्व चयन गर्दै आगामी कार्यदिशासमेत तय गरेको हो।
नवगठित सात सदस्यीय कार्यसमितिको उपाध्यक्षमा विकास मरहट्ठा, सचिवमा मेलिना बराम, कोषाध्यक्षमा अस्मिता सिम्खडा तथा सदस्यहरूमा दीपक श्रेष्ठ, सुदीप श्रेष्ठ र विराज त्रिपाठी चयन हुनुभएको छ।
भेला एनएफपिजे नेपालका केन्द्रीय अध्यक्ष प्रदीपराज वन्त को प्रमुख आतिथ्यमा सम्पन्न भएको थियो। कार्यक्रममा समूहका केन्द्रीय वरिष्ठ उपाध्यक्ष सागर श्रेष्ठ, नेपाल पत्रकार महासङ्घ गोरखा शाखाका अध्यक्ष नरेन्द्र ढकाल, पूर्व अध्यक्ष भिमलाल श्रेष्ठ लगायत सञ्चारकर्मीहरूको उपस्थिति रहेको थियो।
भेलामा सहभागी फोटो पत्रकारहरूले बदलिँदो डिजिटल परिवेशमा फोटो पत्रकारिताको भूमिका थप प्रभावशाली बन्दै गएको उल्लेख गर्दै दृश्य सामग्रीको विश्वसनीयता, गुणस्तर र पेशागत सुरक्षाका विषयमा जोड दिएका थिए। साथै, जिल्लामा क्रियाशील फोटो पत्रकारहरूको क्षमता विकास, संगठन विस्तार र पेशागत अधिकार संरक्षणलाई थप प्रभावकारी बनाउने विषयमा पनि छलफल भएको थियो।
कार्यक्रमलाई सम्बोधन गर्दै केन्द्रीय अध्यक्ष वन्तले फोटो पत्रकारहरूको एकता, पेशागत मर्यादा र प्रविधिमैत्री सीप विकासलाई संगठनको मुख्य प्राथमिकता बनाइएको बताउनुभयो। उहाँले एनएफपिजे नेपाल देशभरका फोटो पत्रकारहरूको साझा मञ्चका रूपमा स्थापित भई उनीहरूको हकहित र पेशागत उन्नयनका लागि निरन्तर सक्रिय रहेको धारणा व्यक्त गर्नुभयो।
भेलाले आगामी दिनमा गोरखामा फोटो पत्रकारिता सम्बन्धी तालिम, अन्तरक्रिया, फोटो प्रदर्शनी तथा विभिन्न क्षमता अभिवृद्धि कार्यक्रम सञ्चालन गर्दै फोटो पत्रकारिताको क्षेत्रलाई थप सशक्त बनाउने प्रतिबद्धता समेत व्यक्त गरेको छ।





प्रतिक्रिया दिनुहोस