एस.ई.ई. उत्तीर्ण कस्केली तामाङ विद्यार्थी सम्मान तथा प्रशिक्षण कार्यक्रम सम्पन्न
140 Views
पोखरा । नेपाल तामाङ घेदुङ जिल्ला समन्वय समिति कास्कीको आयोजनामा एस.ई.ई. परीक्षा उत्तीर्ण कास्कीका तामाङ विद्यार्थीहरूको सम्मान तथा प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रम नेपाल तामाङ घेदुङका केन्द्रीय पूर्वअध्यक्ष धनप्रसाद डुम्जन तामाङ को प्रमुख आतिथ्यता तथा जिल्ला समन्वय समिति कास्कीकी अध्यक्ष मिनमाया डुम्जन तामाङ को अध्यक्षतामा २०८३ जेठ ३० गते शनिबार पोखरा–१४, चाउथेस्थित संस्थाको सभाहलमा सम्पन्न भएको हो।
कार्यक्रममा कास्की जिल्लाका विभिन्न विद्यालयबाट एस.ई.ई. परीक्षा उत्तीर्ण ५६ जना तामाङ विद्यार्थीलाई सम्मान गरिएको थियो। सम्मानित विद्यार्थीहरूलाई बधाई तथा शुभकामना व्यक्त गर्दै प्रमुख अतिथि धनप्रसाद डुम्जन तामाङले उच्च शिक्षाको यात्रामा प्रवेश गरेका विद्यार्थीहरूलाई अध्ययनसँगै समुदायप्रति जिम्मेवार बन्न आग्रह गर्नुभयो।
उहाँले तामाङ विद्यार्थीहरू केवल व्यक्तिगत सफलतामा सीमित नहुने उल्लेख गर्दै समाज, समुदाय र राष्ट्रप्रति थप जिम्मेवारी बोकेको बताउनुभयो। तामाङ समुदायले शिक्षा, राजनीति, राज्य सञ्चालन, सूचना–प्रविधि तथा समृद्धिका क्षेत्रमा आफ्नो उपस्थिति बलियो बनाउनुपर्ने आवश्यकता औंल्याउँदै उहाँले ज्ञान, सीप र क्षमतामार्फत समुदायको समग्र उन्नयनमा योगदान दिनुपर्ने धारणा व्यक्त गर्नुभयो।
उहाँले वर्तमान विश्व परिवेशमा नवीन सोच, सिर्जनशीलता र दक्षताका माध्यमबाट प्रतिस्पर्धात्मक क्षमता विकास गर्नुपर्ने बताउँदै तामाङ समुदायको मौलिक ज्ञान, संस्कृति र विश्वदृष्टिकोणलाई आधुनिक शिक्षासँग जोड्दै अगाडि बढ्नुपर्नेमा जोड दिनुभयो। शिक्षा नै समुदायको सशक्तीकरण र नेतृत्व विकासको आधार भएको उल्लेख गर्दै विद्यार्थीहरूलाई आफ्नो प्रतिभा राष्ट्र निर्माणमा उपयोग गर्न प्रेरित गर्नुभयो।
यसै अवसरमा हालै सम्पन्न नेपाल तामाङ घेदुङको ऐतिहासिक दशौं संघीय महाधिवेशनबाट निर्वाचित कास्कीका तामाङ नेताहरू संघीय सचिव सुन्दर थोकर तामाङ तथा संघीय सदस्यहरू भक्त बहादुर डुम्जन तामाङ र जसपाल पाख्रिन तामाङ लाई बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गरिएको थियो।
कार्यक्रममा प्रशिक्षकका रूपमा नेपाल तामाङ घेदुङका संघीय निवर्तमान उपाध्यक्ष दिपक वाइबा तामाङ ले संस्थागत नेतृत्व, संगठन सञ्चालन, पदाधिकारीहरूको भूमिका, जिम्मेवारी तथा क्षेत्राधिकारका विषयमा प्रशिक्षण दिनुभएको थियो। उहाँले संस्था व्यवस्थित, पारदर्शी र प्रभावकारी रूपमा सञ्चालन गर्न संगठनात्मक संरचना तथा कार्यविधिको स्पष्ट ज्ञान आवश्यक रहेको बताउनुभयो।
त्यसैगरी साहित्यकार तथा शिक्षासेवी तीर्थ तामाङ र नेपाल तामाङ घेदुङ पोखरा महानगर समितिकी अध्यक्ष अन्जना डुम्जन तामाङ ले विद्यार्थीहरूको उज्ज्वल भविष्यको कामना गर्दै शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो।
कार्यक्रममा संस्थाका उपाध्यक्ष ऋतुनन्द थोकर तामाङ ले स्वागत मन्तव्य राख्नुभएको थियो भने सञ्चालन संस्थाकी सचिव योगिता तामाङ ले गर्नुभएको थियो।
संस्थाको आफ्नै भवनमा सम्पन्न उक्त कार्यक्रममा सम्मानित विद्यार्थी, अभिभावक तथा समुदायका अगुवासहित करिब २०० जनाको सहभागिता रहेको आयोजकले जनाएको छ। कार्यक्रमले तामाङ समुदायमा शैक्षिक चेतना अभिवृद्धि गर्नुका साथै नयाँ पुस्तालाई नेतृत्व, व्यक्तित्व विकास र सामुदायिक उत्तरदायित्वप्रति प्रेरित गर्ने विश्वास व्यक्त गरिएको छ।





प्रतिक्रिया दिनुहोस