तामाङ मौलिक कला संरक्षणका लागि ‘तामाङ टिकटक फापारे हवाई प्रतियोगिता २०८३’ आयोजना हुने
178 Views
काठमाडौं । तामाङ समुदायको मौलिक कला, भाषा, संस्कृति तथा परम्परागत फापारे हवाईको संरक्षण, प्रवर्द्धन र पुस्तान्तरण गर्ने उद्देश्यका साथ ‘तामाङ टिकटक फापारे हवाई प्रतियोगिता २०८३’ आयोजना हुने भएको छ।
आयोजक टिमका अनुसार प्रतियोगिता असार १५ गतेदेखि सुरु भई असार मसान्तसम्म सञ्चालन हुनेछ। प्रतियोगिता टिकटक लाइभमार्फत प्रत्यक्ष प्रसारण गरिनेछ भने हरेक दिन नेपालको समयअनुसार बेलुकी ८ बजेदेखि ११ बजेसम्म कार्यक्रम सञ्चालन हुने जनाइएको छ।
तामाङ समुदायमा प्रचलित फापारे हवाई बिना बाजा, बिना संगीत उपकरण स्वर र लयको माध्यमबाट गाइने मौलिक लोकगायन शैली हो। विशेषगरी जात्रा, मेला, सांस्कृतिक उत्सव तथा सामुदायिक जमघटहरूमा पुरुष र महिलाबीच सवाल–जवाफको शैलीमा गाइने यो गीत तामाङ समुदायको सांस्कृतिक पहिचानसँग गहिरो रूपमा जोडिएको छ। पुस्तौंदेखि मौखिक रूपमा हस्तान्तरण हुँदै आएको फापारे हवाईले तामाङ भाषा, संस्कार, प्रेम, प्रकृति र सामाजिक जीवनका विविध पक्षलाई अभिव्यक्त गर्ने गर्दछ। पछिल्लो समय आधुनिकताको प्रभावसँगै यस्ता मौलिक सांस्कृतिक विधा ओझेलमा पर्ने खतरा बढिरहेका बेला प्रतियोगिताले नयाँ पुस्तामा यसको महत्वबारे जागरण ल्याउने विश्वास गरिएको छ।
‘तामाङ टिकटक फापारे हवाई प्रतियोगिता २०८३’ शीर्षकमा आयोजना हुने उक्त प्रतियोगितामा मौलिक फापारे हवाई गाउन सक्ने तथा यस विधामा रुचि राख्ने सम्पूर्ण प्रतियोगीहरूले सहभागिता जनाउन सक्ने आयोजकले जनाएको छ। प्रतियोगिता तामाङ मौलिक सांस्कृतिक पहिचान र परम्परागत प्रस्तुतिमा आधारित रहने बताइएको छ।
प्रतियोगिताको निर्णायक मण्डलमा सुनिता बल र जङ्ग घिसिङ रहेका छन्। कार्यक्रम सञ्चालन सन्ध्या सुस्केरा मोक्तान तामाङ तथा माया स्याङ्तान तामाङले गर्नेछन्। प्रेम योन्जनको प्रमुख आतिथ्यमा सम्पन्न हुने कार्यक्रममा प्रेम घिसिङ, फूलकुमार बम्जन र कविता थोकर विशेष अतिथिका रूपमा सहभागी रहने जनाइएको छ।
प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने प्रतियोगीहरूलाई आकर्षक नगद पुरस्कारको व्यवस्था गरिएको छ। प्रथम हुने प्रतियोगीले २० हजार रुपैयाँ, दोस्रो हुनेले १५ हजार रुपैयाँ, तेस्रो हुनेले १० हजार रुपैयाँ तथा चौथो हुनेले ५ हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गर्नेछन्।
आयोजकले तामाङ समुदायका कलाकार, युवा तथा फापारे हवाईप्रेमी सम्पूर्णलाई प्रतियोगितामा सक्रिय सहभागिता जनाई आफ्नो मौलिक सांस्कृतिक सम्पदाको संरक्षण र प्रवर्द्धनमा योगदान पुर्याउन आग्रह गरेको छ। प्रतियोगिताले तामाङ समुदायको मौलिक कला र सांस्कृतिक पहिचानलाई डिजिटल माध्यममार्फत विश्वभर परिचित गराउन महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ।





प्रतिक्रिया दिनुहोस