नेपाल तामाङ घेदुङको नयाँ नेतृत्व चयन, रामकृष्ण ब्लोन तामाङ अध्यक्षमा निर्वाचित
155 Views
काठमाडौं। नेपाल तामाङ घेदुङ को दशौँ संघीय महाधिवेशनअन्तर्गत सम्पन्न निर्वाचनबाट नयाँ कार्यसमिति चयन भएको छ । पाँच जना अध्यक्ष पदका उम्मेदवारबीच भएको प्रतिस्पर्धामा रामकृष्ण ब्लोन तामाङ ३०६ मतसहित विजयी हुँदै अध्यक्षमा निर्वाचित भएका हुन् ।
उनका निकटतम प्रतिस्पर्धी अमिर लामा मोक्तानले ३२ मत प्राप्त गर्दा कुमार सिंह घिसिङले ९८, मानबहादुर तामाङले २७ तथा मित्रसेन योन्जनले ५९ मत प्राप्त गरेका थिए । निर्वाचन मण्डलले महाधिवेशनको अन्तिम मतपरिणाम मध्यरातमा सार्वजनिक गरेको हो ।
जेठ १ देखि ३ गतेसम्म काठमाडौं मा सम्पन्न महाधिवेशनबाट सहअध्यक्ष पदमा सरोजमोहन लामा निर्विरोध निर्वाचित भएका छन् । वरिष्ठ उपाध्यक्ष पदमा सञ्चु ब्लोन तामाङ ३६० मतसहित विजयी हुँदा प्रतिस्पर्धी हरिजाङ तामाङले १३२ मत प्राप्त गरेका थिए ।
पाँच खुल्ला उपाध्यक्ष पदका लागि १२ जना उम्मेदवारबीच प्रतिस्पर्धा भएको थियो । जसअन्तर्गत काजिमान थिङ, रुपबहादुर योन्जन, दिनेश कुमार लो, प्रेम लो तामाङ तथा पासाङदोर्जे लामा विजयी भएका छन् । महिला उपाध्यक्ष पदमा दिना लामा र विना मम्बा तामाङ निर्वाचित भएका छन् ।
महासचिव पदमा लिलाकुमार घलान निर्विरोध निर्वाचित भएका छन् भने उपमहासचिव (खुल्ला) तर्फ निर्मलबहादुर तामाङ र बिलाम मुक्तान तथा उपमहासचिव (महिला) मा श्रमिक लामा निर्विरोध चयन भएका छन् ।
सचिव पदमा सुनिल मोक्तान, सुन्दर थोकर तामाङ र हिरालाल तामाङ विजयी भएका छन् । सचिव (महिला) तर्फ उषा वाइबा र संगीता तामाङ पाख्रिन निर्वाचित भएका छन् । कोषाध्यक्ष पदमा तिर्थमान बल तथा सहकोषाध्यक्ष पदमा सिता चोदेन तामाङ निर्विरोध निर्वाचित भएका छन् ।
प्रदेशगत संघीय सदस्यतर्फ पनि विभिन्न प्रदेशबाट प्रतिनिधिहरू निर्वाचित भएका छन् । प्रदेश नं. १, मधेश, बागमती, गण्डकी, सुदूरपश्चिम तथा प्रवास शाखाबाट सदस्यहरू चयन भएका छन् भने लुम्बिनी र कर्णाली प्रदेशबाट कुनै पनि पदमा उम्मेदवारी नपरेको निर्वाचन मण्डलका आयुक्त कुमार ब्लोनले जानकारी दिएका छन् ।
बागमती प्रदेशमा सबैभन्दा बढी प्रतिस्पर्धा देखिएको थियो । १४ खुल्ला सदस्य पदका लागि २० जना उम्मेदवार मैदानमा उत्रिएका थिए । प्रतिस्पर्धापछि विभिन्न उम्मेदवार निर्वाचित भएका छन् भने महिलातर्फका सदस्यहरू निर्विरोध चयन भएका छन् ।
महाधिवेशनबाट निर्वाचित पदाधिकारी तथा सदस्यहरूले पद तथा गोपनीयताको शपथसमेत ग्रहण गरेका छन् । नयाँ नेतृत्वले आगामी कार्यकालमा तामाङ समुदायको भाषा, कला, संस्कृति, पहिचान तथा अधिकारका सवाललाई थप प्रभावकारी रूपमा अघि बढाउने अपेक्षा गरिएको छ ।





प्रतिक्रिया दिनुहोस