बुद्ध जयन्तीको दिन पेमा धेछेनलिङ गुम्बामा धार्मिक तथा आध्यात्मिक कार्यक्रम
64 Views
पोखरा, कास्की । विश्वभरका बौद्ध धर्मावलम्बीहरूका लागि अत्यन्त महत्वपूर्ण तथा पवित्र पर्वका रूपमा मनाइने बुद्ध जयन्ती यस वर्ष पनि पोखरास्थित पेमा धेछेनलिङ गुम्बामा विशेष कार्यक्रमसहित मनाइने भएको छ। वैशाख पूर्णिमाको पावन अवसर पारेर मनाइने यस पर्वले सिद्धार्थ गौतम बुद्धको जन्म, बोधि (ज्ञान प्राप्ति) र महापरिनिर्वाण जस्ता तीन महत्वपूर्ण घटनाहरूको स्मरण गराउँछ।
बुद्ध जयन्तीले मानव जीवनमा शान्ति, करुणा, सहिष्णुता र अहिंसाको सन्देश फैलाउने विश्वास गरिन्छ। भगवान बुद्धले प्रतिपादन गर्नुभएको चार आर्य सत्य—दुःख, दुःखको कारण, दुःखको अन्त्य र दुःख निवारणको मार्ग आजको आधुनिक विश्वमा पनि उत्तिकै सान्दर्भिक रहेको छ। उनका उपदेशहरूले लोभ, क्रोध र मोहबाट मुक्त भई सत्य र धर्मको मार्गमा हिँड्न प्रेरित गर्ने भएकाले बुद्ध दर्शनको महत्व झन् बढ्दो छ।
नेपालको लुम्बिनीमा जन्मनुभएका सिद्धार्थ गौतम बुद्धको स्मृतिमा आयोजना गरिने यस वर्षको २५७०औँ बुद्ध जयन्ती कार्यक्रम पोखरा महानगरपालिका–६, सितलवन, खहरेस्थित पेमा धेछेनलिङ गुम्बामा वैशाख १८ गते शुक्रबार हुने आयोजकले जनाएको छ।
कार्यक्रममा नेपाल तामाङ लामा घेदुङका संघीय अध्यक्ष गुरु पाल्देन योञ्जन तामाङको प्रमुख धार्मिक प्रवचन रहनेछ। उहाँले बुद्ध धर्मको उत्पत्ति, यसको महत्व तथा वर्तमान विश्व परिवेशमा मानव जातिले शान्ति कसरी प्राप्त गर्न सक्छ भन्ने विषयमा प्रकाश पार्नुहुनेछ।
त्यसैगरी, पातञ्जल योग समिति नेपालका केन्द्रीय उपाध्यक्ष तथा गण्डकी प्रदेश प्रमुख योग गुरु कमला गुरुङद्वारा “स्वस्थ, सुखी र सन्तुलित जीवन” विषयमा विशेष आध्यात्मिक प्रवचन प्रस्तुत गरिने कार्यक्रम रहेको छ।
कार्यक्रम तालिका अनुसार:
बिहान ६:०० बजे — पूजा तथा बत्ती बाल्ने
बिहान ७:०० बजे — अतिथि तथा भक्तजन स्वागत
बिहान ७:१५ बजे — योग गुरु कमला गुरुङद्वारा आध्यात्मिक प्रवचन
बिहान ७:४५ बजे — औपचारिक कार्यक्रम उद्घाटन
बिहान ८:०० बजे — गुरु पाल्देन योञ्जन तामाङद्वारा धार्मिक प्रवचन
बिहान ९:३० बजे — प्रसाद ग्रहण
बिहान ११:०० बजेसम्म — कार्यक्रम समापन
कार्यक्रममा विभिन्न विशिष्ट अतिथिहरूको उपस्थिति रहने तथा शुभकामना मन्तव्यसमेत प्रस्तुत गरिने जनाइएको छ।
पेमा धेछेनलिङ गुम्बाका प्रमुख लामा पाल्देन योञ्जन तामाङ तथा बैदाम तामाङ सेवा समाजका अध्यक्ष ज्याक तामाङको संयोजनमा आयोजना हुने यस कार्यक्रममा सम्पूर्ण धर्मावलम्बी तथा श्रद्धालुहरूलाई उपस्थित भई पुण्य लाभ लिन आयोजकले हार्दिक निमन्त्रणा गरेको छ।
आयोजकका अनुसार, बुद्ध जयन्ती जस्तो पवित्र पर्वले समाजमा आपसी सद्भाव, शान्ति र सहिष्णुताको भावना अभिवृद्धि गर्न महत्वपूर्ण योगदान पुर्याउने विश्वास लिइएको छ।





प्रतिक्रिया दिनुहोस