जीवन बिस्टले समानुपातिक सूचीबाट नाम फिर्ता लिए, पूर्ण लिम्बुलाई सिफारिस गर्न आग्रह
266 Views
काठमाडौं । हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीभित्र समानुपातिक उम्मेदवारको नाम पठाउने विषयले विवाद र असन्तुष्टि देखिएको बेला नेता जीवन बिस्टले आफ्नो नाम समानुपातिक बन्दसूचीबाट फिर्ता लिएको घोषणा गरेका छन्।
पार्टीभित्र कसलाई समानुपातिकतर्फ पठाउने भन्ने विषयमा सामाजिक सञ्जाल र कार्यकर्ताबीच बहस चर्किरहेका बेला बिस्टले फेसबुकमार्फत लामो स्टाटस लेख्दै पदका लागि हुने किचलोमा आफू नलाग्ने बताएका हुन्।
उनले लेखेका छन्, “यो समय लोभी, पापी र अवसरवादी सोचबाट ग्रसित भई एकथान पदका लागि झगडा गर्दै हिँड्ने समय होइन।” अध्यक्ष हर्क साम्पाङ र पार्टीप्रति विश्वास गरेर मत दिएका मतदाताको सम्मान गर्दै आफूले समानुपातिक सूचीबाट नाम फिर्ता लिने निर्णय गरेको उनले बताएका छन्।
बिस्टले श्रम संस्कृति पार्टीमा अवसरवादी मात्र नभई त्याग गर्न सक्ने संस्कारी व्यक्तिहरू पनि छन् भन्ने उदाहरण स्थापित गर्न आफूले यस्तो निर्णय लिएको उल्लेख गरेका छन्।
साथै उनले विश्वभर साहस र वीरताको परिचय दिएका गोर्खा लाहुरे समुदायको सम्मान गर्दै संसदमा उक्त समुदायको प्रतिनिधित्व हुनुपर्ने धारणा व्यक्त गरेका छन्। पुरुषतर्फबाट एकजनामात्र प्रतिनिधित्व हुने स्थानमा पूर्व भूपू सैनिक पूर्ण लिम्बुलाई माननीयका रूपमा बन्दसूचीमा समावेश गर्न पार्टी नेतृत्वलाई आग्रह समेत गरेका छन्।
बिस्टले पार्टीका अन्य समानुपातिक उम्मेदवारहरूलाई पनि व्यक्तिगत स्वार्थभन्दा पार्टी र देशलाई प्राथमिकता दिनुपर्ने समय आएको बताएका छन्।
आफ्नो व्यक्तिगत जीवनका चुनौतीहरू उल्लेख गर्दै उनले पाँचपटक आँखा शल्यक्रिया गर्नुपरेको, चुनावकै क्रममा सासुआमालाई क्यान्सर भएको र त्यसको जिम्मेवारी आफूले सम्हालिरहेको बताए। पत्रकारिता पेशा छोडेर देश परिवर्तनको लक्ष्यसहित राजनीतिमा लागेको बताउँदै उनले पारिवारिक आर्थिक चुनौती हुँदाहुँदै पनि धैर्यता नछाड्ने बताएका छन्।
“पार्टी गफ र भाषणले होइन, त्याग र समर्पणले बन्छ,” उनले लेखेका छन्। साथै खबरदारी संसदबाट मात्र होइन सडकबाट पनि गर्न सकिने भन्दै श्रमको सम्मान गर्नुपर्ने सन्देश दिएका छन्।
अन्त्यमा उनले आफ्नो पुरानो प्रतिबद्धता सम्झाउँदै समर्थकहरूलाई “मिठो चिया खुवाउने वाचा” नबिर्सन आग्रह गर्दै ‘जय माटो, जय देश, जय हर्क साम्पाङ, जय श्रम संस्कृति’ भन्दै स्टाटस टुंग्याएका छन्।





प्रतिक्रिया दिनुहोस