उज्यालो नेपालको यात्रामा भेटिएको सरल मान्छे दिप बहादुर योञ्जन
157 Views
गणेश बज्र लामा
उज्यालो नेपाल पार्टीका रामेछाप प्रतिनिधिसभा उम्मेदवार दिप बहादुर योञ्जनसँग मेरो भेट धेरै पटक भएको छैन। मुस्किलले तीन पटक मात्र भेट्ने अवसर मिल्यो। पहिलो भेट उज्यालो नेपाल पार्टीको कार्यालयमा भयो। दोस्रो भेट मेरो जन्मगाउँ दोरम्बा शैलुङ गाउँपालिका वडा नं. ७ टारमा भयो। अनि तेस्रो भेट फागुन १८ गते गाल्पामा आयोजित कार्यक्रममा।
भेट कम भए पनि उहाँलाई बुझ्ने अवसर भने चुनावी अभियानको यात्राले दिएको थियो। गाउँगाउँ, बस्तीबस्ती, डाँडापाखा, गोरेटो बाटो हुँदै घरदैलो अभियानमा हिँड्दा हामीले जनताको आशा, निराशा र परिवर्तनको आकांक्षा नजिकबाट देख्यौँ।
दोरम्बा शैलुङ गाउँपालिकाको वडा नं. ४ र ७ मा घरदैलो अभियान सकिएपछि उहाँ आफ्नै वडा र रामेछापको मन्थलीतिर फर्किनुभयो। हामी भने अभियानकै सिलसिलामा टोकरपुर हुँदै उहाँकै वडा रामथुङ्ग पुगेका थियौँ। त्यहाँ हामी दुई दिन उहाँकै घरमा बस्यौँ।
दुई दिनको त्यो बसाइ मेरो लागि एउटा सानो अनुभव मात्रै थिएन त्यो एउटा चरित्र बुझ्ने अवसर थियो। अरूले कस्तो नजरले हेर्छन् भन्ने कुरा मलाई खासै मतलब थिएन। तर ती दुई दिनमा उहाँको परिवारले गरेको व्यवहारले मन छुन गयो। बाबु आमाको सरलता, भाइको आत्मीयता सबै कुरा अत्यन्त साधारण, तर अत्यन्त स्नेहपूर्ण। कुनै बनावटीपन थिएन, कुनै अहंकार थिएन।
त्यही बेला थाहा भयो दिप बहादुर योञ्जन त मभन्दा उमेरले पनि भाइ रहेछन्। तर जिम्मेवारी र साहसको हिसाबले भने उहाँ निकै अगाडि देखिनुहुन्थ्यो।
विडम्बना के भने, दुई दिन उहाँको घरमा बस्दा पनि हामीले उहाँलाई भेट्न सकेनौँ। उहाँ त गाउँगाउँ, बस्तीबस्तीमा घरदैलो अभियानमै व्यस्त हुनुहुन्थ्यो। त्यो व्यस्तता नै उहाँको पार्टी प्रतिको समर्पण थियो। त्यो दौडधुप नै उहाँको सपना थियो।
भलै चुनावको नतिजा अपेक्षाअनुसार आएन। तर यथार्थ के हो भने उज्यालो नेपाल पार्टी दर्ता भएको दुई–तीन महिना मात्रै भएको थियो। अभियान सुरु भएको एक महिना पनि पुगेको थिएन। यस्तो अवस्थामा प्रतिनिधिसभाको उम्मेदवार बन्ने साहस गर्नु आफैंमा ठूलो कुरा हो।
त्यति मात्रै होइन, वर्षौँदेखि संगठन बनाएका पुराना दलहरू जसको टोल, वडा, पालिका र जिल्लासम्म बलियो संरचना थियो त्यससँग आमनेसामने भएर एक महिनाको घरदैलो अभियानबाट उहाँले ल्याएको मतलाई म सानो उपलब्धि मान्दिनँ।
कहिलेकाहीँ जित मतगणनामा मात्र हुँदैन। कहिलेकाहीँ जित त साहसमा हुन्छ, यात्रामा हुन्छ, सपनामा हुन्छ।
मलाई विश्वास छ आगामी दिनमा दिप बहादुर योञ्जनले उज्यालो नेपालको अभियानलाई अझ बलियो बनाउँदै अघि बढाउनुहुनेछ। हामी पनि उहाँको साथमा उभिनेछौँ। उज्यालो नेपाल त्यत्तिकै जन्मिएको होइन। यसको जन्म सुशासन, समृद्धि र सामाजिक न्यायको सपना बोकेर भएको हो।
समय लाग्न सक्छ। संघर्ष पनि धेरै गर्नुपर्ला। तर इतिहासले सधैं प्रमाणित गरेको छ—सत्य र परिवर्तनको जित ढिलो भए पनि निश्चित हुन्छ। त्यसैले अब निराश होइन, संयमित भएर अघि बढ्नुपर्छ। संगठन विस्तार गर्नुपर्छ। गाउँगाउँ, टोलटोल, बस्तीबस्तीमा उज्यालो नेपाल पुर्याउनुपर्छ।
यो केवल बत्तीको उज्यालो मात्र होइन।
यो त समृद्धिको उज्यालो हो,
सुशासनको उज्यालो हो,
सामाजिक न्यायको उज्यालो हो।
र म विश्वास गर्छु एक दिन यो उज्यालो देशभरि फैलिनेछ।





प्रतिक्रिया दिनुहोस