काठमाडौँमा ‘नेपाल कल्चरल इन्टरनेशनल फिल्म फेस्टिभल’को सातौँ संस्करण माघ १६ देखि
316 Views
काठमाडौँ। नेपाल संस्कृति तथा चलचित्र केन्द्रको आयोजनामा ‘नेपाल कल्चरल इन्टरनेशनल फिल्म फेस्टिभल (NCIFF)’ को सातौँ संस्करण माघ १६ देखि १८ गतेसम्म काठमाडौँमा आयोजना हुने भएको छ। चाबहिलस्थित चलचित्र विकास बोर्ड, भृकुटीमण्डपस्थित नेपाल पर्यटन बोर्ड र नेपाल पुलिस क्लबमा सञ्चालन हुने महोत्सवमा ३९ देशका ८५ वटा चलचित्र प्रदर्शन गरिने आयोजकले जनाएको छ।
विश्वभरका सांस्कृतिक, सामाजिक तथा सिर्जनात्मक चलचित्रको प्रवर्द्धन गर्ने उद्देश्यले विगत सात वर्षदेखि निरन्तर आयोजना हुँदै आएको यो महोत्सव नेपालकै प्रतिष्ठित अन्तर्राष्ट्रिय चलचित्र उत्सवका रूपमा स्थापित हुँदै गएको आयोजकको दाबी छ। यस वर्ष ७५ भन्दा बढी देशबाट प्राप्त ७०० चलचित्रमध्ये ५२ देशका १३८ चलचित्र महोत्सवका लागि छनोट गरिएका थिए।
महोत्सवमा लघु चलचित्र, कथानक चलचित्र, वृत्तचित्र र एनिमेटेड चलचित्रका साथै महिला, बालबालिका, मानव अधिकार तथा सांस्कृतिक विषयवस्तुमा आधारित चलचित्रहरू समावेश गरिएका छन्। महोत्सवका निर्देशक तथा अध्यक्ष सन्तोष सुवेदीका अनुसार तीन मिनेटदेखि साढे दुई घण्टासम्म अवधिका चलचित्रहरू प्रदर्शनका लागि छनोट भएका छन्।
चाबहिलस्थित चलचित्र विकास बोर्डमा उद्घाटन समारोह हुने महोत्सवमा चलचित्र प्रदर्शनसँगै सांस्कृतिक कला प्रदर्शनी, नृत्य प्रस्तुति, कला–संस्कृति तथा पर्यटनसम्बन्धी अन्तरक्रिया कार्यक्रमहरू पनि आयोजना गरिने महोत्सवकी सह–निर्देशक सृष्टि न्यौपानेले जानकारी दिइन्। साथै अस्ट्रेलियाली निर्देशक मौलीनाथ गंगोलीले चलचित्रसम्बन्धी मास्टर क्लास पनि सञ्चालन गर्नेछन्।
महोत्सवका लागि अन्तर्राष्ट्रिय निर्णायक मण्डलमा अमेरिकाकी निर्माता–निर्देशक जेसिका एकर्सन, बेलायतकी निर्माता एड्रियाना कुलिग, जर्जियाकी अनुसन्धानकर्ता निनी सिभेलिज, इटालीकी लेखक तथा निर्देशक भ्यालेन्टिना गाल्डी, बेलायतकी निर्देशक–निर्माता म्याग्डालिना कोर्पास, अर्जेन्टिनाका निर्देशक तथा चिकित्सक डा. जर्ज ग्युलेर्मो क्याराभोटा, ट्युनिसियाका निर्देशक नुमिन नुमिन र लाट्भियास्थित स्कार्लेट फिल्म्सका संस्थापक इमरोज होसेन रहेका छन्। राष्ट्रिय निर्णायक मण्डलमा चलचित्र लेखक, निर्देशक तथा कलाकार रमेश बुढाथोकी, अभिनेता धिरेन शाक्य, अभिनेत्री तथा निर्माता दीपाश्री निरौला, अभिनेता आर्यन सिग्देल र निर्माता तथा छायाँकार रविन आचार्य सहभागी छन्।
महोत्सवमा दक्षिण एसियाली मुलुक भारत र बंगलादेशका साथै चीन, थाइल्यान्ड, कोरिया, काजकिस्तान, यूएई, कतार, हङकङ, फिलिपिन्स, इन्डोनेसिया र ताइवानका चलचित्रहरू प्रदर्शन हुनेछन्। त्यसैगरी अमेरिका, क्यानडा, अस्ट्रेलिया, अर्जेन्टिना, बेलायत, फ्रान्स, इटाली, जर्मनी, रुस, स्विजरल्यान्ड, ट्युनिसिया, युक्रेन, स्पेन, नेदरल्यान्ड, मेक्सिको, फिनल्यान्ड, लिथुआनिया, चिली, नर्वे, ब्राजिल, सर्बिया, पोर्चुगल, पोल्यान्ड, हंगेरी, ग्रीस, डेनमार्क, बुल्गेरिया, चेक रिपब्लिक लगायतका युरोपेली देशहरू तथा अफ्रिकी मुलुक मोरक्को, इजिप्ट र दक्षिण अफ्रिकाका चलचित्रहरू पनि समावेश गरिएका छन्।
महोत्सवमा उत्कृष्ट चलचित्र, निर्देशक, अभिनेता, अभिनेत्री, छायाँकारका साथै उत्कृष्ट लघु चलचित्र, वृत्तचित्र, एनिमेटेड चलचित्र, महिला चलचित्र, बालबालिका चलचित्र र मानव अधिकारसम्बन्धी चलचित्र विधामा प्रतिस्पर्धा हुने आयोजकले जनाएको छ। नेपाल पुलिस क्लबमा हुने समापन समारोहमा विभिन्न विधाका उत्कृष्ट चलचित्र, कलाकार तथा प्राविधिकलाई अवार्ड प्रदान गरिनेछ। यस वर्ष १५ राष्ट्रिय र १५ अन्तर्राष्ट्रिय गरी ३० उत्कृष्ट चलचित्रलाई सम्मान गरिनेछ भने चलचित्र क्षेत्रमा उल्लेखनीय योगदान पु¥याएका व्यक्तित्वहरूलाई विशेष सम्मान प्रदान गरिने अध्यक्ष सुवेदीले बताए।





प्रतिक्रिया दिनुहोस