उज्यालो नेपाल पार्टीले रामेछाप केन्द्रित अभियान तीव्र पार्दै, कुलमान घिसिङलाई प्रधानमन्त्रीको रूपमा अघि सार्ने
332 Views
काठमाडौं । उज्यालो नेपाल पार्टीका तर्फबाट रामेछापका उम्मेदवार दिप बहादुर योञ्जनले आगामी निर्वाचनमा आफ्नो पार्टीलाई समर्थन गर्न मतदातासँग अपिल गर्दै ऊर्जा क्षेत्रसँग जोडिएका लोकप्रिय व्यक्तित्व कुलमान घिसिङलाई प्रधानमन्त्रीको रूपमा देख्न चाहनेले “चिम” चुनाव चिह्नमा मतदान गर्नुपर्ने बताएका छन्।
काठमाडौंमा आयोजित उज्यालो नेपाल काठमाडौं–रामेछाप सम्पर्क मञ्च गठन कार्यक्रममा बोल्दै योञ्जनले नेपालका पुराना राजनीतिक दलहरू भ्रष्टाचारमा लिप्त रहेको आरोप लगाए। अबको नेतृत्व उज्यालो नेपाल पार्टीले लिनुपर्ने दाबी गर्दै उनले रामेछाप कुलमान घिसिङको गृह जिल्ला भएकाले त्यहाँ पार्टीको जित सुनिश्चित रहेको जिकिर गरे।
उक्त कार्यक्रममा उज्यालो नेपाल पार्टी काठमाडौं–रामेछाप सम्पर्क मञ्च औपचारिक रूपमा गठन गरिएको पनि जनाइएको छ। कार्यक्रममा २०० भन्दा बढी व्यक्तिहरूले विभिन्न राजनीतिक दल परित्याग गरी उज्यालो नेपाल पार्टीमा प्रवेश गरेको आयोजकहरूले बताएका छन्।
पार्टी प्रवेश गर्नेहरूमा अनेरास्ववियुका पूर्व केन्द्रीय सदस्य निराजन लामा, २०४६ सालदेखि नेपाली कांग्रेसमा सक्रिय सदस्य मनोज घिसिङ, नेकपा एमालेका नारायण स्याङ्ताद लगायत नेता तथा कार्यकर्ताहरू रहेका छन्।
कार्यक्रममा पार्टी प्रवेश गर्दै निराजन लामाले कुलमान घिसिङ चिलिमे जलविद्युत कम्पनीका सीईओ रहँदा स्थानीय बासिन्दालाई हाइड्रो सेयर वितरण गरिएको प्रसंग उल्लेख गर्दै त्यसलाई “वास्तविक समाजवादको अभ्यास” भएको बताए। सोही कामबाट प्रभावित भई आफू उज्यालो नेपाल पार्टीमा आबद्ध भएको उनले स्पष्ट पारे।
सो अवसरमा उज्यालो नेपाल पार्टीका अध्यक्ष तथा पूर्वमन्त्री कुलमान घिसिङले पार्टीमा प्रवेश गर्ने सबैलाई स्वागत गर्दै पार्टीले इमान्दार, पारदर्शी र परिणाममुखी काम गर्ने प्रतिबद्धता व्यक्त गरे। उनले जनताको विश्वास जित्ने गरी काम गर्ने बताउँदै पार्टीको यात्रामा साथ दिन सबैलाई आग्रह गरे।





प्रतिक्रिया दिनुहोस