जय मातृभूमि पार्टीद्वारा २५१ सदस्यीय केन्द्रीय निर्वाचन परिचालन समिति गठन
123 Views
काठमाडौं। जय मातृभूमि पार्टीले आसन्न निर्वाचनलाई लक्षित गर्दै २५१ सदस्यीय केन्द्रीय निर्वाचन परिचालन तथा चुनाव प्रचार–प्रसार मूल समिति गठन गरेको छ।
पार्टीका अध्यक्ष सुरेश कुमार कार्कीको अध्यक्षतामा गठित उक्त समितिमा केन्द्रीय कार्यसम्पादन समिति, केन्द्रीय समिति, विभिन्न विभागका सदस्य, सल्लाहकार तथा शुभेच्छुकहरुलाई समेटिएको जनाइएको छ।
पार्टीको केन्द्रीय कार्यालय ‘आमा घर’ मा बसेको केन्द्रीय समितिको बैठकले निर्वाचन रणनीति, प्रचार–प्रसार योजना तथा संगठनात्मक परिचालनका विषयमा गम्भीर छलफल गरेको थियो। बैठकको शुभारम्भ गर्दै अध्यक्ष कार्कीले निर्वाचनमा उम्मेदवार बन्ने सबैलाई शुभकामना व्यक्त गर्दै पार्टीका देशभक्ति र राष्ट्र निर्माणका एजेन्डा जनतामाझ निर्भीक रूपमा लैजान निर्देशन दिएका थिए।
बैठकमा महासचिव गोविन्द गिरीले प्रस्तुत गरेका एजेन्डामाथि व्यापक छलफल भएको बताइएको छ। पार्टीका सह–अध्यक्ष रामशरण पाण्डे तथा वरिष्ठ नेता क्या.के.वि. लिम्बुले जय मातृभूमि पार्टीका एजेन्डा पुरातनवादी दलहरूभन्दा फरक र स्पष्ट राष्ट्र निर्माणको दृष्टिकोणसहित रहेको दाबी गर्दै ती एजेन्डा प्रभावकारी रूपमा जनतासम्म पुर्याउन सके उम्मेदवारको विजय सुनिश्चित हुने धारणा राखेका थिए।
त्यसैगरी, वरिष्ठ उपाध्यक्ष रोमलाल गिरी तथा उपाध्यक्षहरू टुलराज बस्याल र आर.के. ढकालले पार्टी गतिविधिको समीक्षा गर्दै प्रचार–प्रसार अभियानलाई अझ तीव्र र व्यवस्थित बनाउनुपर्ने सुझाव दिएका थिए।
बैठकमा उप–महासचिवहरू लक्ष्मीदत्त भट्ट र कृष्णराज राई, सचिवद्वय तेजेन्द्र प्रशाई र तोप गुरुङ, कोषाध्यक्ष आनन्द सिंखडा, प्रवक्ता डा. खेम बहादुर क्षेत्री लगायतका नेताहरूले पनि आ–आफ्ना धारणा राखेका थिए।
बैठकले पाँच सूत्रीय एजेन्डा पारित गर्नुका साथै केन्द्रीय कार्यसम्पादन समितिका निर्णयहरू अनुमोदन गरेको छ। साथै आर्थिक संकलन र लेभी व्यवस्थापन सम्बन्धी निर्णय गर्दै उम्मेदवारहरूको विजय सुनिश्चित गर्न देशका विभिन्न क्षेत्रमा केन्द्रीय प्रतिनिधि तोक्ने निर्णय पनि गरिएको छ।
जय मातृभूमि पार्टीले पूर्वदेखि सुदूरपश्चिमसम्म प्रत्यक्ष उम्मेदवारी दिएको जनाएको छ। पार्टीले राष्ट्रियता, नागरिकतन्त्र, सुशासन, समृद्धि र नेपालवादलाई आफ्नो मूल मार्गनिर्देशक सिद्धान्तका रूपमा अघि सारेको छ। पार्टीमा विभिन्न क्षेत्रका विज्ञ, राजनीतिककर्मी, पूर्व सुरक्षाकर्मी, पूर्व उच्च कर्मचारी, सुशासन अभियन्ता तथा जेन–जी आन्दोलनमा सक्रिय युवाहरूको उल्लेख्य सहभागिता रहेको बताइएको छ।





प्रतिक्रिया दिनुहोस