गुरुपूर्णिमा महोत्सवमा १५ सय भन्दा बढी सहभागी हुने
350 Views
पोखरा । पोखरा महानगरपालिका वडा नं. ३ नदिपुर नारायण स्थान स्थित हिमालयन सिद्ध महायोग ध्यान साधना केन्द्रमा गुरुपूर्णिमा अवसरमा विहिबार गुरुपूर्णिमा महोत्सव हुने भएको छ ।
महोत्सवमा नेपाल भित्रका शाखाहरु र बिदेश स्थित अन्तर्राष्ट्रिय केन्द्र हरुका १५ सय भन्दा बढी साधक तथा भक्तजन हरु सहभागी हुन पोखरा आइ पुगेका छन् ।
महोत्सवमा अनन्त श्री विभूषित जगद्गुरु महायोगी सिद्धबाबाको उपस्थिति रहने नारायण स्थान धार्मिक क्षेत्र बिकास समिति अध्यक्ष महेश पराजुलीले बताए ।
महोत्सव अवधिमा पोडषोपचार पूर्वक गुरुपूजन, महाआरती, श्रीराम पञ्चाङ्ग पाठ, सुन्दरकाण्ड पाठ, सद्गुरुदेवबाट आशीर्वचन, सांगीतिक कार्यक्रम एवं भण्डारा गरिने छ ।
२०८२ आषाढ २६ गते, बिहान ८ः०० बजेदेखि काठमाडौं, चितवन, सुर्खेत (वीरेन्द्रनगर एवं पञ्चपुरी), पाल्पा, पर्वत, रोल्पा, दैलेख, कैलालीमा रहेको महायोगी सिद्धबाबा आध्यात्मिक प्रतिष्ठानका शाखाहरु र भारत, क्यानडा, अमेरिका, बेलायत, अष्ट्रेलिया, डेनमार्कमा रहेका महायोगी सिद्धबाबा आध्यात्मिक प्रतिष्ठानका अन्तर्राष्ट्रिय केन्द्रहरु साधक तथा भक्तजनहरु १५ सय भन्दा बढीको सहभागिता रहने गुरुपुर्णिमा महोत्सव मुल आयोजक समिति सदस्य रबिन्द्र बाटाजुले वताए ।
अनन्त श्री विभूषित जगद्गुरु श्री रामानन्दाचार्य स्वामी श्री रामकृष्णाचार्य महायोगी सिद्धबाबा सद्रगुरुदेवको सत्संकल्प र जगत्गुरु श्रीरामाचार्य सेवापिठ चतरा, सुनसरी एवं महायोगी सिद्धबाबा आध्यात्मिक प्रतिष्ठान पोखराको आयोजनामा २०८२ असार २७ गते देखि केन्द्रमा हिमालयन सिद्धमहायोग ध्यान साधना विशेष अनुष्ठान (पारम्परिक उपचार पद्धति) सहित ग्रह दोष निवारण, मन्त्रजप, हवन, अर्चन, रुद्राभिषेक, आयुर्वेदिक परामर्श र सद्गुरुदेवबाट दिव्य सत्संग कार्यक्रम हुने छन् ।





प्रतिक्रिया दिनुहोस