रौतहटका पत्रकार मेवालालद्वारा पत्रकार सुरक्षा कानुनका लागि संघर्षको घोषणा
248 Views
रौतहट । स्वतन्त्र पत्रकार मेवालाल यादवले नेपालमा पत्रकारहरूको सुरक्षा सुनिश्चित गर्न विशेष कानुन निर्माण गर्नुपर्ने माग गर्दै संसदसम्म संघर्ष गर्ने घोषणा गरेका छन्।
पत्रकार यादवले “पत्रकारितालाई लोकतन्त्रको चौथो अङ्ग भनिए पनि नेपालमा पत्रकारहरूको अवस्था अझै जोखिमपूर्ण छ। सरकारले हाम्रो सुरक्षा सुनिश्चित गर्न विशेष कानुन बनाउनुपर्छ।”
उनी भन्छन्, पत्रकारहरू अनेकौं दबाब, धम्की, हिंसा र कानुनी झमेलाको सामना गर्न बाध्य छन्। समाचार संकलनको क्रममा हुने आक्रमण, गैरन्यायिक गिरफ्तारी, र मानसिक तनावलाई न्यूनीकरण गर्न प्रभावकारी कानुनी संरचना आवश्यक रहेको उनको तर्क छ।
यादवले आगामी दिनमा पत्रकार संगठनहरूसँग समन्वय गरी कानुनी मस्यौदा तयार पार्ने र संसदसम्म आफ्ना माग पुर्याउने बताएका छन्। यसका लागि उनले नेपाल पत्रकार महासङ्घ, स्वतन्त्र पत्रकार मञ्च र मानव अधिकार आयोगसँग सहकार्य गर्दै जनस्तरमा अभियान समेत सञ्चालन गर्ने योजना बनाएका छन्।
पत्रकार यादवको अभियानलाई विभिन्न सञ्चार माध्यम, कानुन व्यवसायी, र सामाजिक अभियन्ताहरूले समर्थन जनाएका छन्। पत्रकारहरूको सुरक्षा कानुन निर्माण भएमा प्रेस स्वतन्त्रता थप सुदृढ हुने उनीहरूको विश्वास छ।





प्रतिक्रिया दिनुहोस