पोखरामा प्रथम दाइँ महोत्सव सम्पन्न
355 Views
पोखरा । पोखरा पर्यटन परिषदले पोखरा–२३ फेवा फाँट, मार्गी (पामे) मा प्रथम दाइँ महोत्सव सम्पन्न भएको छ ।
पर्यटन व्यवसायीहरुले पर्यटकलाई मात्रै लक्षित गरेर महोत्सव गरिएको वताउँदै हरेक वर्षको असार १५ गते रोपाईं महोत्सव गर्दै आएको परिषद्ले यो वर्षदेखि दाइँ महोत्सव पनि गर्न थालेको हो । महोत्सवमा १० वटा गोरु लगाएर दाइँ गरिएको हो ।
महोत्सवमा धान चुट्ने, धानको राश बनाउने, धान बत्ताउने गरिनुका साथै दाइँमा सहभागी हुनेहरुलाई परम्परागत झल्को दिन खाजा र खानापनि परालमाथि र बारीको पाटामा बसेर खान दिइएको थियो । महोत्सवमा स्वदेशी पर्यटकसँगै विदेशी पर्यटक पनि सहभागी भएका थिए । पोखरा सबै मौसमका लागि भन्ने नाराका साथ गरिएको महोत्सवले कृषि पर्यटनको विकास हुने परिषद् अध्यक्ष तारानाथ पहारीले जानकारी दिए ।
महोत्सवको गण्डकी प्रदेश उद्योग तथा पर्यटन मन्त्रालयका सचिव कुमानसिंह गुरूङले उद्घाटन गर्दै यसप्रकारका कार्यक्रमले कृषि सहित पर्यटनको विकासमा सघाउ पुग्ने बताए ।
परिषदका् अध्यक्ष तारानाथ पहारीले असारमा लगाएको खेती परम्परागत शैलीमा दाइँ गरी भित्राउने कार्यलाई नयाँ पुस्ता एवं विदेशी पर्यटकका लागि चिनारी दिन महोत्सव सुरू गरिएको बताए । आगामी वर्षमा पनि महोत्सवलाई निरन्तरता दिने बताए तर मंसीर भित्रै गरिने पनि वताए ।
परिषद्ले आयोजना गरेको रोपाइँ महोत्सव १९ औ संस्करण पूरा भइसकेको छ । नयाँ पुस्तालाई धान बोरामा होइन, खेतमा फल्छ भन्ने सिकाउन महोत्सवले टेवा दिने अपेक्षा रहेको परिषद्का सहकोषाध्यक्ष एवं महोत्सव संयोजक बाबुराम पाण्डेले बताए ।





प्रतिक्रिया दिनुहोस