मेरो चिहान नबनाउनु (कवि खोजराज गोले)
554 Views
यी संसारेका नजरमा सफल देखिन
तछाड मछाड गरिरहन्छौ भने ठिकै छ–
तिमी आफ्नो बाटो लाग्नु;मतिर फर्केर पनि नहेर्नु ।।
वस्त्रमा सजिनु नै सफल हुनु हो भने
गहनामा देखिनु नै उत्तम हुनु हो भने
तामसहारी नै उत्सव मनाउने तरिका भन्छौ भने
भोगविलास नै जीवन ठान्छौ भने ठिकै छ–
आफ्नो बाटो छान्न तिमी स्वतन्त्र छौ
मेरो सङ्गत के छायाँमा पनि नपर्नु ।।
म त यस्सै जोगी; उस्सै जोगी
मलाई त जोगी नै निको लाग्छ ।
तिमी आफ्नो लोक सुधार्नतिर लाग्नु
तर झुक्किएर पनि नसम्झनु;
सदाको लागि बिर्सनु ।।
मलाई त,यो जीउ छँदै आफैले आफ्नै शोघेवा गर्नुछ
मान्छेका मुहार नदेखिने
मान्छेका आवाज नसुनिने ठाउँ पुग्नुछ ।
त्यसैले, बिन्ती मलाई आफ्नो नभन्नु
साथीको सङ्ख्यामा राखेर नगन्नु ।।
मलाई सम्झेर नियास्रो नहुनु
आफ्नो मनलाई दुःखी नबनाउनु ।।
मेरा याद दिलाउने
यी दिनहरूलाई मृत्युदण्ड दिनु
यादहरूलाई जलाएपछि बगाएपछि
मेरो चिहान नबनाउनु ।।
चिहानले त याद दिलाइरहन सक्छ
प्रेत बनाइ पिराइरहन सक्छ ।।





प्रतिक्रिया दिनुहोस