गुप्तेश्वर क्याम्पसको १६ औं वार्षिकोत्सव सम्पन्न
601 Views
पोखरा । पोखरा १७ छोरेपाटनमा रहेको सामुदायिक क्याम्पस गुप्तेश्वर महादेव बहुमुखी क्याम्पसको शुक्रबार १६ औं वार्षिकोत्सव तथा अभिभावक दिवस कार्यक्रम सम्पन्न भएको छ ।
प्रमुख अतिथि त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्रा.डा. शिवलाल भुषालले कार्यक्रमको उद्घाटन गर्दै त्रिभुवन विश्वविद्यालयले नेपालका कुना कुनामा क्याम्पस पुर्याउने योजना रहेको बताए । उच्च शिक्षामा केन्द्रिय सरकारले न्यून बजेट विनियोजन गर्ने, प्रदेश सरकारले हामीलाई अधिकार छैन भन्ने र स्थानीय सरकारले हामीले विद्यालय मात्र हेर्ने हो भन्दा उच्च शिक्षालाई व्यवस्थापन गर्न गार्हो भएको बताए ।
त्रिभुवन विश्वविद्यालयले रोजगार खोज्ने भन्दा पनी रोजगार सिर्जना गर्ने विद्यार्थी उत्पादन गर्ने योजना बमोजिम पाठ्यक्रमहरु तयार भइरहेको व्यहोरा बताए ।
गण्डकी प्रदेश सभा सदस्य माननीय भिम कार्कीले हाम्रा शिक्षा नीति पुरानै भएकाले हामीलाई आवश्यक पर्ने शिक्षा नीतिहरु परिवर्तन गर्दै जानु पर्ने बताउँदै शिक्षा रोजगारी तथा व्यवसायीमुखी बनाउनु पर्ने बताए ।
त्यसै गरि प्रदेश सभा सदस्य माननीय प्रकाश बरालले शिक्षाले मानिसलाई आत्मविश्वास बढाउनु पर्ने हो तर हाम्रो शिक्षा किन निरुत्साहीत छ भन्ने जिज्ञासा व्यक्त गर्दै विद्यार्थी विदेसीनुको कारण विश्वविद्यालयले अनुसन्धान गर्न जरुरी रहेको बताए ।
त्यसै गरी त्रिभुवन विश्वविद्यालय, व्यवस्थापन संकायका डीन प्रा.डा. डिल्लीराज शर्माले क्याम्पस सञ्चालक समितिको एकताले नै आज क्याम्पसले यो विकास गति लिएको हुँदा क्याम्पसको एकता सधै कायम राख्न सुझाव दिए।
त्रिभुवन विश्वविद्यालयले शिप भएका विद्यार्थी उत्पादन गरेतापनी राज्यले त्यस्ता विद्यार्थीलाई रोजगार प्रदान गर्ने वातावरण नभएकाले विद्यार्थी विदेशीनु परेको धारण व्यक्त गरेका थिए । शीप भएका विद्यार्थीले राज्यमा रोजगार पाए पनी पारिश्रमीक विदेशको तुलनामा सारै न्यून रहेकाे बताए। उनले गुप्तेश्वर महादेव बहुमुखी क्याम्पसको होटेल व्यवस्थापनको ल्याब देशकै उत्कृष्ट ल्याब रहेको शर्माले बताए।
त्यसैगरी त्रिभुवन विश्वविद्यालय, अनुगमन निर्देशनालयका निर्देशक सह–प्राध्यापक विष्णुप्रसाद खनालले गुणस्तरीय शिक्षालाई प्रोत्साहन गर्न अनुसन्धानमुखी कार्यहरुलाई त्रिभुवन विश्वविद्यालयले प्राथमिकता दिएको बताउदै क्याम्पसले छोटो समयमा प्रगतिको पथमा गएकाले खुसी व्यक्त गरे ।
पोखरा १७ का कार्यबाहक अध्यक्ष विक्रम गुरुङले क्याम्पसको गतिविधिले वडा नं. १७ गौरवान्वित भएको साथै कार्यक्रम तथा क्याम्पसको सफलताको शुभकामना व्यक्त गरे ।
गुप्तेश्वर महादेव गुफा व्यवस्थापन समितिका अध्यक्ष लछुमण वास्तोलाले गुफा तथा क्याम्पसको सम्बन्ध नङ र मासु जस्तै रहेको तथा क्याम्पसको सर्वाङ्गिण विकासका लागि गुफा सधै तयार रहेको बताउँदै क्याम्पस एक शैक्षिक केन्द्रका रुपमा विकास गर्न क्याम्पसले नयाँ नयाँ प्राविधिक तथा व्यवसायीक शैक्षिक कार्यक्रमहरु थप गर्दै जादाँ गुफाले आर्थिक रुपमा हातेमालो गर्न तयार रहेको बताए ।
कार्यक्रमका गुप्तेश्वर सिजर्नशिल विद्यार्थी मञ्चका अध्यक्ष शिवम् शाही ठकुरीले विश्वविद्यालयको परीक्षा तथा नतिजा प्रकाशनमा ढिला हुने गरेकाले त्रिभुवन विश्वविद्यालयको ध्यानाकर्षण गराए ।
त्यसै गरी पब्लिक क्याम्पस संघका केन्द्रिय सल्लाहकार तथा कालिका बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख विरन्जी गौतमले नेपाल सरकार वा त्रिभुवन विश्वविद्यालयले आंगिक क्याम्पस सञ्चालन गर्न नसकेको स्थानमा जनताले पैसा उठाएर सामुदायिक क्याम्पस सञ्चालन गरी उच्च शिक्षा प्रदान गरेको बताउँदै त्रिभुवन विश्वविद्यालयले सामुदायिक क्याम्पसको राम्रो अनुगमन गर्न अनुरोध गरे ।
त्रिभुवन विश्वविद्यालयले नयाँ कार्यक्रमको सम्बन्धन प्रदान गर्दा सामुदायिक क्याम्पसलाई अलि असजिलो मान्ने गरेको बताउनु भयो । नयाँ स्थापना भएका विश्वविद्यालयले नयाँ नयाँ कार्यक्रम ल्याउनु पर्नेमा त्रिभुवन विश्वविद्यालयकै कार्यक्रम सञ्चालन गर्दा दुर्भाग्य भएको बताए ।
सो अबसरमा शीतलपथ टोल विकास संस्थाका अध्यक्ष अनन्त लम्साल, राजनीतिक दलका शालीकराम देवकोटा, ऋषभ तिमिला र देवराज आचार्यले शुभकामना मन्तव्य राखेका थिए ।
त्यसै गरी सल्लाहकारहरु झपिन्द्रराज रेग्मी, विष्णुप्रसाद पौडेल, तिर्थराज अधिकारी र प्रा.डा. भूपति ढकाल ‘‘कमल’’लगाएतले बोलेका थिए ।
कार्यक्रममा विद्यार्थीले नेपाली संस्कृति झल्कने नृत्य प्रदर्शन, पुरस्कार वितरण, वी.एच.एम. चौथो सत्रका विद्यार्थीहरुको आयोजनामा खाना महोत्सव गरिएको थियो ।
साथै क्याम्पमा महत्वपूर्ण योगदान गर्नुहुने महानुभावहरु तथा शिक्षक एवम् कर्मचारीलाई सम्मान गरिएको थियो । साथै उक्त कार्यक्रममा क्याम्पस सञ्चालक समितिका सदस्य हरिप्रसाद लम्साल र उहाँकी श्रीमती सुमित्रा लम्सालले बुवाको स्मृतिमा १ लाख, १ हजार १ सय ११ रुपैया बराबरको ‘टिकाराम लम्साल स्मृति गरिव तथा जेहेन्दार छात्रवृत्ति अक्षयकोष’ को स्थापना गरेका छन् ।
क्याम्पस प्रमुख धर्मराज बरालले क्याम्पसका गतिविधिहरु रहेको शैक्षिक प्रतिवेदन प्रस्तुत गरेको कार्यक्रममा स्वागत् मन्तव्य क्याम्पस सञ्चालक समितिका उपाध्यक्ष ऋतुनाथ लम्सालले गरेका थिए ।
कार्यक्रमका अध्यक्ष क्याम्पस सञ्चालक समितिका अध्यक्ष श्रीराम सुवेदीले क्याम्पसलाई शैक्षिक केन्द्र तथा अनुसन्धान केन्द्र बनाउन आफु लागि पर्ने व्यहोरा बताउँदै गुणस्तरीय शिक्षाका लागि सल्लाह गरी अघि बढ्ने प्रतिवद्धता व्यक्त गरेका छन् । कार्यक्रमको सञ्चालक शिक्षक लेखनाथ बराल (गोपी) ले गरेका थिए ।








प्रतिक्रिया दिनुहोस