मुख्यमन्त्रीहरुको पोखरामा भेला
403 Views
पोखरा, १४ असार । कास्की जिल्लामा सातै प्रदेशका मुख्यमन्त्रीहरु पोखरामा जुट्ने भएका छन् । यसअघि रोकिएको मुख्यमन्त्रीहरुको सम्मेलन असार १५ र १६ गते गर्ने आन्तरिक तयारी गरिएको छ ।
गत जेठ १० र ११ मा गर्ने भनिएको सम्मेलन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आफू आउन नसक्ने बताएपछि अन्तिम समयमा आएर स्थगित भएको थियो । त्यसबेला पोखरा होटल ग्रान्डमा तयारी अन्तिम चरणमा पुर्याइएको थियो ।
गण्डकी प्रदेश सरकारका प्रवक्ता सरस्वती अर्याल तिवारीले पहिले स्थगित सम्मेलन फेरि अहिले आएर गर्न लागेको जानकारी दिइन् । उनका अनुसार यसबारे आन्तरिक तयारी भइरहेको छ । भेला उद्घाटनमा शुक्रबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड आउने छन् ।
विभिन्न प्रदेशले गरेका उपलब्धि र अधिकारका विषयमा सो अवसरमा छलफल हुने प्रवक्ता तिवारीले बताइन् । सो सम्मेलनलाई निकै महत्वपूर्ण ठानिएको छ । सम्मेलनमा कुन प्रदेशले के कसरी काम गरिरहेको छ र कार्य अनुभव आपसमा साटासाट गर्न सम्मेलन फलदायी बन्ने सरकारको अपेक्षा छ । ‘प्रदेश सरकार सञ्चालनको अनुभव साट्ने गरी यो भेला हुन लागेको हो । संघीय सरकारले कतिपय कानुनी अधिकार प्रदेशलाई नदिँदा प्रदेश सरकारले काम गर्न नसकेको अवस्थामा ती ऐन कानुन र अधिकारबारे पनि छलफल हुनेछ,’ ऊर्जा जलस्रोत तथा खानेपानी मन्त्री समेत रहेकी प्रवक्ता तिवारीले भनिन् ।
यसअघि पृथ्वीसुव्वा गुरुङ मुख्यमन्त्री हुँदा सातै प्रदेशका मुख्यमन्त्रीहरु पोखरामा भेला भएका थिए ।
यसैबीच, प्रचण्डले राष्ट्रिय समन्वय परिषद्को बैठक डाँकेका छन् । पोखरा सम्मेलन अवसर पारेर राष्ट्रिय समन्वय परिषद्को बैठक पनि पोखरामै आयोजना गर्ने तयारी भएको स्रोतले जनायो । परिषद् अध्यक्ष नै प्रधानमन्त्री हुने कानुनी व्यवस्था छ । शनिबार हुने बैठकमा मुुख्यमन्त्रीसहित संघीय सरकारका अर्थ, गृह, कानुन र संघीय मामिला, विपक्षी दलको नेताको उपस्थिति हुनेछ जनाएको छ ।





प्रतिक्रिया दिनुहोस