राँगो र भैंसीका बहस गर्न जनताले सांसद जिताएका हुन्?”माधव सापकोटाको प्रश्न”
547 Views
काठमाडौँ, नेकपा माओवादी केन्द्रका सांसद माधव सापकोटाले भारतबाट राँगो कि भैंसी ल्याइएको भन्ने छुट्याउन नसक्ने सांसदहरूका कारण सांसद र सांसदहरूप्रति नै जनमानसमा गलत सन्देश प्रवाह भएको टिप्पणी गरेका छन्।
प्रतिनिधि सभामा बुधबार आर्थिक वर्ष २०८०/०८१ को बजेटमाथिको छलफलमा भाग लिँदै सापकोटाले राँगा/भैंसी ल्याइएको विषयमा बहस गर्न जनताले सांसद नजिताएको बताए।
प्रतिनिधि सभाको मंगलबारको बैठकमा एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी र राप्रपाका सांसदले भारत भ्रमणका क्रममा १५ वटा राँगा ल्याउने सम्झौता गरेको भन्दै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग जवाफ मागेका थिए।
सापकोटाले विपक्षी सांसदहरूतर्फ लक्षित गर्दै भैंसी वा राँगा किन ल्याएको भन्ने विषयमा भन्दा भारतको बिहारबाट भित्रिएर जनताको घरघर र भान्सामा पुग्ने गरेको पाउडर दूध विस्थापित गरेर आत्मनिर्भर कसरी बन्ने भन्ने बहसको विषय हुनुपर्ने औंल्याए।
‘भैंसी किन आयो भनेर बहस गर्नका लागि जनताले हामीलाई चुनेर पठाउनुभएको होला त?’, सापकोटाले प्रश्न गरे, ‘यसको पछाडि के देखिन्छ भने बिहारबाट पाउडरवाला दूधहरू हाम्रा घरघरमा, हाम्रा किचेनहरूमा पुगेका छन्। त्यसलाई कसरी प्रतिस्थापन गरेर आत्मनिर्भर बन्ने हाम्रा छलफलले प्राथमिकता पाउँदैन।’
सापकोटाले काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले सांसदहरूलाई वडा अध्यक्षसँग तुलना गरेको र चर्चित कवि अर्जुन पराजुलीले राँगा र भैंसी चिन्न नसकेको भन्दै कविता लेखेको प्रसँग कोट्याउँदै संसदमा हुने गरेका बहसले सांसदहरूको इज्जत नभएको तर्क गरे।
‘केही दिन अगाडि एक जना मेयरले हामी सबै सांसदहरूलाई वडा अध्यक्षका रूपमा व्यंग्य गर्नुभयो। आज बिहान अर्जुन पराजुलीले हामीलाई व्यंग्य गर्दै एउटा कविता लेख्नुभएको रहेछ। यो भन्दा सान्दर्भिकै होलाजस्तो मलाई लाग्यो। कुन राँगो कुन भैंसी छुट्याउन सक्ने क्षमता भएको भए को सांसद बनेर बसिरहेको हुन्थ्यो महोदय मेरो देशमा’, उनले भने।
सापकोटाले विगतदेखि जापानबाट कुकुर र जर्मनीबाट बिरालो ल्याइने गरेको सुनाए। पञ्चायत र बहुदल फटाएका र अहिले गणतन्त्रमा समेत अभ्यास गरिराखेका अग्रजहरूका कार्यशैली, अभ्यास, अभिव्यक्तिहरू संसदको नियमावली र अभ्याससँग मेल नखाएको उनको भनाइ थियो।
सांसद राजनीतिक व्यवस्था र भविष्यका बारेमा गहन ढंगले विश्लेषण गर्ने र एउटा निष्कर्षका साथ सिंगो राष्ट्रलाई दिशा निर्देश गर्ने सार्वभौम थलो भए पनि अमुक नेताहरूलाई खुसी पार्नका लागि अभ्यास, नजिर र मूल्यमान्यताहरूलाई भंग, उल्लंघन र ध्वंश गर्ने काममा सांसदहरू लागिपरेको आरोप सापकोटाले लगाए।सिंगो जनताको भावना दुत्कारेर अमर्यादित र अशोभनीय प्रस्तुति नगर्न र सार्वभौम संसदको मर्यादा कायम गर्न सांसदहरूलाई अपिल गरे।





प्रतिक्रिया दिनुहोस