पोखरा महानगरभित्र ब्रिज कोर्स खारेज
407 Views
पोखरा, २६ चैत । पोखरा महानगरपालिकाले विद्यालय शिक्षा व्यवस्थित र प्रभावकारी बनाउन विभिन्न निर्देशन जारी गरेको छ । नगर शिक्षा परिषद् र नगर शिक्षा समितिको संयुक्त बैठकले शैक्षिकसत्र–२०८० का लागि ब्रिज कोर्स खारेज गर्नेदेखि विद्यालय हाप्ताभित्र पाठ्यपुस्तक तथा अन्य शैक्षिक सामाग्रीहरू बिक्री वितरणमा रोक लगाएको हो ।
निर्देशनमा भनिएको छ, ‘विद्यालयहरूले शिक्षा नियमावलीमा उल्लेखित शीर्षकहरूमा बाहेक एउटै विद्यालयमा अध्ययन गर्दा अध्ययन अवधिभर भर्ना शुल्क बापत एक पटकमात्र अधिकतम २ महिनाको शुल्क भन्दा बढी लिन पाइने छैन ।’ यस्तै कक्षा ११ को विद्यार्थी भर्नासँग सम्बन्धित कुनै पनि ब्रिज कोर्स सञ्चालन गर्न निषेध गर्दै महानगरले विद्यालय हाप्ताभित्र पाठ्यपुस्तक तथा शैक्षिक सामग्री बिक्री वितरणमा पनि रोक लगाएको छ । विद्यालयलाई बिना प्रमाणपत्र विद्यार्थी भर्ना नगर्न समेत महानगरपालिकाले निर्देशन जारी गरेको छ ।
अबको शैक्षिक सत्रको पठनपाठन वैशाख १० देखि शुभारम्भ गर्ने निर्णय गरेको महानगरले कक्षा १० सम्म अध्ययन गरिरहेका विद्यार्थीले सोही विद्यालयमा अध्ययन गर्न चाहेमा अनिवार्य रूपमा भर्ना लिनु पर्ने प्रावधान बनाएको छ । साथै महानगरभित्र सञ्चालित विद्यालय क्षेत्रको १ सय मिटर दुरी भित्र सुर्ती तथा मदिराजन्य वस्तुहरूको बिक्री वितरणमा निषेध गरिएको छ ।
यसअघि विद्यालयहरूले सञ्चालन गरिरहेको बस सेवा अवधि लामो भएको जनगुनासो आएकाले सो सम्बन्धमा आगामी शैक्षिक सत्रबाट विद्यालय सुरु हुनु पूर्व १ घण्टा ३० मिनेट अगाडिबाट मात्र बस सेवा सञ्चालन गर्न महानगरले निर्देशन गरेको छ । यस्तै २० वर्षभन्दा पुराना सवारी साधन प्रयोगमा रोक लगाउनुका साथै प्रत्येक ६ महिनामा पूर्ण सर्भिसिङ गर्न निर्देश गरिएको छ ।





प्रतिक्रिया दिनुहोस