रामेछापको सुनापतिबाट शैलुङ्गसम्म पहिलो शैलुङ्ग म्याराथन हुदैँ
426 Views
रोमन लामा (क्षितिज)
रामेछाप २४ फाल्गुण खोज मिडिया। रामेछाप जिल्लाको पर्यटकीय गन्तव्य स्थल बनाउने प्रमुख धेयका साथ प्रथम पटक शैलुङ्ग म्याराथुन दौड प्रतियोगिता हुने भएको छ । रामेछाप जिल्लाको ऐतिहासिक, धार्मिक, सांस्कृतिक र प्राकृतिक गन्तव्यको प्रचार प्रसारका लागि प्रथम पटक सुनापति गाउँपालिकाको केन्द्र हिलेदेवीबाट सुनापति डाँडा गाल्बा, खाँडादेवी, अग्लेश्वर, दोरम्बा हुँदै शैलुङ्गसम्म ५५ कि.मि. म्याराथुन हुन लागेको हो । राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव टङ्कलाल घिसिङको पहलमा खेल पर्यटन मार्फत पर्यटकीय क्षेत्रको विकासका लागि म्याराथन हुने भएको हो ।
शैलुङ क्षेत्रमा पर्यटन प्रबर्द्धन गर्ने उद्देश्यले राष्ट्रिय खेलकुद परिषद्को आर्थिक सहयोग, जिल्ला खेलकुद विकास समिति रामेछापको व्यवस्थापन, सुनापति, खाँडादेवी र दोरम्बा शैलुङ्ग गाउँपालिकाको सहकार्य र हिमालयन ट्रेल रनिङको प्रायोजकमा चैत्र ४ गते दौड प्रतियोगिता हुने भएको छ ।
३ ओटा विधामा सञ्चालन गर्न लागिएको खेलमा ५५ कि.मि., २५ कि.मि. र ५ कि.मि. दूरीका दौड हुने छन् । यी तीन ओटै खेलमा देशी तथा विदेशी महिला र पुरुष खेलाडीले सहभागिता जनाउन पाउने छन् । ५५ कि.मि. तर्फको दौडमा सहभागी हुने खेलाडीले सुनापति गाउँपालिका हिलेदेवीको सादीडाँडाबाट जिल्लाकै ऐतिहासिक स्थल खाँडादेवी मन्दिर हुँदै गाल्बा बजार–अग्लेश्वर दोरम्बा हुँदै शैलुङ डाँडासम्म पुग्नु पर्ने छ । त्यसैगरी २५ कि.मि. तर्फको दौडमा सहभागी हुने खेलाडीहरूले सुनापतिको हिलेदेवी–गाल्बा–अग्लेश्वरी–दोरम्वा हुँदै शैलुङडाँडा पुग्नु पर्ने छ । ५ कि.मि. तर्फको दौड प्रतियोगितामा सहभागी हुने खेलाडीले दोरम्बाको शैलुङ क्षेत्रमा मात्रै दौडने भएका छन् ।
म्याराथनमा सहभागी खेलाडीहरू मध्ये ५५ कि.मि. तर्फको दौड प्रतियोगितामा प्रथम हुने खेलाडीले नगद ७५ हजार द्वितीय हुने खेलाडीले ३५ हजार र तृतीय हुनेले नगद २० हजार रुपैयाँ र प्रमाणपत्र पाउने छन् । २५ कि.मि. तर्फको दौड प्रतियोगितामा प्रथम हुने खेलाडीले प्रथम, द्वितीय र तृतीयले क्रमशः ४० हजार, २० हजार र १० हजार नगद र प्रमाणपत्र पाउने छन् । ५ कि.मि. तर्फको दौड प्रतियोगितामा प्रथम हुने खेलाडीले पनि प्रथम, द्वितीय र तृतीयले नगद १५ हजार,१० हजार र ५ हजार रुपैयाँ र प्रमाणपत्र प्राप्त गर्नेछन् ।







प्रतिक्रिया दिनुहोस