स्व.जयनन्द लामाकाे सालिक आफ्नै गाउँमा अनावरण
575 Views
सिन्धुपाल्चोक, १३ फागुन। दिवंगत कलाकार जयनन्द लामाको स्मृतिमा बाह्रबिसे–३ धार्पाको थिङटोलमा सालिक राखिएको छ । १२ फिट अग्लो सालिक जयनन्द लामा स्मृति कोषले ८ लाख बजेटमा निर्माण गर्न लगाएको हो । सालिक परम्परागत पोसाकमा डम्फु लिएर नाच्दै गरेको भावमा रहेकाे छ ।
१२ गते शुक्रबार कलाकार संघका अध्यक्ष भैरवबहादुर थापा र वाग्मती प्रदेश सदस्य मसिना खड्काले लामाकै जन्मभूमिमा सालिक अनावरण गरेका हुन् ।
कार्यक्रममा बाह्रबिसेका नगर प्रमुख बालकृष्ण बस्नेत, उपप्रमुख मञ्जु तामाङ, कलाकार बसुन्धरा धिताल, रोज मोक्तान, केशरी थिङ, विश्व दोङ, कृष्ण कँडेललगायतका सहभागी थिए । ‘योजनाअनुसार अब संग्रहालय, कम्पाउण्ड बन्न बाँकी छन् । २५ लाख बराबरको योजना बनाएका छौ,’ लामाका भाई दोङले भने ।
सालिक निर्माणमा बाह्रबिसे नगरले ४ लाख, नुवाकोटको ककनी गाउँपालिकाले १ लाख र बाँकी आफन्त, दाजुभाइ मिलेर रकम जुटाएको उनले बताए । साहित्यकर्मी रमेश पौडेलले लामा सिन्धुपाल्चोक मात्र नभइ मुलुककै लागि प्रेरक व्यक्तित्व भएको बताए ।
जयनन्द यस क्षेत्र घुमफिरमा आएर धार्पाका आफन्त र स्थानीयलाई भेटिरहन्थ्ये । उनी गत वर्षको फागुन ११ मा भक्तपुरको मध्यपुर–१ लोकन्थलीस्थित घरको गेटमा गाडीबाट मृत फेला परेका थिए । लामाले थुप्रै लोकगीत गाउनुका साथै फिल्म र टेलिशृंखलामा अभिनय गरेका छन् ।
सिन्धुपाल्चोकको बाह्रबिसे–३ धार्पाको थिङटोल शुक्रबार अनावरण गरिएको कलाकार जयनन्द लामाको सालिक





प्रतिक्रिया दिनुहोस