एक शिक्षकाे भरमा विद्यालय सञ्चालन
362 Views
स्याङ्जा, ७ पुस । स्याङ्जाको वालिङस्थित वालिङ नगरपालिका–१४ करादीस्थित सौरीखाल्टा माइस्थान आधारभूत विद्यालय एक शिक्षकको भरमा चलिरहेको छ। तीन कक्षासम्म मात्र पढाइ हुने यो विद्यालयमा धनबहादुर हमाल एक शिक्षक मात्र छन्।
अघिल्लो वर्ष कात्तिकसम्म दुई शिक्षक रहे पनि एकजना बिरामी भएर अवकाश भएपछि गत मंसिरदेखि आफू एक्लैले तीनवटा कक्षाका विद्यार्थी हेर्नुपरेको उनले बताए। ‘विद्यालयमा अध्ययनका लागि आउने सबै बालबालिकालाई एउटै कोठामा राखेर कक्षागत समूह–समूह बनाएर पढाउने गरेको छु’, हमालले भने, ‘सरोकारवाला निकायलाई पटकपटक जानकारी गराउँदा पनि पदपूर्ति हुन सकेको छैन।’
विद्यालयमा तीन शिक्षकको दरबन्दी छ। तर एक वर्षयता अरु शिक्षक नआउँदा आफू एक्लैले विद्यालय धान्नुपर्ने बाध्यता रहेको प्रधानाध्यापकसमेत रहेका हमालले बताए। “तीन कक्षासम्म पढाइ हुन्छ! शिक्षक दरबन्दी तीन जनाको छ! तर एक वर्षदेखि मैले मात्र पढाउनु परेको छ” उनले भने! “दरबन्दी काटिएको पनि छैन, अरु शिक्षक हाजिर हुन पनि आएका छैनन्।”
उनलाई कुनै काम विशेषले विद्यालयमा विदा लिन पनि समस्या भइरहेको छ। विद्यालयकै कामको सिलसिलामा कतै जान परेमा कार्यालय सहयोगी तथा गाउँका अभिभावक खोजेर बालबालिका हेर्ने जिम्मा लगाउनुपर्ने बाध्यता रहेको प्रधानाध्यापक हमालले बताए। दरबन्दीअनुसारका शिक्षक नहुँदा विद्यालयमा निकै समस्या आइपरेको छ। पठनपाठनमा समस्या देखिएको वालिङ–१४ का वडाध्यक्ष बोधराज कुँवरले जानकारी दिए। यसअघि दुई शिक्षक कार्यरत विद्यालयमा एक शिक्षकले अवकाश लिएपछि एकवर्षदेखि एउटै शिक्षकको भरमा विद्यालय रहेको उनले बताए। वालिङ–१४ कै हुल्काङ वा भीरकोट नगरपालिका–९ को पिपलडाँडा माध्यमिक विद्यालयमा बालबालिका पठाउनुपर्छ।
बालबालिकालाई उक्त विद्यालय पुग्न एक घण्टा लाग्छ। सौरीखाल्टा माईस्थान आधारभूत विद्यालय आव २०६६÷६७ सम्म १–५ कक्षा सञ्चालनमा रहेको थियो। १–५ कक्षा कटौती गरी हाल १–३ कक्षामात्रै सञ्चालनमा रहेको छ। शिक्षा अधिकृत गीता पाठकले वालिङ नगरपालिकाले उक्त विद्यालयमा अर्को कुनै शिक्षक हालसम्म नपठाएको बताइन्। नगरपालिकाले दरबन्दी मिलान सम्बन्धी कार्यविधि बनाउने काम अगाडि बढाएकाले अब चाँडै समस्या समाधान हुने उनको भनाइ छ। रासस





प्रतिक्रिया दिनुहोस