काठमाडौँको जनमत-एमाले–काँग्रेसको ६०\४० के होला ?
755 Views
काठमाडौँ , २१ कात्तिक खोज मिडिया ।
हरेक आम चुनावमा काठमाडौँ उपत्यकाको रूझानले विशेष अर्थ राख्छ । देशैभरिको जनमत कुन पार्टीतर्फ प्रवाह भइरहेको छ भन्ने थाहा पाउन काठमाडौँको प्रवाहले विशेष अर्थ राख्ने गरेको छ । त्यसैले, जब–जब चुनावको मौसम सुरू हुन्छ, काठमाडौँको जनमत कतातिर (स्विङ) भइरहेको छ भनेर विश्लेषण गर्ने चलन छ ।
देशमा अहिले नै निर्वाचनको मौसम सुरू भइसकेको छैन । तथापि केही महिनापछि स्थानीय तहको चुनाव हुन लागेको छ । त्यो भन्दा अघि नै प्रतिनिधिसभाका चार सिट र प्रदेशसभाका १८ सिटमा उपचुनाव हुँदैछ । बागमती प्रदेशमा पनि स्व. सांसद पशुपति चौलागाईको सिटमा उपचुनाव हुँदैछ ।
काठमाडौँमा आगामी निर्वाचन कसले जित्ला वा हार्ला भनेर विश्लेषण गरिहाल्ने बेला भएको छैन । तर, २०७४ सालको चुनावको आँकडालाई हेरेर काठमाडौँको जनमतको विश्लेषण गर्नु असान्दर्भिक चाहिँ पक्कै नहोला । किनभने, नेकपा विभाजित बनेको र काठमाडौँमा तेस्रो शक्तिका रूपमा स्थापित भएको विवेकशील साझा पार्टीमा देखा परेको विवादका कारण काठमाडौँको राजनीतिक शक्ति सन्तुलन रोचक मोडमा पुगेको अवस्था छ ।
संघीय राजधानीको केन्द्रका रूपमा रहेको काठमाडौँको राजनीतिमा देखिएका यिनै मौलिक विशेषताहरूका आधारमा ०७४ को चुनावी परिणामबारे एक चोटि रिभ्यु गर्नु अहिले सान्दर्भिक नै हुने देखिन्छ । प्रतिनिधिसभामा १० वटा सिट काठमाडौँ जिल्लामा मात्रै भएकाले पनि यहाँको जनमत सबैका लागि चासोको क्षेत्र हो । उपत्यकाका अन्य जिल्ला ललितपुर र भक्तपुरलाई समेत जोड्ने हो भने संघीय संसद्मा यहाँबाट १५ जनाको प्रतिनिधित्व हुनेछ । जबकि ०७४ को चुनावमा नेकपाले उपत्यकाका तीन जिल्लाबाट १५ मध्ये १० वटा सिट जितेको थियो भने काँग्रेसले ४ सिटमात्र जितेको थियो ।
नेकपाले ०७४ को चुनावमा काठमाडौँबाट ६, ललितपुरबाट तीन र भक्तपुरबाट एक सिट जितेको थियो । यीमध्ये एक माओवादी र ९ सिटमा एमालेले साझेदारी गरेका थिए । काँग्रेसले काठमाडौँबाट ४ सिट जितेको थियो भने बाँकी भक्तपुरको एक सिट नेमकिपाले जितेको थियो । काठमाडौँ जिल्लामा काँग्रेस र एमालेले ६०/४० को अनुपातमा जित हात पारेका थिए ।
२०७४ को चुनावमा एमाले काठमाडौँबाट ६ सिटमा विजयी हुँदा एक स्थानमा दोस्रो बनेको थियो । काँग्रेस १० मध्ये ४ सिट जित्दै गर्दा ५ स्थानमा दोस्रो बनेको थियो ।
काठमाडौँको अर्को रोचक पक्ष के छ भने ०६४ सालदेखि ०७० सालसम्म काठमाडौँमा जनमत बढाउँदै लगेको कमल थापा नेतृत्वको राप्रपा अहिले खुम्चिएको छ । र, राष्ट्रिय राजनीतिमा तेस्रो शक्तिका रूपमा रहेको नेकपा माओवादी केन्द्र चाहिँ काठमाडौँमा विवेकशील साझा पार्टी भन्दा सानो दलका रूपमा रहेको अवस्था छ ।
काठमाडौँमा प्रत्यक्षतर्फ प्रमुख तीन दलको भोट

काठमाडौँमा समानुपातिकतर्फ ५ दलको भोट






प्रतिक्रिया दिनुहोस