संघीय शिक्षा ऐन केही समयमै जारी गरिदै, २० हजार शिक्षककाे नयाँ दरबन्दी आह्वान गर्ने तयारी
1675 Views
रोमन लामा
रामेछाप १८ कार्तिक खोज मिडिया। शिक्षक सेवा आयोगले तिहार लगतै शिक्षकको २० हजार नयाँ दरबन्दी आह्वान गर्ने तयारी गरेसँगै सरकारले सोही कार्यको सहजताका निम्ति संघीय शिक्षा ऐन केहि समयमै जारी गर्ने तयारी थालेको छ । संघीय शिक्षा ऐन तिहार लगत्तै जारी गरिने शिक्षा मन्त्रालयको उच्च स्रोतले जनाएको छ ।
राष्ट्रिय शिक्षा नीति-२०७६ अनुसार अब सरकारले शिक्षक र विद्यालयमा कार्यरत कर्मचारीहरुलाई थप सेवा सुविधा दिने व्यवस्था गरेको र सोही अनुसार सरकारले २ अर्ब ६६ करोड रुपैया पनि विनियोजन गरेको छ । शिक्षा नीति अनुसार दुर्गम क्षेत्रका विद्यालयमा काम गर्ने शिक्षक तथा कर्मचारीलाई आवश्यकताका आधारमा थप सुविधा दिन सकिने व्यवस्था क्रमशः गरिन लागिएको छ । मन्त्रालय स्रोतका अनुसार केहि दिनमा संघीय शिक्षा ऐन जारी गरिने र राष्ट्रिय शिक्षा नीति अनुसार सबै सार्वजनिक विद्यालयको गुणस्तरमा सुधार ल्याउन विद्यार्थी–शिक्षक अनुपात हेरी दरबन्दी मिलान गरीने भएको छ ।
यस्तै शिक्षकहरुलाई आवधिक बढुवा, अस्थायी अवधि गणना, तहगत बढुवा संघीय शिक्षा ऐन अनुसार गरिने भएको छ । ऐन अनुसार लामो समयदेखि कार्यरत राहत शिक्षक, स्थायी नभएका शिक्षकहरू प्रतिस्पर्धाबाट स्थायी हुने वा स्वःतह अवकासमा जाने भनेर रोज्न पाउने छन् । अवकासमा जाने शिक्षकले पाँच लाख रुपैयासम्म पाउने छन् भने अवकास नरोज्ने शिक्षकले भने आयोग पास गर्नुपर्ने छ ।
आयोग पास गरेका शिक्षकलाई उनीहरूले काम गरेको समय अवधिलाई अधिकतम ७ बर्ष मानिने व्यवस्था गरिको मन्त्रालयले जनाएको छ । राहत शिक्षकले कानुनी रूपमा बिरामी बिदा पाएका छैनन्। अध्ययन बिदा र घर बिदा पनि पाउँदैनन्। शिक्षकलाई सेवा अवधि गणनासहित विशेष प्रक्रियाद्वारा स्थायी गर्न संघीय ऐनमा प्रबन्ध गर्नुपर्ने र कार्यरत राहत शिक्षकलाई स्थायी परीक्षामा समेत सामेल हुँदा उमेर हद नलाग्न शिक्षक सेवा आयोगको नियमावली संशोधन गर्नुपर्ने सहमति भएको थियो।
यस्तै सहमतिमा सार्वजनिक विद्यालयमा कार्यरत स्वीकृत दरबन्दीका शिक्षकलाई सह–प्रअ, विषय विशेषज्ञ, दुर्गम भत्ता, सरुवा, रोस्टर प्रशिक्षक लगायतका सम्पूर्ण भूमिका र जिम्मेवारी सम्बन्धमा रहेको विभेद हटाउनुपर्ने सहमति भएको थियो। दरबन्दी मिलान तिहार लगतै सुरु हुने र दरबन्दी मिलान पश्चात आयोले अध्यापन अनुमति पत्र (लाइसेन्स) वितरण गर्ने र करिब २० हजारको संख्यामा नयाँ दरबन्दी आह्वान गर्ने भएको छ।





प्रतिक्रिया दिनुहोस